अफगानिस्तानका युवा बलर राशिद खानले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम प्रतियोगिताबाट १०० विकेट लिने विश्व रेकर्ड बनाएका छन्। सबैभन्दा छिटो सय विकेट लिने क्रममा खानले मात्र ४४ खेल खेलेका छन्।
आइतबार जिम्बाम्बेमा जारी एक दिवसीय विश्वकप छनोटको फाइनलमा खानले वेष्टइन्डिजमाथि १ विकेट लिँदै ४४ खेलबाट १०० विकेट लिएका हुन्।
अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको यो रेकर्ड उनले ५२ वानडे खेलेर पुरा गरेका थिए। स्टार्कले सन् २०१६ मा सकलेन मुश्ताकको दुई दशक पुरानो ५३ खेलबाट १०० विकेट लिएको रेकर्ड तोडेका थिए। पछिल्लो २ वर्षदेखि उनको रेकर्ड कसैले तोड्न सकेका थिएनन्।
वान डे विश्व वरियतामा भारतीय बलर जसप्रीत बुमराहसँगै शीर्ष स्थानमा रहेका खानले वेष्टइन्डिजका साही होपलाई एलबिडब्लुको सिकार बनाए।
१९ वर्षीय खानले २६ खेलबाट ५० विकेट लिएका थिए। बाँकी १७ खेलबाट उनले ५० विकेट पुरा गरे।
हालै आयरल्याण्डमाथि ५ विकेटको जित दर्ता गर्दै आगामी विश्वकपमा स्थान बनाएको अफगानिस्तानले समूह चरणको खेलमा आयोजक जिम्बाम्बे, हङकङ र स्कटल्याण्डसँग पराजित भएको थियो। नेपाललाई हराउँदै राम्रो रनरेटमा सुपर सिक्स प्रवेश गरेको अफगानिस्तानले सुपरसिक्सका सबै खेल जितेको थियो।
आईसीसी बरियताको कुनै पनि फर्मेटमध्ये वानडे र टि ट्वान्टी र्याङ्किङमा शीर्ष स्थानमा पुग्ने खान संसारकै युवा खेलाडी हुन्।