२०७८ को साउनमा राष्ट्रिय क्रिकेट टिमबाट सन्यासको घोषणा गर्दा पारस खड्काको एउटै लक्ष्य थियो- नेपाल क्रिकेट संघ(क्यान)को व्यवस्थापनमा आउने।
त्यसका लागि उनले दुई वर्ष क्रिकेट राजनीति बुझे। काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष भए। गत असोजमा क्यानको सचिवमा निर्वाचित भएपछि पूर्वकप्तान खड्का हिजोआज निकै व्यस्त छन्।
बिहान ७ बजे घरबाट निस्कने खड्का बेलुकी १०-११ बजे मात्र घर फर्किन्छन्। दिनभर क्रिकेटकै काम गरेर बित्छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग समन्वय गर्नेदेखि घरेलु क्रिकेटका कामले उनी बिहानदेखि बेलुकीसम्म कमै मात्र फुर्सद पाउँछन्।
क्रिकेट विकासका लागि उनले कर्पोरेट हाउसका प्रमुखदेखि नेता, क्यानका जिल्ला प्रतिनिधि, मैदानमा खटिने कर्मचारीसँग ‘वान टु वान’ कुरा गरिरहेका छन्। उनी क्यानमा आएको चार महिना मात्र पूरा भए पनि नेपाली क्रिकेटमा आशाको सञ्चार भइरहेको छ।
उनी क्यानमा निर्वाचित भएलगत्तै नेपालले आइसिसी विश्वकप २०२४ का लागि घरेलु मैदानमा छनोट खेल्दै थियो। छनोटको तयारी गर्न क्यानले हङकङ र युएईसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्यो। जसका कारण विश्वकप छनोटको तयारी राम्रै भयो।
विश्वकप छनोटको सेमिफाइनलमा नेपालले युएईलाई पराजित गर्दै १० वर्षपछि विश्वकपमा स्थान पक्का गर्यो। यो सिरिजबाट पारसले आफू क्यानमा आएको एक महिना नै प्रभाव देखाए। त्यसअघि नीजि कम्पनीलाई सिरिजको व्यवस्थापन सस्तो रकममा दिएर क्यान आफू पन्छने गरेको थियो।
तर टी-२० र विश्वकप छनोटका लागि क्यानले आफ्नै व्यवस्थापन गर्नुपर्छ भन्दै खड्काले निर्णय नै गराए। सिरिज र छनोटका लागि विभिन्न कर्पोरेट हासउको २ करोड रूपैयाँ भन्दा बढीको प्रायोजना सम्झौता गर्न क्यान सफल भयो। क्यानले आफैं प्रायोजन खोजेर सिरिज आयोजना गरेकोमा पारसका आलोचकले समेत प्रशंसा गर्न बाध्य भए।
क्यानले पहिलो पटक क्रिकेट क्यालेन्डर सार्वजनिक गर्दा पनि पारसकै अग्रणी भूमीका रहेको थियो। क्यालेन्डरमार्फत् पहिलो पटक मल्टी डे क्रिकेट आयोजना गर्ने क्यानले घोषणा गर्यो। यस्तै यसअघि विवादित बनेको नेपाल टी-२० लिग पनि आफैं आयोजना गर्ने क्यानले निर्णय गर्यो।
क्यालेन्डरमा यू-१६ प्रतियोगितादेखि महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मिति तय भएका थिए। प्रशिक्षक, स्कोरर, अम्पायर लगायतका प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यक्रम पनि क्यालेन्डमा समेटिए।
राष्ट्रियदेखि विभिन्न उमेर समूहका क्रिकेटरले वर्षभर आफूले खेल्न पाउने राष्ट्रिय प्रतियोगिताको बारेमा पहिलै जानकारी पाए। क्यालेन्डरमार्फत् नेपालले खेल्ने विभिन्न अन्तर्राष्ट्रिय सिरिजको मिति एक वर्षअघि नै सार्वजनिक गरियो। क्यानले वर्षभरी क्रिकेट खेल्नका लागि विभिन्न राष्ट्रसँग पत्रचार गर्यो।
क्यानले इतिहासमा पहिलो पटक ‘ए’ टिम बनाउने घोषणा गर्यो। सिनियर टिमको ब्याकअपको रुपमा रहने ‘ए’ टिमको घोषणासँगै राष्ट्रिय खेलाडीहरूमा आशाको सञ्चार गराइदियो।
