नेपालको यू–१९ राष्ट्रिय टिम छनोटका लागि २०७३ सालमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँगको समन्वयमा देशभर 'ट्यालेन्ट हन्ट' आयोजना गरिएको थियो।
देशका विभिन्न ६ स्थानमा गरिएको 'ट्यालेन्ट हन्ट' मार्फत् ५२ युवा खेलाडी छानिएका थिए। जसमध्ये काठमाडौं र कलैयाबाट बढी खेलाडीले स्थान पाएका थिए।
कलैयामा भएको ट्यालेन्ट हन्टमा जनकपुर र वीरगञ्जका खेलाडी पनि सहभागी थिए। जहांँ वीरगञ्जका खेलाडी अब्बल देखिएका थिए।
वीरगञ्जका खेलाडी पवन सर्राफ, अनिलकुमार साह, आरिफ शेखले यू–१९ टिममा स्थान बनाउन सफल भए। तर, वीरगञ्जकै आशा गरिएका तीव्र गतिका बलर रशिद खानका लागि भने यू–१९ राष्ट्रिय टिममा स्थान बनाउन एक वर्ष कुर्नुपर्यो। रशिदले २०७४ मा नेपालको यू-१९ टिममा पहिलो पटक स्थान बनाए।
मलेसियामा भएको एसिया कपमा वीरगञ्जका स्थायी बासिन्दा रशिदले पहिलो पटक नेपालको झन्डा अंकित जर्सी लगाए।
रशिदलाई निखारेका प्रशिक्षक जहुर अन्सारी रशिदलाई मिहिनेती खेलाडी मान्छन्।
'रशिद मिहिनेती खेलाडी हो', खान २०७४ सालमा युवा टिममा परेपछि प्रतिक्रिया दिँदै अन्सारीले भनेका थिए, 'उसको मिहिनेत हेर्दा एक वर्षअघि नै युवा टिममा पर्छ जस्तो लागेको थियो। अब उसले आफ्नो क्षमता देखाउने बेला आएको छ।'
रशिदले यू–१९ टिममा स्थान बनाउन विभिन्न आरोह-अवरोह पार गरे। उनले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर मात्र पाएनन्, धनगढी प्रिमियर लिग (डिपिएल) को च्याम्पियन टिम चौराहाबाटै खेले।
उनले ट्यालेन्ट हन्टमा देखाएको क्षमता राष्ट्रिय प्रतियोगिताका लागि खेल्न पर्याप्त भयो। कोशी प्रदेशमा भएको सातौं राष्ट्रिय टिममा रशिदले मध्यमाञ्चलको टिममा स्थान पाए।
मध्यमाञ्चलले राष्ट्रिय प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्यो। तर, रशिदका लागि भने यही प्रतियोगिता सम्झनलायक बन्यो। पश्चिमाञ्चल विरुद्धको खेलमा ५ विकेट लिएर उनले जीवनको यादगार प्रदर्शन गरे । तर, उनको टिम मध्यमाञ्चल पराजित भयो।
'राष्ट्रिय प्रतियोगितामा पहिलो पटक खेल्ने अवसर पाएकोमै म खुसी थिएँ। एकै खेलमा ५ विकेट लिएपछि झनै यादगार बन्यो', उनी सम्झन्छन्।
राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन उनका लागि लागि टर्निङ प्वाइन्ट बन्न पुग्यो। उनलाई डिपिएलका लागि घरेलु टोली चौराहाले आबद्ध गर्यो। राष्ट्रिय टिमका तत्कालिन कप्तान पारस खड्काको रोजाइमा परेर टिममा छानिएका उनले पहिलो रोजाइको टिममा भने मौका पाएनन्। एक खेलमा मात्र खेल्ने मौका पाए। तर पनि उनलाई गुनासो थिएन।
डिपिएलपछि एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताका लागि बोलाइएको पहिलो चरणको टिममा रशिद पनि परे। तर, फेरि उनले अन्तिम टिममा स्थान बनाउन सकेनन्।
नेपालको यू-१९ टिमबाट खेलेपछि रासिदले एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रिओट्स, पोखरा प्रिमियर लिग टिम पोखरा पल्टनसहित मधेस प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेले।
राष्ट्रिय प्रतियोगितामा उनले चाहिएको बेला टिमलाई योगदान गर्न सक्ने खुबी राख्थे। त्यसैले उनी नेपालको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत बोलाइन्थे।
तीव्र गतिको बलिङसहित ब्याटिङमा ठूलो सर्ट प्रहार गर्न सक्ने उनको खुबी हो। त्यहि खुबीका कारण रशिद नेपाल पुलिस क्लबमा आबद्ध हुन सफल भए।
रशिदले सन् २०१९ मा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गर्न सफल भए। उनले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपाली टिमबाट खेलेका थिए। सो प्रतियोगितामा उनले भुटानविरुद्ध डेब्यू गरेका थिए। कीर्तिपुर मैदानमा सिनियर टिमबाट डेब्यू गर्दा उनले चार ओभर बलिङ गर्दा विकेट लिन भने सकेका थिएनन्।
डेब्यू खेलमा विकेट लिन नसकेका रशिदले त्यसपछि भने नेपाली सिनियर टिमबाट खेल्ने अवसर पाएका छैनन्। तर उनी राष्ट्रिय टिमको प्रारम्भिक टिममा भने बलियो दाबेदारको रुपमा प्रस्तुत भने भइरहे। कहिलेकाँही खर्चिलो बलर सावित हुनु उनको कमजोरी थियो। जसका कारण उनले पुलिस टिमबाट समेत नियमति अवसर पाउन सकेनन्। करण केसी र गुल्सन झाले पुलिसबाट नियमित खेल्दा रशिद बेञ्चमा सीमित हुने गर्थे। हाल गुल्सन यू-१९ विश्वकपका लागि दक्षिण अफ्रिका छन्।
ट्यालेन्ट हन्टबाट राष्ट्रिय क्रिकेटमा उदाएका रशिदले शनिबार भने राष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण ब्याटिङ गरे। बागमती प्रदेशविरुद्ध कीर्तिपुर मैदानमा सातौं नम्बरमा ब्याटिङ गर्दै उनले नटआउट १०६ रन जोडे। टिम संकटमा परेको बेलमा सुझबुझपूर्ण ब्याटिङ गरेका उनले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गरे।
राष्ट्रिय क्रिकेटमा सातौं नम्बरमा ब्याटिङ गरेर शतक बनाउने कीर्तिमान बनाएका उनको यो करिअरकै पहिलो शतक समेत हो।
उनकै उत्कृष्ट ब्याटिङमा कुनै बेला ७२-५ मा रहेको पुलिसले २८२ रन जोडेको थियो। उनले बलिङमा २ विकेट लिएपछि पुलिस ६८ रनले विजयी भयो।