भरतपुरमा भएको माउन्टेन बाइक क्रस कन्ट्री ओलम्पिकको उपाधि पुरूष एलिटतर्फ सुरज रानामगर र महिला एलिटतर्फ उषा खनालले जितेका छन्।
प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिताअन्तर्गतको यी दुई विधामा साढे ४ किलोमिटरको रूटलाई ७ पटक फन्को लगाइएको थियो।
मेन एलिटतर्फ एक घण्टा १४ मिनेट ४८ सेकेण्डमा निश्चित दूरी पार गर्दै सिन्धुपाल्चोक घर भएको सशस्त्र प्रहरीका सुरज रानामगर प्रथम भए। एक घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गरेका कञ्चनपुरका हिमाल टमाटा द्वितीय र १ घण्टा १५ मिनेट ३४ सेकेण्डमा पार गरेका धादिङका लक्ष्मण मल्ल तृतीय भए।
वुमन एलिटतर्फ १ घण्टा १६ मिनेटमा दूरी पार गर्दै काठमाडौंकी उषा खनाल प्रथम, १ घण्टा १८ मिनेट २३ सेकेण्डमा पार गर्दै काठमाडौंकी लक्ष्मी मगर द्वितीय र १ घण्टा २१ मिनेट ३७ सेकेण्डमा पार गरेर इन्द्रकला नेम्वाङ तृतीय भए।
प्रथम हुनेले ५० हजार, द्वितीयले ४० र तृतीयले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताका सहसंयोजक रविन्द्र श्रेष्ठकाअनुसार पुरूष इलिटतर्फ प्रथम रानामगर र महिला इलिटतर्फ प्रथम खनालले मलेसियामा हुने एसियन प्रतियोगितामा सहभागी हुन अवसर प्राप्त गरेका छन्।
शनिबार नै भएको चितवन स्पेशल वुमन विधामा सुधा तिमिल्सिना प्रथम, मौसमी आले द्वितीय र जुना श्रेष्ठ तृतीय भएका थिए।
चितवन स्पेशल मेनमा प्रमित थापा प्रथम, हेमचन्द्र गुरूङ द्वितीय र कृष्ण घिमिरे तृतीय भए।
मास्टर मेन विधातर्फ हर्कबहादुर लामा प्रथम, विकास महर्जन द्वितीय र देवबहादुर बोहोरा तृतीय भएका छन्। जुनियर विधामा निमा शर्मा प्रथम, सञ्जय राई द्वितीय र राजिव ठाकुर तृतीय भए।यी चार विधामा प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ र तृतीय हुनेले १० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ का दिवंगत छोरा प्रकाश र छोरी ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो।
प्रतियोगितामा देशभरबाट ९० जना सहभागी भएको कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिए। भरतपुर–११ गणेशधाम क्षेत्रमा ट्रयाक तयार पारेर साइक्लिङ प्रतियोगिता गरिएको थियो।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमरकट्टेलले वायु प्रदूषण कम गर्नका लागि साइकललाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए। उनले वातावरणलाई स्वच्छ राख्न र स्वस्थ जीवनशैलीका लागि साइकलको प्रयोग बढाउनुपर्ने बताए।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरले पूर्वाधार विकाससँगै खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने प्रयास गरिरहेको बताइन्।
भरतपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइक्लिङ म्याराथन महत्वपूर्ण हुने उनले बताइन्। प्रतिष्ठानकी अध्यक्ष रहेकी उनले प्रतिष्ठानले आगामी वर्षदेखि अन्य विधाका खेलकुद पनि थप गर्ने जानकारी दिइन्।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोग तथा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहेको थियो। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रवर्द्धनमा प्रतियोगिता भएको थियो।