फागुन पहिलो साता नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप लिग-२ को खेल भइरहदा नेपालको ‘ए’ टिमले मुलपानी मैदानमा क्यानडाको ‘ए’ टिमसँग खेल्ने तालिका छ। नेपालमा खेलेपछि यी दुई टिमबीच क्यानडा पनि सिरिज हुनेछ। दुवै देशका क्रिकेट संघले आफ्नो देशमा हुँदाको खर्च व्यहोर्नेछन्।
कास्की क्रिकेट जिल्ला संघ तथा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल पछिल्लो समय नेपाली क्रिकेट सुधार भएको मान्छन्।
‘हिजो खेलाडी हुँदा व्यवस्थापनले गर्दिए हुन्थ्यो भन्ने व्यक्ति आज क्यानको सचिव हुनुहुन्छ। खेलाडीलाई के गर्नुपर्छ भन्ने कुरा उहाँले बुझ्नुभएको छ। उहाँको पनि ब्रान्ड भ्यालू छ। नेपालका कर्पोरेट हाउसले पत्याएको व्यक्ति पनि हो। त्यसैले पछिल्लो समय क्रिकेटको सुधार राम्रो देखिन्छ, नेपालले धेरै म्याच पाउन थालेको छ,’ अध्यक्ष सिग्देलले भने, ‘नेपाली टिमले एक्सपोजर पाउन थालेको छ। यो एकदमै राम्रो साइन हो। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको बेला अरु खेल हुँदैन थियो। अहिले एकै समयमा सिनियरदेखि यू-१९ टिमले खेल्न पाइरहेका छन्।’
नेपाली टिमबाट लामो समय खेलिसकेकाले पारसले क्रिकेट विकासका लागि योगदान दिन सक्ने सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी बताउँछन्। ‘नेपालबाट खेलिसकेका खेलाडी भएकाले पारसलाई धेरै ज्ञान छ। जुन तरिकाले नेपाल ए टिम बनाउनेदेखि अरु कार्यक्रम भइरहेको छ, यो राम्रो पक्ष हो,’ उनले भने।
क्यानले पछिल्लो साता प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितालाई विकेन्द्रीकरण गर्दै तीन स्थानमा आयोजना गर्यो। कीर्तिपुरस्थित त्रिवि मैदान, मुलपानी मैदान र भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदान आयोजना भएको प्रतियोगितामा १० टिमले नौ नौ खेल खेल्न पाए। २० दिन चलेको प्रतिस्पर्धामा ४६ खेल भए। प्रतियोगितमा दश शतक र ५५ अर्धशतक प्रहार भए।
पहिलो पटक सबै टिमले एकआपसमा खेलेको प्रतियोगिताको नयाँ फर्म्याटले धेरै खेलाडीलाई राष्ट्रिय टिममा पुग्ने बाटो तय गरिदियो। लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ प्रधानमन्त्री कप काठमाडौं बाहिर हुँदा राम्रो सन्देश गएको बताउँछन्।
‘राजधानी बाहिर प्रधानमन्त्री कप आयोजना गर्नु क्यानको नयाँ कदम हो। प्रधानमन्त्री कपमा नयाँ फर्म्याटमा हुँदा सबै टिमले नौ खेल खेल्न पाए। यसले भैरहवाको क्रिकेट माहोललाई पनि उचाइमा पुर्याइदियो,’ गुरुङले भने।
प्रधानमन्त्री कपमा एक टिमले नौ खेल खेल्दा राम्रो सन्देश गएको सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष जोशीको भनाइ छ।
‘पहिला १० टिमबीच दुई समूहमा खेल हुन्थ्यो। तीन-चार वटा खेल खेलेर सकिन्थ्यो। अहिले एक टिमले नौ खेल खेल्न पाएको छ। यो क्रिकेटका लागि सकारात्मक पक्ष हो। यसका लागि खर्च भने बढेको छ। यो खर्च हामी निरन्तर धान्न सक्छौ कि सक्दनौ भन्ने प्रश्न भने छ,’ जोशीले भने।
पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंह प्रधानमन्त्री कप लगायतका घरेलु प्रतियोगिता धेरै क्रिकेटरका लागि अवसर बनेर आएको बताउँछन्।
