भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफबाट बाहिरिएको छ। शनिबार प्ले अफको सम्भावनालाई जीवित राख्न जित्नै पर्ने लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएसँगै बैंगलोर बाहिरिएको हो। यो पराजयसँग बैंलोर १४ खेलबाट १२ अंकमा लिग सकाएको छ।
यस्तै बैंलोरलाई हराएको राजस्थान १४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। अब उसले प्ले अफका लागि आज हुने मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स तथा किङ्स इलाभेन पञ्जाब र चेन्नई सुपरकिङ्सबीचको खेललाई पर्खनुपर्नेछ।
१ सय ६५ रनको लक्ष्य पछ्याएको बैंगलोले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
उसका लागि एबी डि भिलियर्सले अर्धशतक बनाएको खेलमा पार्थिव पटेलले ३३ तथा टिम साथी र मोहम्मद सिराजले समान १४ रन बनाए। बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
राजस्थानका लागि श्रेयस गोपालले ५ विकेट लिए। जयदेब उनादकट र बेल लाउग्लिनले समान २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले राहुल त्रिपाठीको अविजित अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
राजस्थानका लागि ओपनर त्रिपाठीले सर्वाधिक नटआउट ८० रन बनाए।
कप्तान अजिन्का रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन जोडेका थिए। कृष्णप्पा गोथमले १४ रन जोड्दै टिमलाई मध्यम स्कोर बनाउन सहयोग गरे।
बैंलोरका लागि उमेश यादवले ३ र मोहम्मद सिराजले १ विकेट लिएका थिए।
आज हुने लिग चरणका अन्तिम २ खेल हुनेछन्। पहिलो खेलमा प्लेअफको दौडबाट बाहिरिएको दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्नेछन्। यसमा प्लेअफको दौडमा रहन मुम्बईले कुनै पनि हालतमा दिल्लीलाई हराउनुपर्ने हुन्छ।
यस्तै आजै हुने लिगको अन्तिम खेलमा किङ्स इलाभेन पञ्जाबले दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सको सामना गर्नेछ। चेन्नईलाई हराए पञ्जाब पनि प्लेअफ दौडमा रहिरहनेछ।