पटकपटक सर्दै आएको विवादित नेपाल टी-२० लिग आगामी शुक्रबारदेखि सुरू हुने तालिका छ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिएको लिगमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स, लुम्बिनी अलस्टार्स, जनकपुर रोयल्स र फार वेस्ट युनाइटेड गरी ६ वटा फ्रेञ्चाइज टिमले भाग लिँदैछन्।
लिगका लागि नेपालका खेलाडी ड्राफ्टमार्फत टिममा भित्रिएका थिए। यस्तै टिममा चार-चार जना विदेशी खेलाडी आबद्ध छन्।
लाखौं पारिश्रमिक लिएर खेल्ने विदेशी खेलाडीका लागि क्यानले गत मंसिर २३ मा श्रम स्वीकृतीको प्रक्रिया अघि बढाएको थियो। क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले राष्ट्रिय खेलकुद परिषदलाई अन अराइवल भिसा तथा श्रम स्वीकृतीको व्यवस्थाका लागि सिफारिस गरिदिन राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाएका थिए। मल्लले सम्बन्धित निकायमा सिफरिस गर्नका लागि खेलकुद परिषदलाई अनुरोध गरेका थिए।
नेपालमा आउने विदेशीलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति दिन्छ। विभागबाट श्रम स्वीकृती लिनुअघि क्यानले खेलकुद परिषदसँग सिफारिस मागेको हो।
क्यानको पत्राचारपछि खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कानुन शाखासँग राय समेत मागेका थिए। नेपाल टी-२० लिग भारतीय कम्पनीलाई आयोजना गर्न दिएकोमा खेलकुद परिषद्लाई पनि विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन भएकाले घिसिङले कानुन शाखासँग राय मागेका थिए।
‘सम्मानित सर्वोच्च अदालतमा टी-२० लिगको मुद्दा चलिरहेकै छ। हामीले जवाफ दिने काम गरिरहेका छौं। यो किनारा लागेको विषय भएन। टी-२० लिगको सन्दर्भमा कुनै अन्तरिम आदेश जारी भएको पनि छैन। त्यसैले प्रतियोगिता आयोजना गर्नु स्वभाविक हो,’ घिसिङले सेतोपाटीसँग भने।
उनले श्रम स्वीकृती र भिसाको विषयमा सिफारिस गर्न आएको पत्रको विषयमा प्रशासनिक काम अघि बढिरहेको बताए।
‘श्रम स्वीकृती र भिसाका लागि कतिपय कागजहरू अपुग भएको देखियो। यसका लागि हामीले थप कागजपत्र माग गरेका छौं। संघले कागजहरु ल्याउने क्रम जारी छ। आवश्यक प्रक्रिया पूरा नगरि सिफारिस गर्न सक्दनौं,’ घिसिङले भने।
क्यानले लिगमा सहभागी हुने ३० जना विदेशी खेलाडीको नाम पनि खेलकुद परिषदलाई पठाएको थियो।
लिग सुरु हुन दुई दिन बाँकी रहदा खेलकुद परिषदले अझै पनि सिफारिस गरेको छैन। जसका कारण खेलाडीको श्रम स्वीकृती अझै हुन सकेको छैन।
यसविषयमा धारणा लिन खोज्दा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवहाक सचिव मल्ल र कोषाध्यक्ष रोशन सिंह तीनै जना जिम्मेवार पदाधिकारीको मोबाइल बुधबार साँझसम्म ‘स्विच अफ’ छ।
क्यानका एक केन्द्रीय सदस्य भने सम्पर्कमा आए। उनले टी-२० लिग अझै अन्योलमा भएको बताए। क्यानका एक जुनियर कर्मचारीले पनि लिग अन्योलमा भएको स्वीकार गरे।
‘हामीले सबै आयोजनाको जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सलाई दिएका हौं। श्रम स्वीकृतिको विषय क्यानसँग जोडिएको छ। लिगको तयारीको विषय हामीलाई थाहा छैन। श्रम स्वीकृतिको विषय अहिले पनि अन्योलमै छ,’ ती कर्मचारीले सेतोपाटीसँग भने।
लिगका लागि जिम्बावेका सिकन्दर राजा नेपाल आइपुगेका छन्। उनी विराटनगरमा आबद्ध छन्। उनले नेपाल आएपछि मात्र नेपाल टी-२० लिग नयाँ लिग भएको थाहा पाएको एक राष्ट्रिय खेलाडी बताउँछन्। राजाले यसअघि इपिएलको विराटनगर टिम सोचेर नेपाल आएको बताएको ती खेलाडीले बताए।
यता नेपालका कप्तान रोहितकुमार पौडेल र अर्का सिनियर खेलाडी सोमपाल कामीलाई पनि कप्तानको जिम्मेवारी नदिएकोमा एक खेलाडीले शंका समेत गरे। ‘अहिले आएर राष्ट्रिय कप्तान र सिनियर खेलाडीलाई कप्तानमा नराख्ने भनिएको छ,त्यसैले हामी शंका गर्न बाध्य भयौं,’ उनले भने।
क्यान र सेभेन थ्री स्पोर्ट्सले लिगको तयारीको विषयमा अहिलेसम्म औपचारिक कार्यक्रम वा विज्ञप्ती जारी गरेको छैन। यस्तै कुनै प्रायोजक र प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजन पनि निर्क्यौल भएको छैन।
यस्तै प्रतियोगिता सुरु हुन दुई दिन बाँकी रहदा नेपालका अम्पायारले कुनै जानकारी पाएका छैनन्। 'हामीलाई अहिलेसम्म कुनै खबर आएको छैन। सायद विदेशी अम्पायर ल्याउन लागिएको हो की!' उनले व्यंग्य गरे।