‘घरेलु क्रिकेट संरचनाको वार्षिक क्यालेन्डर सार्वजनिक भएको छ। यसअघि कहिले कुन प्रतियोगिता हुन्छ भन्ने थाहा नै हुँदैन थियो। अहिले सिनियर, महिला र उमेर समूहको प्रतियोगिताको मिति सार्वजनिक भएका छन्,’ सिंहले भने, ‘खेलाडीले आफूले कतिबेला अवसर पाउन सक्छ भन्ने कुरा थाहा पाएका छन्। जो राष्ट्रिय टिमबाट बाहिर थिए उनीहरूलाई राष्ट्रिय प्रतियोगितामा राम्रो गरेर क्याम ब्याक गर्ने अवसर मिलेको छ। प्रदर्शन गर्ने जसले पनि मौका पाउँछ भन्ने सन्देश गएको छ।’
प्रधानमन्त्री कपअघि बागमतीमा महिला टिमको एलिट ट्रफी आयोजना गर्नमा पनि पारसको भूमिका छ। पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष समेत हुन्।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको छनोटका लागि चितवनमा बागमती प्रदेशका जिल्लाबीच प्रतियोगिता आयोजना गरियो। त्यसपछि खेलाडी छनोट गरेर तीन टिम बनाएर बागमतीले एलिट ट्रफी आयोजना गर्यो भने एपिएफ क्लबसँग सिरिज समेत खेल्यो। नेपाली महिला क्रिकेटको इतिहासमा प्रदेशले गरेको यो पहिलो प्रयोग थियो।
यस्तै क्यानले पहिलो पटक सात वटा प्रदेशका लागि प्राविधिक विश्लेषकका लागि प्रशिक्षण आयोजना गरिसकेको छ। यसले सम्बन्धित प्रदेशका टिमको विश्लेषण गर्दै तयारी गर्न सजिलो भएको छ। यसअघि राष्ट्रिय टिममा मात्र प्राविधिक विश्लेषक राख्ने गरिएकोमा अब भने प्रदेशका टिमले पनि विश्लेषकलाई अफिसियल बनाउन थालेका छन्।
क्यानले यो वर्षको बजेट भाषणमार्फत् क्रिकेटका लागि बजेट छुट्याउन सरकारलाई पत्रचार गरेको छ। क्यानले पहिलो पटक सिधा बजेटमार्फत् क्रिकेटका लागि रकम छुट्याउन माग गरेको यो पहिलो पटक हो।
गत साता एसियन क्रिकेट काउन्सिल (एसिसी) को वार्षिक बैठकमा पारसले क्यानको तर्फबाट कार्यपत्र प्रस्तुत गरे। त्यहाँ उनले क्यानको हालको अवस्थाको बारेमा एसिसी सदस्यहरूलाई जानकारी गराएका थिए।
उनको कार्यपत्रमा विशेष गरी क्यानलाई भौतिक संरचना र क्रिकेट सामग्रीको अभाव भएको उल्लेख थियो।
कार्यपत्रमार्फत् भौतिक संरचना र क्रिकेट सामग्रीमा सहयोग गर्न एसिसीलाई आग्रह गरिएको थियो। इन्डोनेसियामा भएको बैठकको विषयमा पारसले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा एसिसी बोर्ड सदस्य तथा विकास समितिका अध्यक्ष महिन्दा वल्लीपूरमले पारसको प्रस्तुतीलाई उत्कृष्ट भन्दै सहकार्य गर्दै लक्ष्य हासिल गर्न सकिने भन्दै शुभकामना समेत दिएका छन्।
विश्व क्रिकेटको महाशक्ति भारतबाट कुटनीतिक पहलबाट फाइदा लिने विषयले पनि अहिले मूर्त रुप लिँदैछ। गत पुस तेस्रो साता नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटका लागि भारतीय दूतावासले पारसलाई टेलिफोन गरेको थियो।
त्यसपछि क्यानको टिम उनलाई भेट्न गएको थियो। २० मिनेट भएको उक्त भेटमा अध्यक्ष चतुरबहादुर चन्दले केही भनाइ राखेपछि सचिव पारसले भारतले नेपाललाई दिन सक्ने सहयोगको बारेमा स्पष्ट खाका प्रस्तुत गरेका थिए।
