खेलाडीले पारिश्रमिक समयमै नपाएको र स्पट फिक्सिङ भएको घटना सार्वजनिक भएपछि गत पुसमा भएको पहिलो संस्करणको नेपाल टी-२० लिग विवादित बन्यो।
बेटिङ पृष्ठभूमिको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई नेपाल क्रिकेट संघ (क्यान) ले आयोजनाको सम्पूर्ण अधिकार दिएपछि विवाद सुरू भएको थियो। लिगकै दौरान स्पट फिक्सिङ भएको सार्वजनिक भएपछि सेभेन थ्रीका प्रमुख जतिन अहुवालिया भारत भागेपछि थप आशंका बढेको थियो।
लिग सुरू हुनुअघि क्यानमाथि गम्भीर आरोप लागेका थिए। बेटिङ पृष्ठभूमिको कम्पनीलाई लिग आयोजना गर्न दिँदा नेपालमा अवैध बेटिङ र सम्भावित फिक्सिङका बारेमा पटक-पटक प्रश्न उठेका थिए। तर क्यान नेतृत्वले प्रश्नको उचित जवाफ दिन आवश्यक ठानेन। लिग रोक्नका लागि अवरोध भइरहेको भएको भन्दै नेतृत्वबाट सार्वजनिक रूपमै आक्रोश व्यक्त भयो।
लिग सुरू हुनअघि विदेशी खेलाडीले श्रम स्वीकृति लिनु पर्ने विषयमा क्यान जानकार थियो। त्यसैले क्यानले सिफारिसका लागि राष्ट्रिय खेलकुद परिषद्मा पत्राचारसमेत गर्यो। तर खेलकुद परिषद्ले लिगका आवश्यक कागजपत्र मगाएर हेरेपछि मात्र सिफारिस गर्ने बतायो।
क्यानले कागजपत्र समयमै पठाउन सकेन। लाखौं पारिश्रमिकमा अनुबन्धन भएका विदेशी खेलाडी श्रम स्वीकृतिबिना मैदानमा उत्रिए। नेपाली प्रशासनले आँखा चिम्लियो।
लिग चलिरहँदा खेलाडीले पारिश्रमिक नपाएका खबर आए। पारिश्रमिक नपाएपछि जिम्बावेका सिकन्दर राजा बीचमै फर्किएको समाचार सार्वजनिक भएपछि अरू टिमको समस्या पनि बाहिर आउन थाल्यो। टिमको मालिक ‘डमी’ को रूपमा खडा गरिएको आरोपलाई पुष्टि गर्ने गरी व्यवस्थापकहरू खेलाडीको सम्पर्क बाहिर गए। जसका कारण खेलाडीहरूले टिमबाट समयमै पारिश्रमिक पाउन सकेनन्। कतिपय खेलाडीले अझै पारिश्रमिक पाएका छैनन्।
लिगमा स्पट फिक्सिङ भएको र मुख्य योजनाकार सेभेन थ्रीका जतिन भएको नेपाल प्रहरीले निष्कर्ष निकालेको थियो।
पछि स्पट फिक्सिङ घटनामा पाँच जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी सुन्दर तिवारी नेतृत्वको टोलीले १२ जनालाई प्रतिवादी बनाएको थियो। तर सरकारी वकिल कार्यालयले उनीहरूको नाम, थर, वतन सबै नखुलेको हुँदा मुद्दा दर्ता गरिएन। जनकपुर रोयल्सका खेलाडी मोहम्मद आदिल आलम, पूर्व राष्ट्रिय खेलाडी महबुब आलम, नितेश गुप्ता, नविक कँडेल र रवि माझीविरूद्ध मुद्दा दायर गरिएको थियो।
सिआइबीले आयोजक कम्पनी सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रू म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह र विकास ध्यानीलाई पनि प्रतिवादी बनाएको थियो।
लिगको उपाधि लुम्बिनी अलस्टार्सले जितेको थियो। तर विवाद र नेपाली क्रिकेट नेतृत्वको अपरिपक्व निर्णयका कारण लुम्बिनी अलस्टार्सले सही नियत राख्दै नेपाली क्रिकेटमा गरेको लगानी ‘बालुवामा पानी हाले’ झैं भएको छ।
अमेरिकी राज्य टेक्सासको डलासस्थित अल स्टार्स इन्कअन्तगर्त लुम्बिनी अलस्टार बनेको थियो। लुम्बिनीमा सन्जय शर्मा, आशिक लामा, वरदान चालिसे र उत्सव सिग्देलको लगानी छ। अलस्टारको मुख्य उद्देश्य नेपाल र अन्तर्राष्ट्रिय स्तरमा लिग क्रिकेटको स्तर माथि उठाउने स्टार्सको वेबपोर्टलमा उल्लेख छ।
लुम्बिनी अलस्टार्सका लागि कम्पनीले २ लाख २० हजार अमेरिकी डलर फेञ्चाइज शुल्क तिरेका थियो। यस्तै खेलाडीसँगको सम्झौता, बन्द प्रशिक्षण तथा अफिसियलका लागि लाखौं खर्च भएको थियो। विदेशी खेलाडीको श्रम स्वीकृतिका लागि भन्दै क्यान पदाधिकारीले लुम्बिनी अलस्टार्स १० लाख रुपैयाँ लिए पनि खेलाडीले श्रम स्वीकृति पाएका थिएनन्।
लुम्बिनीले उपाधि जितेबापत् पाउनु पर्ने ५५ लाख रुपैयाँ अझैसम्म पाउन सकेको छैन।
यसरी लिगका लागि करोडौं रुपैयाँ लगानी गरे पनि लुम्बिनीले अर्को सिजन खेल्न पाउने पक्का छैन। किनभने भारतीय कम्पनीसँगको सम्झौता क्यानले रद्द गर्ने निर्णय गरिसकेको छ भने अर्को लिगका लागि तयारी थाल्ने बताएको छ।
यसै सन्दर्भमा लुम्बिनीका लगानीकर्ता मध्येका एक वरदान चालिसेसँग सेतोपाटीका सीताराम कोइरालाले कुराकानी गरेका छन्। कुराकानीको सम्पादित अंश:
लुम्बिनी अलस्टार्सलाई नेपाल टी-२० लिगले फ्रेञ्चाइज टिमको मान्यता दिन कति रकम लिइएको थियो?
