नेपाल क्रिकेट संघ (क्यान) को अघिल्लो कार्यसमिति निकै विवादित बन्यो। राष्ट्रिय क्रिकेट टिमको खस्कँदो प्रदर्शन र नेपाल टी-२० लिगको विवादले क्यानको विवाद गत वर्ष उत्कर्षमा पुगेको थियो।
तर आइसिसी विश्वकप लिग-२ का पछिल्ला १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता चार वर्षका लागि पक्का गरेसँगै विवाद विस्तारै मत्थर हुँदै गयो।
गत असोजमा नयाँ कार्यसमिति निर्वाचित भएपछि क्रिकेटका गतिविधिसँगै क्यानको आम्दानी समेत बढ्न थाल्यो। विशेषगरी क्यानको कार्यसमितिमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएपछि क्यानको कार्यशैलीमा परिवर्तन देखिन थालेको छ। तर बोर्ड सदस्यले केही विषयमा विरोध गरेका छन्। जसले क्यानलाई काम गर्न चुनौती थपिएको छ।
यिनै विषयमा सेतोपाटीका सीताराम कोइरालाले क्यान सचिव खड्कासँग गरेको कुराकानीको सम्पादित अंश पढ्नुहोस् :-
नेपाली राष्ट्रिय क्रिकेट टिमबाट १७ वर्ष खेल्नु भयो। त्यतिबेला नेपाली क्रिकेटको प्रशासनिक निकाय क्यानको काम कारबाहीमाथि निडर रूपमा प्रश्न उठाउनुहुन्थ्यो। अहिले तपाईं क्यानको सचिव हुनुहुन्छ। आफैं उत्तर दिने ठाउँमा आउनु भएको छ। विगत पाँच महिनाको अवधिमा नेपाली क्रिकेटको व्यवस्थापन कहाँ रहेको पाउनु भयो?
खेलाडी हुँदा नेपाल क्रिकेट संघलाई धेरै पटक प्रश्न गर्यौं। क्रिकेट संघ जुन तरिकाले अघि बढ्नुपर्ने त्यो तरिकाले बढेको छैन भनेर प्रश्न गर्थ्यौं। नेपाली क्रिकेट टिमले अनफिल्डमा प्रदर्शन गर्दा क्यानले आउटफिल्ड किन राम्रो गरेन भनेर सोध्यौं।
मैले क्रिकेट छोड्दा क्यानको व्यवस्थापनमा आएर केही गर्न मन छ भनेको थिएँ। चुनावमा जिल्ला र प्रदेशको ठूलो लडाइँ लड्दै केन्द्रमा सचिवको पदमा निर्वाचित भए।
पाँच महिनाअघि क्यानको सचिव नियुक्त भएर आएपछि निकै चुनौती थियो। नेपाल क्रिकेटको आधार बनिसकेको छैन।
धेरै खेलाडी र प्रशिक्षकआए पनि क्रिकेटको संस्कार बसिसकेको छैन। त्यसैले व्यवस्थापनको ठूलो चुनौती छ। यो मैले मात्र गरेर हुने कुरा होइन। ४५ जिल्ला, सात प्रदेश र केन्द्रीय कार्यसमिति सबैको प्यासनले क्रिकेट विकास हुने हो।
मैले धेरैको काम गर्ने इच्छाशक्ति पाएको छु। तर यहाँ स्रोत साधनको कमी छ।
म कार्यसमितिमा आएको बेला क्यान धेरै ऋणमा थियो। अहिले पनि ऋणमै छौं। तर भाग्यवस सुरूमा टी-२० सिरिज र विश्वकप छनोट अनि अहिले विश्वकप लिग-२ सहितको सिरिजबाट आम्दानी हुँदा हामी चाँडै नै ऋणमुक्त हुँदैछौं।
कार्यसमितिका सबै साथीहरूको समर्थन छ। एउटा संगठनमा भएपछि सबैको विचार नमिल्ला तर अहिले धेरै बाधा अड्चन आएको छैन।
पारस खड्काले यो गर्यो, त्यो गर्यो भनेर दुई चार वटा समाचार आइरहेका छन्।
पारस खड्काले नाम कमाएको भनेको नेपाली टिमको प्रतिनिधित्व गर्दै मैदानभित्र संघर्ष गरेर हो। मैले गरेको टिमबाट खेल्दा कहिले क्रिकेट पनि पाएको छु भने कहिले गाली पनि पाएको छु।
तपाईं आएपछि हङकङ र युएईविरूद्धको सिरिज तथा विश्वकप छनोटको जिम्मा क्यान आफैंले व्यवस्थापन लिने निर्णय भयो। यसअघि क्यानले अरू कम्पनीलाई दिन्थ्यो। तर आफैंले व्यवस्थापन लिएर २ करोड माथिको प्रायोजन ल्याउनुभयो। खासमा यसअघि क्यानले आफैं व्यवस्थापन नलिनुको कारण के रहेछ?
