बंगलादेशलाई हराउँदै भारत न्यूजिल्याण्डमा जारी यु १९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतले क्वेन्सटाउनमा शुक्रबार बिहान बंगलादेशलाई १३१ रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। अब फाइनल प्रवेशका लागि भारतले पाकिस्तानको सामना गर्नेछ।
क्वार्टरफाइनलमा भारतीय कप्तान पृथ्वी शले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर टिमको स्कोर १६ रनमै पहिलो विकेट खेर फालेको थियो। यसपछि कप्तान पृथ्वीले शुभमन गिलसँग दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे। उनी ५४ बल खेल्दै ४० रन बनाएर आउट भए।
शुभमन गिलले ९४ बलमा ९ चौकासहित अर्धसतीय पारे खल्दै ८६ रन बनाए। यस्तै अभिषेक शर्माले पनि ५० रनको योगदान दिए। हार्विक देसाईले ३४ रन बनाए। बाँकी खेलाडीले त्यती राम्रो प्रदर्शन गर्न नसके पनि भारतीय टीमले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनायो।
२६६ रनको लक्ष्यका साथ मैदानमा आएको बंगालदेश भारतीय बलरसामू टिक्क सकेनन्।
बंगलादेशका लागि पिनक साहले सर्वाधिक ४३ रन बनाउनुबाहेक अन्यले खेल्न नसक्दा बंगलादेश ४२.१ ओभर खेल्दै १३४ रनमा समेटियो
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि केएल नगरकोटीले ३ तथा अभिषेक शर्मा र शिवम मालीले २-२ विकेट लिए। अनुकुल रायले १ विकेट लिएका थिए। बाँकी २ खेलाडी रन आउट भए।
यसैबीच यु १९ विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ। पहिलो सेमिफाइनलमा अब अस्ट्रेलिया र अफगानिस्तान तथा दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानको सामना गर्नेछ।