प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबादलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ पुग्ने सम्भावना अझै जिवित राखेको छ।
बिहिबार हैदारावादलाई १४ रनले हराउँदै बैंगलोर पाँचौं स्थानमा उक्लिको छ। अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ।
२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाएको थियो। उसका लागि काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन।
विलियम्सनले सर्वाधिक ८१ तथा र मनीषले अविजित ६२ रन जोडेका थिए।
एलेक्स हालेसले ३७ र शिखर धवनले १८ रन थपे पनि त्यो जितका लाग पर्याप्त रहेन।
बैंगलोरका युभभेन्द्र चाहाल, मोहम्मद सिराज र मोइन अलीले समान १-१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।
उसकाका एबी डि भिलियर्स र मोइन अलिले अर्धशतक पुरा गरेका थिए। ३९ बल खेलेका डि भिलियर्सले १२ चोका र १ छक्काको मद्दतमा ६९ रन बनाए भने ३४ बल खेलेका अलिले ६ छक्का र २ चौका प्रहार गरे।
कोलिन डी ग्रान्डहोमेले ४० तथा सरफराज खानले अविजित २२ रन जोडेका थिए।
हैदराबादका रासिद खानले ३, सिद्धार्थ काउलले २ र सन्दीप शर्माले १ विकेट लिएका थिए।
गएरातिको खेलसँगै प्लेअफमा पुग्ने अब ४ टोली मध्ये एक हुनेछन्। मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान र किङ्स ११ पञ्जाबको समान १२-१२ अंक छ। उनीहरूले समान १३ खेल खेलिसकेका छन्। अब सबैले एक खेल खेल्न बाँकी छ। अन्तिम खेलबाट प्लेअफ पुग्ने टोलीको निर्णय हुनेछ।
आइपिएलमा शुक्रबार नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। प्लेअफबाट बाहिरिसकेको दिल्लीले प्लेअफमा पुगिसकेको चेन्नईको सामान गर्न लागेको हो।
यसअघिको खेलमा दिल्ली चेन्नईसँग १३ रनले पराजित भएको थियो। २११ रनको लक्ष्य पछ्याएको दिल्ली १९८ रनमा समेटिएको थियो।