यसअघि अरूलाई व्यवस्थापन किन दिइन्थ्यो भन्ने कुराको जवाफ मसँग पनि छैन। व्यापारिक आम्दानीका लगि टेलिभिजन, एड एजेन्सी र क्यान गरी तीन स्टेक होल्डर हुन्। नयाँ कार्यसमिति आएपछि मैले नेपाली क्रिकेटको एउटा ब्रान्ड भ्यालू छ भन्ने कुरा राखेँ। यसलाई हामीले आम्दानीमा बदल्नु पर्छ भनेँ।
क्यान क्रिकेटको प्रशासनिक निकाय हो। क्रिकेटका लागि क्यानसँग जो पनि जोडिन चाहन्छ। त्यसमा एड एजेन्सी होला र टेलिभिजन होला। यी सबैलाई एकै ठाउँमा ल्याएर क्यानले किन आर्थिक लाभ नलिने भन्ने प्रस्ताव राख्दा धेरै ठाँउबाट राम्रो प्रतिक्रिया आए।
यसअघि एजेन्सी र टेलिभिजनले पैसा कमाउँथे भने अब क्यान बीचमा आएको छ। यसमा क्यानले मुख्य आम्दानी लिन थालेको छ। यसअघि पनि लिनुपर्ने थियो।
सन् २०१४ मा हामी पहिलो पटक विश्वकपमा पुग्यौं। विश्वकप खेलेर आएपछि क्रिकेटको क्रेज बढ्यो। व्यापारिक भ्यालू भने २०१८ देखि सुरू भएको हो। विगत एक दुई वर्षमा नेपाली क्रिकेट टिमको प्रदर्शन राम्रो भयो।
पहिलो पनि नेपाली क्रिकेट टिमको ब्रान्ड भ्यालू थियो। तर त्यसको फाइदा लिन सकेका थिएनौं। यसअघिका कार्यसमितिलाई दोष लगाउनेभन्दा पनि अलि जोश र गतिशीलता कमी भएको कि भन्ने लाग्छ।
यसअघि पनि मैले क्यानका पदाधिकारीको भूमिका खेलाडीको जस्तो हुनु पर्यो भनेको थिएँ। खेलाडी जसरी नेपाललाई जिताउन रातदिन नभनी लाग्छन् त्यसरी नै पदाधिकारी पनि लाग्न पर्यो भन्थेँ।
म राम्रो व्यवस्थापक भनेर स्थापित हुन चाहन्छु भने जिल्ला, प्रदेश र केन्द्रलाई बलियो बनाउन लागिरहनु पर्छ। हामीले क्रिकेटबाट विगत २०-२५ वर्षदेखि नतिजा दिएका थियौं। त्यो नतिजाको मूल्यलाई हामीले फाइदा लिन सकेका थिएनौं।
अहिले क्रिकेट संघमा मलाई कमर्सियल रेभिन्यू हेर्ने मुख्य जिम्मेवारी छ। मलाई क्यानले विश्वासमा दिएको कारणले गर्दा मैले जतिसक्दो क्रिकेटलाई फाइदा हुने गरी व्यापारिक सम्झौताका लागि काम गरिरहेको छु। अहिले धेरै पैसा क्रिकेट संघमा आउन थालेको छ। नेपाल क्रिकेटमा लागेर पाएको विश्वासलाई क्रिकेट संघमा आएर काम गर्ने कोसिस गरिरहेको छु। अहिले हामी क्रिकेटमा जग बनाउने कोसिस गरिरहेका छौं।
