विराट कोहलीको शतकीय पारीले शुक्रबार दक्षिण अफ्रिकासँगको छैटौँ अर्थात अन्तिम वान डेमा भारत ८ विकेटले विजयी भएको छ।
शृंखलामा तेस्रो सताक बनाउने क्रममा भारतीय कप्तान विराट कोहली ९६ बलमा १९ चौका र दुई छक्कासहित १२९ रनको योगदान दिए । योसँगै विराटले द्विपक्षीय श्रृङ्खलामा सबैभन्दा बढी रन बनाउने अष्ट्रेलियाका जर्ज बेली (४७८ रन) लाई पछि छोडेका छन्।
यसअघि दक्षिण अफ्रिकाले दिएको २०५ रनको विजयी लक्ष्य भारतले केबल दुई विकेट गुमाएर ३२ ओभर १ बलमै हासिल गर्यो। विराटसँगै अजिंक्य रहाणे ३४ रन बनाउँदै नटआउट रहे। शिखर धवन १८ तथा रोहित शर्मा १५ रन बनाएर आउट भए। रोहित १३ बलमा ३ चौकासहित १५ रन बनाएर आउट भए। उनलाई लुंगी एनगिडीको बलमा विकेटकिपर क्लासेनले क्याचआउट गराए । दक्षिण अफ्रिकाका लुंगी एनगिडीले दुई विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले ४६ ओभर ५ बलमा आफ्ना सबै विकेट गुमाउँदै २०४ रन मात्र जोड्न सफल रह्यो।
मध्यम स्तरको विजयी लक्ष्य भारतीय टिमले सहजै हासिल गर्दै ६ एक दिवसीय श्रृङ्खलामा ५–१ को जित हात पार्यो। श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका विराट कोहली म्यान अफ् द सिरीज बने।