इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स एलेभन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेञ्जर्स बेंग्लोरले प्लेअफको सम्भावना कायमै राखेको छ।
८९ रनको लक्ष्य पाएको बैंलोरले मात्र ८.१ ओभरमा बिना कुनै विकेट क्षति पुरा गर्यो।
मध्य प्रदेशको इन्दौरस्थित होल्कर स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा मध्ये १५.१ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो। ११ औं सिजनको आइपीएलमा सबैभन्दा कम स्कोरमा रोक्ने क्रममा बैंलोरका उमेश यादवले ३ विकेट लिए। यस्तै मोहम्मद सिराज, यजुवेन्द्र चहल, कोलिन डे ग्रान्डोहोम र मोइन अलीले समान १-१ विकेट लिए।
पञ्जाबका लागि एरोन फिन्चले सर्वाधिक २६ रन बनाए। २३ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे। यस्तै केएल राहुलले १५ बलमा ३ छक्कासहित २१ रन र क्रिश गेलले ४ चौकाको मद्दतमा १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
८९ रनको सामान्य लक्ष्य पाएको बैंलोरका लागि ओपनरद्वय विराट कोहली र पार्थिव पटेलले ९२ रनको साझेदारी गरे। २८ बल खेलेका कप्तान विराट कोहलीले ६ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए। पटेलले २२ बलमा ७ चौकासहित ४० रन बनाए।
आजको जितसँगै १२ खेलबाट बैंलोरले १० अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। अप्रत्यासित हार ब्यहोरेको किङ्स इलाभेन पञ्जाबले समान खेलबाट १२ अंक जोडेको छ।
यसअघिनै शीर्ष दुई स्थानमा रहेका सनराइज हैदारावाद र चेन्नई सुपर किङ्स प्लेअफमा प्रवेश गरिसकेका छन्।
भोलि मंगलबार कोलकत्ता नाइट राइडर्स र राजस्तान रोयल्स भिड्नेछन्। १२ खेलपछि कोलकोत्ता १२ अंकसहित तेस्रो स्थानमा छ भने समान खेलबाट समान अंकसहित राजस्थान चौथो स्थानमा छ।