अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेटका लगि महादेशीय छनोट प्रणालीलाई अनुमोदन गर्ने भएको छ। इएसपिएनक्रिकइन्फोका अनुसार पुरुष र महिला दुवै विधामा ६-६ टोलीले सहभागिता जनाउनेछन्।
अब ओलम्पिकमा सहभागी हुने टोलीले आइसिसीको शीर्ष वरीयताको आधारमा नभई महादेशीय प्रतिनिधित्वको आधारमा छनोट हुनेछन्। यसअनुसार प्रत्येक महादेशबाट शीर्ष वरीयतामा रहेको एक-एक टोलीले ओलम्पिकमा स्थान बनाउनेछ। यो निर्णय ओलम्पिकको भावना अनुसार विश्वभरका राष्ट्रहरूको प्रतिनिधित्व सुनिश्चित गर्न लिइएको हो।
यो नयाँ नियमका कारण पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंका जस्ता बलिया क्रिकेट राष्ट्रहरूले ओलम्पिक गुमाउन सक्नेछन्।
हालको टी-२० वरीयता अनुसार एसियाबाट भारत छनोट हुनेछ, जसले गर्दा पाकिस्तान बाहिरिनेछ। त्यसैगरी, ओसियानाबाट अष्ट्रेलिया, युरोपबाट इंग्ल्यान्ड (ग्रेट ब्रिटेनको रूपमा), अफ्रिकाबाट दक्षिण अफ्रिका र अमेरिका महादेशबाट आयोजक अमेरिका वा क्यारेबियन राष्ट्रमध्ये एकले स्थान बनाउनेछन्।
पाँच महादेशबाट एक-एक गरी पाँच टोली छनोट भएपछि छैटौं टोलीका लागि विश्वव्यापी क्वालिफायर आयोजना गर्ने विषयमा आइसीसीले विचार गरिरहेको छ। यसको संरचनाबारे अन्तिम निर्णय हुन बाँकी छ।
आयोजक राष्ट्र अमेरिकालाई सिधै प्रवेश दिनेबारे छलफल भए पनि त्यहाँको पुरुष टोलीका खेलाडीको नागरिकता र महिला टोली शीर्ष २० वरीयतामा पनि नरहेकाले अन्तिम निर्णय हुन सकेको छैन। इंग्ल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डले मिलेर 'ग्रेट ब्रिटेन क्रिकेट' नामक टोली गठन गरेका छन् जसले ओलम्पिकमा भाग लिनेछ। वेस्ट इन्डिजले पनि आफ्ना सदस्य राष्ट्रहरूबीच छनोट प्रतियोगिता गराएर विजेतालाई पठाउने प्रस्ताव गरेको छ।
आइसिसी भविष्यमा ओलम्पिकमा क्रिकेट टोलीको संख्या बढाउने पनि आशावादी छ। २०२८ पछि २०३२ को ब्रिसबेन र २०३६ को ओलम्पिकमा ८ देखि १२ टोलीसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यदि भारतले २०३६ को ओलम्पिक आयोजना गरेमा क्रिकेट खेल प्रमुख आकर्षण बन्नेछ।