नेपाली क्रिकेटको क्यालेन्डर प्रकाशित भयो। क्यालेन्डरमा वर्षभरीमा नै क्रिकेटका कार्यक्रम छन्। कतिपय निजी संस्थाका प्रतियोगिताका प्रतियोगिता क्यालेन्डरमा समावेश छन्। क्यालेन्डर केको आधारमा प्रकासित गर्नुभयो? क्यालेन्डरमा समावेश भएका प्रतियोगिताको मापदण्ड बनाउने, प्रतियोगिताको पूर्वाधार र तयारीमा चुनौती देखिएका छन्। यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
क्यालेन्डर बनाउने हाम्रो पहिलो प्रयास हो। हामीले विभिन्न व्यक्तिको नाममा सञ्चालन हुने प्रतियोगितालाई क्यालेन्डरमा राखेका छौं। हामीले तीन चार महिनाको तयारीपछि क्यालेन्डर बनाएका हौं। जिल्ला र प्रदेशसँग समन्वय गरेर बनायौं।
हामीले कस्तो प्रतियोगितालाई कस्तो मान्यता भन्ने मापदण्ड भने बनाउन जरूरी छ। यो पहिलो वर्ष भएकाले हामीले केही काम गर्दैछौं। वर्षा बाहेकको बेला ५ दिन पनि अरू प्रतियोगिता गर्ने समय छैन। यसअघि खेलाडीलाई कुन प्रतियोगितालाई कसरी तयारी गर्ने भन्ने थाहा नै हुँदैन थियो। स्रोत र साधनको कमी भएको हुनाले हाम्रो जिल्ला र प्रदेशको संरचना एकदमै कमजोर छ। क्यान आफैं ऋणमा भएकाले जिल्ला र प्रदेशलाई धेरै सहयोग गर्न सक्ने अवस्थामा पनि छैन। तर यो चाँडै परिवर्तन हुँदैछ। किनभने विगत पाँच महिनामा गरेको गतिविधि र आगामी दिनमा हुने कार्यक्रम, नेपाली क्रिकेटमा जोडिन चाहने संस्था र सरकारको सहयोगले क्यान आर्थिक हिसाबले बलियो हुनासाथ आफैंले सिर्जना गरेको स्रोतलाई सिधै जिल्ला र प्रदेशलाई दिनु पर्नेछ। किनभने सीमित बजेट हुँदा जिल्ला र प्रदेशका धेरै गुनासो आइरहेको छ।
न्यून बजेट भए पनि धन्न हाम्रा जिल्ला सञ्चालनमा छन् यस्तै जिल्ला पनि आफैं सक्रिय हुनुपर्छ। पालिकामा छुट्याइने बजेट क्रिकेटमा ल्याउनका लागि जिल्लाहरू लाग्नुपर्छ।
एसिसी र आइसिसीलाई समेत जोडेर पहिलो वर्ष एउटा सानो भए पनि खाका र आधार तयार गर्दै बलियो बनाउन सक्यौं भने अबको ६ महिनामा जिल्ला र प्रदेशलाई पनि आर्थिक हिसाबले सहयोग गर्नसक्छौं। यस्तै, नेपालमा जति अन्तर्राष्ट्रिय टिम बोलाउन सक्यौं त्यति हामीलाई आर्थिक फाइदा छन्। हाम्रो मुख्य काम क्रिकेटका गतिविधि बढाएर वर्षभरी क्रिकेट खेल्ने सोच हो।
प्रधानमन्त्री कप नयाँ फर्म्याटमा हुँदा खेलाडीहरू उत्साहित भएको पाइयो। अझ ए टिमको घोषणा हुँदा त्यसले थप माहोल बढायो। ए टिमले हुँदा अब नेपाली क्रिकेटले कसरी फाइदा लिन्छ?
