युएईलाई हराएर एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाल एसिसी कपका लागि छनौट भएको छ।
वर्षाका कारण सोमबार रोकिएको फाइन मंगलबार बिहान सुरू भएको थियो। सोमबार नै ९ विकेट गुमाएको युएईले उपाधि जित्न नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो।
उक्त लक्ष्य पछ्याएको नेपालले खराब सुरूआत गरेको थियो।
१.२ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि गुल्सन झा क्रिजमा आएका थिए। ६.१ ओभरमा अर्का ओपनर आसिफ शेख पनि आउट भए। त्यसपछि कप्तान रोहितकुमार पौडेल ब्याटिङ गर्न आएका थिए। एक रनमात्र बनाएर उनी ७.६ ओभरमा आउट भए।
पौडेल आउट हुने बेलासम्म नेपालले २२ रनमात्र बनाएको थियो। त्यसपछि मैदानमा आए, भीम सार्की। गुल्सन र भीमले सम्हालिएर खेले। र यही जोडीले नेपाललाई उपाधिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्यो।
१७ औं ओभरको अन्तिमसम्म नेपालले ४७ रन बनाएको थियो। १८ औं ओभरमा भने गुल्सनले २ चौका र एक छक्का प्रहार गरेर नेपालको रन उकासे।
३० औं ओभरसम्म आइपुग्दा नेपालको जित लगभग सुनिश्चितजस्तै भइसकेको थियो। गुल्सनले अर्धशतक हानिसकेका थिए।
३१.२ ओभरमा गुल्सनले फेरि छक्का हाने त्यसपछि नेपाललाई जितका लागि एक रन मात्रै चाहिएको थियो। ३०.३ ओभरमा गुल्सनले एक रन लिए। त्योसँगै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन मात्र बनेन, एसिया कपमा आफ्नो स्थान पनि सुरक्षित बनायो।
नेपालको जितका लागि आज गुल्सन झाले नै आधाभन्दा बढी रन बनाएका हुन्।
नेपाली टिमलाई चाहिएका बेला गुल्सनले उत्कृष्ट प्रदर्शन गरेको यसपालि मात्र होइन।
गत चैत २ गते भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गतको युएईविरूद्धको खेलमा पनि गुल्सनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
युएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य पछ्याउने क्रममा ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा नेपालले २३५ रन जोडेको थियो।
ब्याटिङमा गुल्सन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर खेलिरहेका थिए।
खेलको ४२ औं ओभरमा गुल्सनले २० रन जोडे। त्यसपछि खेल हुन सकेन। डिएलएस मेथडबाट नेपालले जित्यो। उक्त जितसँगै नेपाल विश्वकप छनोटमा पुग्यो।
अलराउन्डर गुल्सनले सेप्टेम्बर २०२१ मा अमेरिकाविरूद्धको खेलबाट नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। त्यसअघि उनले २०७७ चैतमा भएको मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
१७ वर्षका गुल्सन ६.१ इञ्च अग्ला छन्। सर्लाही मलंगवाका गुल्सनलाई क्रिकेटर बनाउन उनका बुवाको ठूलो भूमिका छ। २०७३ सालतिर बुवाले गुल्सनलाई भारतको राँचीस्थित अरूणोदय क्रिकेट एकेडेमीमा भर्ना गरेका थिए।
राँचीमा क्रिकेट सिक्दा गुल्सनले बलिङमा निखार ल्याए। त्यहाँ उनले स्थानीय प्रतियोगिता पनि खेलेका थिए। एकेडेमीमा सिकेका धेरैले भारतको प्रतिष्ठित रणजी ट्रफी खेलिरहेको गुल्सनको भनाइ छ।
२०७७ सालको मेयर्स कपमा उनी चर्चामा आएका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको काठमाडौं मेयर्स कपको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भएको थियो।
दुवै क्लबमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीको बाहुल्यता भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो। तर खेल एकपक्षीय बन्यो।
पहिले ब्याटिङ गरेको एपिएफ क्लबले कमजोर ब्याटिङ गर्यो। त्यो बेला १५ वर्ष उमेर भएका पुलिसका युवा बलर गुल्सन झा एपिएफका ब्याट्सम्यानमाथि हाबी बने।
पुलिसबाट खेलेको दोस्रो खेलमै तीव्र गतिका बलर गुल्सनले खेलमा चार विकेट लिए। एपिएफका सुरूआती चारमध्ये तीन ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए।
त्यति बेला एपिएफका कप्तान शरद भेषवकरले पुलिसका बलर गुल्सनले उत्कृष्ट बलिङ गर्दा आफूहरूले कमजोर ब्याटिङ गरेको बताए। उनले गुल्सनलाई 'सरप्राइज प्याकेज' को संज्ञा दिएका थिए।
गुल्सनलाई पुलिसले त्यही प्रतियोगितादेखि टिममा भित्र्याएको थियो। त्यसअघि गुल्सनले प्रधानमन्त्री कपको छनोट प्रदेश २ बाट खेलेका थिए। त्यति बेला उनी प्रदेश २ को वैकल्पिक खेलाडीमा परेपछि प्रधानमन्त्री कप खेल्न पाएका थिएनन्।
त्यही बेला पुलिसले टिममा तीव्र गतिका बलर खोजिरहेको थियो। पुलिसका प्रशिक्षक मनोज कटवालले गुल्सनबारे थाहा पाएपछि उनलाई ट्रायलका लागि काठमाडौं बोलाए।
ट्रायल र अभ्यास खेलमा राम्रो प्रदर्शन गरेपछि उनलाई पुलिसले टिममा आबद्ध गर्यो।
ढाडमा समस्या भएपछि गुल्सनले मेयर्स कपको सुरूआती खेल खेल्न सकेनन्।
मेयर्स कपको डेब्यू खेलमा विकेट लिन नसकेका उनलाई पुलिसले फाइनलमा मौका थियो। फाइनलमा भने उनले उत्कृष्ट खेले।
मेयर्स कपको फाइनलमा गरेको प्रदर्शनले सबैको ध्यान खिचेको थियो।
राष्ट्रिय प्रतियोगितामा प्रभावशाली खेल देखाएका गुल्सनले त्यसपछि राष्ट्रिय टिममा पर्ने लक्ष्य लिएका थिए। दुई वर्षमै उनी राष्ट्रिय टिममा मात्र परेनन्, तीव्र गतिका बलरबाट उत्कृष्ट अलराउन्डर हुँदै आफ्नो क्षमता प्रमाणित गरे।