हामीले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहको अनुरोध र आश्वासनमा सेभेन थ्री स्पोर्ट्सको भारतीय खातामा २ लाख २० हजार अमेरिकी डलर फ्रेञ्चाइजी शुल्क तिरेका थियौं।
प्रतियोगिताको व्यवस्थापन सेभेन थ्री स्पोर्ट्सले गरेको थियो। आयोजक नेपाल क्रिकेट संघ थियो। तर सेभेन थ्री र क्यानबीच प्रतियोगिताको बीचैमा विवाद भयो। त्यस्तो अवस्थामा नेपाल क्रिकेट संघ र सेभेन थ्री स्पोर्ट्ससँग समन्वय गर्न कति गाह्रो थियो?
हामीलाई धेरै विषयमा क्यान र सेभेन थ्रीसँग कुराकानी गर्न गाह्रो भएको कुरा क्रिकेटप्रेमी र मिडियाले देखेकै हो। हामीले सञ्चारको अभाव, सूचना आदानप्रदानको कमी, मार्केटिङको अभाव, टी-२० लिगको पारदर्शितामा प्रश्न उठेकाजस्ता केही विषयहरूमा स्पष्टीकरणका लागि अनुरोध गरेका थियौं। तर प्रतिक्रिया शून्य थियो।
नेपाल टी-२० लिग चलिरहँदा फिक्सिङ तथा खेलाडीको पारिश्रमिकको विवाद आयो। यद्यपि लुम्बिनी अलस्टार्स टिम र त्यसका खेलाडी कुनै पनि विवादमा मुछिएनन्। तर पनि प्रतियोगिताको माहोल बिग्रिरहेको थियो। यसले तपाईंहरूलाई कस्तो असर गर्यो?
हामी नेपाली क्रिकेटको विकासका लागि नेपाल आएका हौं। हामीले सन् २०१६ देखि नेपाल क्रिकेटलाई धेरै किसिमले सहयोग गर्दै आएका छौं।
हाम्रो नियत सुरूदेखि नै सही थियो। त्यसैले हामीले सबै शीर्षकको रकम भुक्तानीहरू गर्यौं।
धेरै समस्याहरू सिर्जना गरिएको थियो। बैठक बोलाएर टिम मालिकहरू, क्यान र एन्टी करप्सन प्रमुख वीर सिंहबीच सेभेन थ्री स्पोर्ट्सले गलत सूचना फैलाएको थियो। गलत सूचना फैलाएको कुरा सेभेन थ्रीका प्रमुख जतिन अहुवालिया आफ्नो परिवारसँग भारत भागे लगत्तै थाहा भयो।
साथै, लिगको बारेमा ‘नकारात्मक समाचार’ देशभर फैलिएपछि हामीले लिगका लागि अमेरिकाबाट पठाएको ठूलो रकम बैंकले १२० भन्दा बढी दिन होल्डमा राखेको थियो।
विदेशी खेलाडीको लागि श्रम स्वीकृति लिनका लागि नेपाल क्रिकेट संघ चुकेको थियो। के क्यानका पदाधिकारीले श्रम स्वीकृतिका लागि फ्रेन्चाइज टिमसँग असुल गरेको कुरा सत्य हो? सत्य हो भने तपाईंले नेपाल क्रिकेट संघका कुन पदाधिकारीलाई कति पैसा बुझाउनु भएको थियो?
