इन्डियन प्रिमियर लिग आईपीएलको ११औं संस्करणको अक्सन लिस्टमा परेका सन्दिप लामिछाने यतिबेला चर्चामा छन्।
जनवरी २७ र २८ तारिखमा हुने अक्सनमा बिश्वभरका ५७८ जना क्रिकेटरसँगै पहिलो पटक नेपाली खेलाडीको नाम पनि जोडिएपछि सोसल मिडिया चर्चा छाएको छ। आईपीएलको एसोसीएट कोटामा रहेका सन्दिपको अक्सनमा बेस प्राईस २० लाख भारतीय रुपैयाँ छ।
सन् २०१६ मा हङकङको घरेलु टी-२० क्रिकेट प्रतियोगिता हङकङ टि-२० ब्लिट्ज खेल्दा माइकल क्लार्क र सन्दिप काउलुन क्यान्टोन क्लबबाट सँगै खेलेका थिए। त्यसपछि क्लार्कको निम्तोमा अस्ट्रेलियामा गएर क्रिकेट सिक्ने र खेल्ने मौका पाएका सन्दिपसँग अस्ट्रेलियन पूर्व कप्तानको राम्रो सम्बन्ध छ।
सन्दिप आईपीएलको अक्सन लिस्टमा परेपछि क्लार्कले ट्वीटरमार्फत आफू अत्यान्तै खुसी भएको ब्यक्त गरेका छन्।
“यदी म कुनै टिमको हिस्सा हुन्थे भने म उनलाई ( सन्दिपलाई ) लिईहाल्थे” क्लार्कले ट्विटमा सन्दिपको तारिफमा उनलाई लिटल च्याम्पियन भनेका छन्।
यस्तै हङकङ क्रिकेट एसोसिएसनका पूर्व कार्यक्रारी प्रमुख ‘टिम कटलर’ ले क्लार्कलाई उधृत गर्दै प्रश्न ट्वीटमा सोधेपछि क्लार्कले उनको जवाफ दिंदै सन्दिपको तारिफ समेत गरेका हुन्। कटलरले यस्तो लेखेका थिए- ‘हाम्रो काउलुन क्यान्टोनका साथी सन्दिप एसोसिएट रास्ट्रबाट आईपीएल अक्सनमा पर्ने तेस्रो खेलाडी भित्र परेका छन्, त्यसैले देखाउँछ कि उनलाई लिन टिम इच्छुक छन्, उनलाई छनौट गर्लान्?’
यस्तै एसोसिएट क्रिकेटका चर्चित अमेरिकी लेखक पिटर डेल्ला पेन्नाले पनि सन्दिपको बारे ट्विट गर्दै उनि अक्सन लिस्टमा पर्नुले उनी छनोट होलान् नहोलान् भन्ने कौतुहलतामा परेको लेखेका छन्। क्लार्कले अस्ट्रेलियामा खेल्ने निम्तो दिएपछि चर्चा कमाएका सन्दिपले नेपाली रास्ट्रिय टिमको लागि भने ठिकै मात्र प्रदर्शन गर्न सकेको धारणा राखेका छन्।