दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत १ सय ८७ रनमा समेटिएको छ।
दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले तेस्रो टेष्टमा पनि खराब प्रदर्शन जारी राख्दै पहिलो दुई खेल गुमाइसकेको भारत तेस्रो खेलको पहिलो दिन नै सबै विकेट गुमाउँदै १८७ रनमा अलआउट भएको हो।
टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले ७७ ओभर खेल्दा पुरै विकेट गुमायो। भारतका लागि विराट कोहलीले जोडेको ५४ रन नै टिमका लागि सर्वाधिक स्कोर बन्न पुग्यो । कोहली बाहेक चेतेश्वर पुजाराले ५० रन र भुवनेश्वर कुमारले ३० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकको रन समेत बनाउन सकेनन्।
भारतका लागि अजिन्क्या रहाणेले ९, मुरली विजय र मोहम्मद सामीले ८ – ८ रन जोड्दा अन्य खेलाडीले रनको खाता नै खोल्न सकेनन् । लोकेश राहुल (०), हार्दिक पाण्ड्या (०), इशान्त शर्मा (०) र जसप्रित बुमराह (०) रनमा आउट भए।
दक्षिण अफ्रिकाका लागि कागिसो रवाडाले तीन विकेट लिए भने मोर्ने मोकेल, भेरोन फिलेन्डर र एन्डले फिलेक्वावोले २–२ विकेट हात पारे।
बुधबार नै पहिलो इनिङ्ग सुरु गरेको दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा ६ रन बनाएको छ ।
३ खेलको सिरिजमा २ खेलमा लगातार जित निकाल्दै घरेलु टिम दक्षिण अफ्रिकाले सिरिज कब्जा गरिसकेको छ।