नेपाल क्रिकेट संघले विदेशी खेलाडीका लागि श्रम स्वीकृति दिलाउन सकेन। श्रम स्वीकृतिका लागि हामीले पटक-पटक गरी १० लाख रुपैयाँ भुक्तान गरेका थियौं। दुई पटक तत्कालीन कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल र तेस्रो पटक मल्लको अनुरोधमा एक व्यक्तिलाई अनलाइमार्फत् रकम पठाएका थियौं। तर हामीले अहिलेसम्म विदेशी खेलाडीका लागि श्रम स्वीकृति लिइएको प्रमाणपत्र पाउन सकेका छैनौं। हामीले यस विषयमा धेरै पटक इमेलमार्फत् क्यानलाई सोध्ने प्रयास गर्यौं (जसको प्रमाण हामी देखाउन सक्छौं)। यो विषयमा क्यानले एक पटकमात्र जवाफ फर्काएको छ। यो प्राय: सबै क्यान पदाधिकारीको व्यवसायिकताको कमी हो।
नेपाली टिम विश्व क्रिकेट लिग-२ का लागि अमेरिका भ्रमण गएको बेलामा सबै खर्च तपाईंहरूले गर्नुभएको भन्ने कुरा आइरहेको छ। यस विषयमा प्रष्ट पारिदिनु न।
हो, हामीले नेपाली क्रिकेट टिम विश्व क्रिकेट लिग-२ का लागि अमेरिका भ्रमण गर्दा लागेको सबै खर्च व्यहोरेका थियौं। हामीले १ लाख अमेरिकी डलर खर्च गरेका थियौं। यो खर्चमा एनआरएन युएसएको २० हजार अमेरिकी डलर र क्यानको १५ हजार डलर योगदान छ। सबै खर्च अलस्टार टिम फ्रेन्चाइजले व्यहोरेको थियो। जसमा सुरूमा टिम र अफिसियल ह्युस्टनको होटलमा बसेको खर्च, भ्यान, ड्राइभर, खाना, मेडिकल, मैदान, अभ्यास खेल खर्च, प्रत्यक्ष प्रशारण, अध्यक्ष र कोषाध्यक्ष ह्युस्टन बस्दा/घुम्दाको खर्च समावेश छ।
लुम्बिनी अलस्टार्स प्रतियोगिताको च्याम्पियन बने पनि पुरस्कार रकम अझै पाएको छैन। यस विषयमा क्रिकेट संघको तपाईंहरूलाई के जवाफ छ?
हामीले पुरस्कारको विषयमा क्यान र सेभेन थ्रीलाई धेरै पटक इमेल गरिसकेका छौं। हामीले यस विषयमा स्पष्ट पार्नका लागि ‘ग्रुप’ इमेलसमेत गरेका थियौं।
सेभेन थ्रीले क्यानलाई ५५ लाख रुपैयाँ यसअघि नै दिएको भनेर जवाफ दिएको छ। यो विषयमा क्यानले आफू पुरस्कार रकममा जिम्मेवार नभएको भन्दै एक पटक प्रतिक्रिया दिएको छ।
नेपाल क्रिकेट संघले नेपाल टी-२० लाई इतिहासकै उत्कृष्ट बनाउने भनेर प्रचार गरेको थियो। तर विवादै विवादमा लिग सकियो। लिगबारे तपाईंको धारणा र अनुभव कस्तो रह्यो?
क्यानका अनुसार यो लिग सबैभन्दा राम्रो टी-२० लिग हुन्छ भन्ने थियो। उनीहरूले हामीलाई यस्तो कुरा गरेर प्रलोभनमा पारेका थिए। तर सोचेको जस्तो हुन नसकेपछि क्यान पदाधिकारी जिम्मेवार भएनन्। विवाद आएपछि उनीहरू गल्तीबाट भाग्न थाले।
सुरूमा उनीहरूले खेलाडीले धेरै पैसा पाए भनेर घमण्ड गर्दै हिँडे। वास्तवमा भन्नु पर्दा खेलाडीहरूले पाएको पैसा हाम्रो थियो, क्यान पदाधिकारीको थिएन। अहिलेको अवस्थामा पनि धेरै खेलाडीले पारिश्रमिक पाएका छैनन्। धेरै प्लेयर अफ दि म्याच र उत्कृष्ट खेलाडीलगायतले नगद पुरस्कार पाउन सकेका छैनन्।
त्यसैले क्यान पदाधिकारीलाई मेरा धेरै प्रश्न छन्।
सबै फ्रेन्चाइज टिमलाई नेपालमै कम्पनी खोल्न सहयोग गर्ने समिति किन गठन गरिएन? सेभेन थ्री स्पोर्ट्स किन नेपालमा दर्ता भएन? किन क्यान पदाधिकारीले फ्रेन्चाइज शुल्क सेभेन थ्रीको भारतीय खातामा जम्मा गर्न भने? यति हुँदा पनि क्यानले सेभेन थ्रीविरूद्ध किन कानुनी रूपमा मुद्दा लडेन? सबै फोहोरी राजनीतिमा संलग्न भएकाले यस्तो भएको हो? खेलाडीहरूलाई प्लेयर अफ दि म्याचसँगै अरू रकम किन दिइएन? प्रतियोगिताको विजेता टिमले पाउने पुरस्कार कहाँ छ? हामी उत्तर चाहन्छौं।