नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्यो।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्याडना ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो।
नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए। रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए।
क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरे।
पर्गतले ५० रन जोड्ने क्रममा तेस्रो विकेटका लागि निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे। त्यसपछि हर्ष थाकेरलाई ३२ रन जोड्दा निकोलाससँग चौथो विकेट विकेटका लागि ६० रनको साझेदारी गरे।
निकोलासले ६० रनको योगदान गरे। पवन सर्राफबाट बोल्ड हुनुअघि उनले ९९ बलमा ७ चौका प्रहार गरे। निकोलासले गरेको दुई महत्वपूर्ण साझेदारीले क्यानडा बलियो अवस्थामा पुगेको थियो।
नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिदा खेल रोमाञ्चक मोडमा पुगेको थियो। सुरुमा क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे। तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारे।
यस्तै नेपालका ललित राजवंशीले डिलोन हेलिङ्गरलाई नवौं विकेटको रुपमा २ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला क्यानडालाई जितका लागि १९ बलमा १३ रन चाहिएको थियो भने १ विकेट मात्र बचेको थियो।
यसपछि ६ रन बनाएको क्याडनाका इश्वर सोधीलाई नेपालका कप्तान रोहित पौडेलले ४७.५ ओभरमा शून्यमा बोल्ड गर्दा नेपालले रोमाञ्चक जित हात पार्यो।
त्यसअघि क्याडनाका ओपनरद्वय आरोन जोनसन २० रन र नवनीत धलिवाल ६ रनमा आउट भए।
रिजन ढकालले धलिवाललाई विकेट पछाडि आसिफ शेखबाट क्याच गराए। रिजनले डेब्यू खेलमै विकेट लिए। बायाँ हाते तीव्र गतिका बलर रिजनले आफ्नो स्पेलको पाँचौ बलमा विकेट लिन सफल भए।
यस्तै सोमपालले जोनसनलाई एलबिडब्लूको धरापमा पारे।
नेपाल २२४ रनमा अलआउट
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकमा ५० ओभरमा सबै विकेट गुमाउँदा २२४ रन जोड्यो।
एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे।
कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनमै पेभिलियन फर्के। भीम सार्की १७ रन र कुशल मल्ल पनि २० मै आउट हुन बाध्य भए।
आरिफ शेखले ३८ रन जोड्दा नेपालको स्कोर बढेको थियो। आरिफले ५० बलमा ४ चौका प्रहार गरे। पवन सर्राफ पनि चल्लन सकेन्। उनी १५ रनमा क्यानडाका शाहिद अहमजाइको एलबिडब्लूको धरापमा परे।
सोमपाल कामीले जोडेको २७ रन नेपालका लागि महत्वपूर्ण सावित भयो। ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे। रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे। रिजन र सूर्यले नेपाली टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।
बलिङमा क्यानडाका उदय भगवानले ३ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दा ४० रन खर्चिए। इश्वर सोधी र साद विन जाफरले २-२ विकेट लिन सफल भए।
नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।
अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ।