नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल पछिल्लो समय फर्ममा थिएनन्।
कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०२२ फेब्रुअरीमा ओमानविरूद्ध ५५ रन प्रहार गरेपछि १२ खेलमा अर्धशतक प्रहार गर्न सकेनन्।
गत साता घरेलु मैदानमा भएको युएई र हङकङ विरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पनि उनले लिग चरणमा राम्रो ब्याटिङ गर्न सकेनन्। उनले युएई र हङकङ विरूद्धका सुरूवाती चार खेलमा सबैभन्दा बढी १४ रन बनाएका थिए। चारै खेल मुलपानी मैदानमा भएका थिए।
युएई विरूद्धको फाइनलमा भने उनले अर्धशतक प्रहार गर्न सफल भए। त्यो अर्धशतकले उनको आत्मविश्वास बढ्यो।
सोमबारदेखि सुरू भएको आइसिसी टी-२० विश्वकप २०२४ को एसिया छनोटको पहिलो खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्न सफल भए।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उनले सिंगापुरविरूद्ध ७४ रन बनाउन सफल भए। उनको उत्कृष्ट ब्याटिङसँगै नेपालले ८ विकेटको जित निकाल्न सफल भयो।
‘प्रतियोगिताको पहिलो खेल जित्दा राम्रो लागेको छ। हामी एक-एक खेल गरेर अघि बढिरहेका छौं। हामीलाई सबै खेल फाइनल जस्तै लागिरहेको छ,’ कुशलले खेलबारे भने, ‘मेरो प्रदर्शनको कुरा गर्दा टी-२० सिरिजमा मुलपानी मैदानमा ब्याटिङ राम्रो भएको थिएन। तर पनि कप्तान रोहित र प्रशिक्षक मोन्टी सरले प्रोत्साहन गरिरहनु भएको थियो। युएईविरूद्धको फाइनलमा रन बन्यो। आज पनि राम्रो ब्याटिङ भयो, खुसी छु।’
पछिल्लो ८ महिना ब्याटिङमा चुकिरहँदा उनी दबाबमा थिए। तर पनि टिमले उनीमाथि विश्वास गरेको थियो।
‘ब्याट्सम्यान भएर रन बनाउन सकिएन भने दबाब त हुन्छ नै। तर पनि टिमले विश्वास गरेको थियो। मोन्टी सर र रोहितले प्रेरित गरिरहनु भएको थियो। उहाँहरूले चलेको दिन राम्रो हुन्छ भन्नु भएको थियो। उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु,’ कुशलले भने।
कुशल नचल्दा नेपालले ओपनिङ पनि राम्रो गर्न सकिरहेको थिएन। तर कुशल चलेपछि नेपालले राम्रो ओपनिङ गर्न सफल भयो। कुशल र आसिफ शेखबीच सोमबार पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी भएको थियो।
‘आसिफ र म २-३ वर्षदेखि सँगै खेलिरहेका छौं। उसको बारेमा मलाई र मेरोबारेमा उसलाई थाहा छ। दुईबीच राम्रो सामझदारी छ। हामी ब्याटिङ गरेको बीचमा कुरा गरिरहेका हुन्छौं,’ कुशलले भने।
नेपालका लागि २५ टी-२० अन्तर्राष्ट्रिय खेलेका कुशलले अहिलेसम्म १ शतक र ७ अर्धशतक प्रहार गरिसकेका छन्। सन् २०२१ मा नेदरल्यान्ड्सविरूद्ध टी-२० मा डेब्यू गरेपछि उनले लगातार तीन अर्धशतक प्रहार गरेका थिए। त्यसयता उनी नेपाली टिमबाट लगातार खेलिरहेका छन्।