एस जयशंकर भारत फर्किएको केही दिनमै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) बाट पारसलाई फोन आएको थियो। त्यसपछि पारसले प्रपोजल पठाएका थिए। प्रपोजलमा भारतको क्रिकेट एकेडेमीमा नेपालका खेलाडीलाई पनि सिक्ने, उपचार गर्ने र रिह्याव गर्ने व्यवस्था मिलाउन, भारतका आइपिएल टिम देखि राज्यस्तरका टिमसँग अभ्यास खेल्न, नेपालसँग भारतको ‘ए’ टिमले खेल्न, भारतका स्थानीय टिमबाट नेपाली क्रिकेटरलाई खेल्नका लागि व्यवस्था गर्ने माग गरिएको थियो।
गत साता भएको एसिसीको साधारणसभामा एसिसीका अध्यक्ष तथा बिसिसिआईका सचिव जय शाहसँग सचिव पारस र अध्यक्ष चन्दको फेरि छलफल भएको थियो। सो छलफलमा पनि बिसिसिआईले क्यानलाई सहयोग गर्ने विषयले प्रमुख स्थान पाएको थियो।
अहिले क्यानले पठाएको प्रयोजल बिसिसिआईले अध्ययन गरिरहेको छ। विभिन्न कार्यक्रमका मिति मात्र तय हुन बाँकी छन्। क्यानका अनुसार टी-२० विश्वकपअघि नेपाली टिमले आइपिएल टिमसँग तीन वटा अभ्यास खेल खेल्न कुराकानी भइरहेको छ। तर मिति भने पक्का भइसकेको छ। यस्तै दिल्लीको फिरोज शाह कोटला मैदानमा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल्ने प्रस्ताव गरिएको छ।
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष गुरुङ एसिसीमा नेपालको प्रस्तुतीकरणले राम्रो सन्देश दिएको तथा भारतको सहयोगले नेपाली क्रिकेटको स्तर माथि पुग्ने बताउँछन्।
‘यसअघि एसिसीको बैठकमा क्यानका पदाधिकार जान्थे। फर्किंदा भारतले सहयोग गर्ने कुरा भएको बताउनु हुन्थ्यो। तर अहिलेसम्म मूर्तरुपमा भारतसँग सन्बन्ध बनाउन सकेका थिएनौं। अहिले एसिसीको बैठकमा नेपालले आफ्नो कार्ययोजना राख्ने मौका पायो,’ उनले भने, ‘भारतसँग भौगोलिक रुपमा नजिक छौं। खुला सिमाना छ। भारतसँग सम्बन्ध बनाउन सक्यौ भने त्यो दीर्घकालका लागि राम्रो हुन्छ। तर भारतले गर्ने भनेको सहयोगले मूर्त रुपमा पाउँछ कि पाउँदैन हेर्न भने बाँकी छ। सहयोग पाउन सक्यो भने त्यो भन्दा राम्रो केही पनि हुन्न सक्दैन। यसले हाम्रो क्रिकेट अर्को स्तरमा पुग्छ।’
पर्साका अध्यक्ष मनिष पनि भारतबाट सहयोग पाए नेपाली क्रिकेटले फड्को मार्ने बताउँछन्। ‘हामीलाई अलिकति मात्र बिसिसिआईले सहयोग गर्यो भने हाम्रो स्तर टेस्ट नेशनमा पुग्नेमा कुनै शंका छैन,’ उनले भने।
अहिले क्यानलाई ग्रासरुट क्रिकेट व्यवस्थापन चुनौतीको रूपमा देखा परेको छ। क्रिकेट छनोटका लागि जिल्लालाई दिने बजेट बढाउनु पर्ने जिल्लहरूको माग छ।
साथै जिल्ला छनोटका लागि समय पर्याप्त हुनु जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षहरूको माग छ। क्रिकेट विकासको कोशेढुंगाको रुपमा रहेको ग्रासरूटका कार्यक्रमका लागि क्यानले नीति बनाउनु पर्ने उनीहरुले बताए। अहिले भइरहेको मनमोहन यू-१६ क्रिकेट प्रतियोगिताको छनोटका दौरान जिल्लाहरुलाई बजेट र समय नपुगको पनि गुनासो आइरहेको छ।
यसअघिको क्यान कार्यसमितिले गरेका हरेक कार्यशैलीमा प्रश्न उठ्ने गरेका थिए। पछिल्लो चार महिनामा महाप्रवन्धक नियुक्तिमा प्रश्न उठ्नुबाहेक क्यानका अधिकांश कामले नेपाली क्रिकेटमा सकारात्मक सन्देश दिइरहेका छन्।