लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगको उपाधि जितेको छ।
बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो।
त्रिवी क्रिकेट मैदानमा १३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए। यस्तै पृथु बाँस्कोटाले ३१ रन बनाउँदा हुसैन ट्यालेटले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरको ओपनिङमा आएका गौरांशु शर्मा ४ रनमा आउट भए। लगत्तै कप्तान रोहितकुमार पौडेल शून्यमा पेभेलियन फर्किए। त्यसपछि हुसेन तलात १३ रनमा रनआउटको सिकार बने भने राज नन्नन ६ रनमा आउट भए।
तेह्रौं ओभरको पाँचौ बलमा ओपनर अर्जुन साउद ३४ रनमा पाँचौं विकेटको रुपमा आउट भएपछि विराटनगरमाथि दबाब पर्यो।
विराटनगरका विवेककुमार यादव ६ रनमा आउट भए भने पृथु बाँस्कोटा अठारौं ओभरको पाँचौ बलमा ३१ बलमा बोल्ड हुँदा खेल लुम्बिनीको पक्षमा गएको थियो।
विराटनगरलाई सस्तैमा रोक्न लुम्बिनीका हरमित सिंह र सागर ढकालले २-२ विकेट लिए। विपुल शर्मा र किशोर महतोले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा १३३ रनमै अलआउट भयो। लुम्बिनीका लागि ओपनरद्वय हरमित सिंहले ३० रन र लाहिरु मिलन्थाले ४१ रन जोडे।
हरमितले १८ बलमा ३ चौका र २ छक्का तथा लाहिरुले २८ बलमा ३ चौका र ३ छक्का हिर्काए। दुईबीच ५.५ ओभरमा ६४ रनको साझेदारी भयो।
त्यसपछि भने लुम्बिनीको इनिङ धर्मरायो। कप्तान दीपेन्द्रसिंह ऐरी २० रन र इशान पाण्डे १८ रनमा आउट भए। अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा विराटनगरका नन्दन यादव र राज नन्ननले २-२ विकेट लिए।