प्रधानमन्त्री कप राउन्ड रोबिन फर्म्याटमा गर्यौं। हामीले यसलाई प्रिमियर घरेलु प्रतियोगिताको रूपमा अघि सार्यौं। यसले वर्षभरको लागि आधार बनाउँछ भनेर प्रतियोगिता नयाँ फर्म्याटमा गरेका हौं।
हामीले प्रत्येक जिल्लालाई २५-३० जना खेलाडी छनोट गर्न भन्यौं। जसले वर्षभरी विभिन्न जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता पनि खेल्न सकून्। हाम्रो लक्ष्य क्रिकेटलाई संरचनामा ढालौं भन्ने हो।
प्रधानमन्त्री कपमा एक टिमले नौ खेल खेल्दा खेलाडीलाई प्रमाणित गर्न सक्ने समय भयो। ए टिमको घोषणाका लागि हामीले निकै विश्लेषण गर्यौं। ए टिमका खेलाडीलाई राष्ट्रिय टिममा आउने आधार कसरी बनाउने भन्ने कुरा हो।
हामीले खेलाडीको ठूलो संख्या निर्माण गर्न खोजेका हौं।
अब सम्झौतामा रहेका खेलाडी हुन्छन्। सम्झौता रहेका खेलाडीको सूची छिट्टै सार्वजनिक गर्छौं। देशका खेलाडीलाई सम्झौता गर्ने विषयमा पनि कुराकानी गरेका छौं। प्रदेशले पनि सम्झौता गर्ने वातावरण बताउँछौं। जिल्लासम्म जान सक्यौं भने राम्रो हुन्छ।
जिल्लामा राम्रो खेल्यौं भने प्रदेश अनि त्यहाँबाट ए टिममा पुग्ने वातावरण बनाउँछौं। हामीले प्रदेश टिमलाई नियमित खेल्ने वातावरण बनाउनुपर्छ। राम्रो खेल्यौं भने राष्ट्रिय टिमका खेलाडीलाई दबाब दिने वातावरण सिर्जना हुन्छ।
अब नेपाली क्रिकेट खेलाडीको तलब कम्तीमा एक लाख रुपैयाँ हुन सम्भव छ?
हामीले खेलाडीको सम्झौता छिट्टै सार्वजनिक गर्दैछौं। अब नेपाली क्रिकेट टिमलाई स्रोत साधनको कमी हुँदैन। किनभने क्रिकेट टिमले हरेक नेपालीलाई छुट्टै आनन्द दिएको छ। सबैलाई मेरो टिम भनेर गर्व गर्ने वातावरण सिर्जना भएको छ। विभिन्न लिग र कर्पोरेट क्षेत्रसँगको सम्झौता भइरहेका छन्।
खेलाडीको तलब लाख, दुई लाख वा तीन लाख हुन सक्ला। तर रकमभन्दा पनि निरन्तरताको कुरा हो। आज एक लाख दियो भने अर्को वर्ष त्यो भन्दा बढी दिन सक्ने अवस्था हुनुपर्छ। आज एक लाख दियो भोलि पचास हजारमा झर्यो भने राम्रो हुन्न। रकमभन्दा पनि कम्तीमा केन्द्रमा खेलाडी व्यवस्थित हुने अवस्था आएको छ। हामी खेलाडी तलब बढाउने क्रममै छौं। सबैभन्दा ठूलो कुरा केन्द्रीय सम्झौतामा रहेका खेलाडी हुन्। उनीहरूको प्रदर्शनको आधारमा नेपालको एकदिवसीय मान्यता र नतिजा आउने हो। महिला र पुरूष दुवै राष्ट्रिय टिमलाई पहिलो प्राथमिकतामा राख्छौं।
यसअघि खेलाडीले आफ्नो सुविधाका लागि आवाज उठाएकै कारण कारबाही समेत भोग्न पर्यो। अब खेलाडीले आफ्नो सुविधाका लागि आवाज उठाउँदा कारबाही भोग्न पर्ने अवस्थामा आउँछ कि आउँदैन?
आफ्नो अधिकारका लागि आवाज उठाउने अधिकार खेलाडीलाई छ। नेपाल क्रिकेट संघ खेलाडीलाई व्यवस्थापन गर्ने निकाय हो। हरेक खेलाडीलाई प्रश्न गर्न सक्ने मञ्च छ।
कारबाहीको कुरा अनुशासनमा जोडिन्छ। अनुशासन सबैलाई लागू हुनुपर्यो। खेलाडीलाई मात्र लागू हुनु भएन। अनुशासन खेलाडी र प्रशिक्षकलाई मात्र लगाइन्छ भने त्यो तानाशाही प्रवृत्ति भयो।
नेपाल क्रिकेट संघले त्यसरी अघि बढ्ने मानसिकता देखाएको छैन। नेपाल क्रिकेटसँग जोडिएको व्यक्तिलाई प्रश्न गर्ने अधिकार छ। त्यसमा छलफल गरेर समाधान निकाल्न हामी लाग्नु पर्छ। सार्वजनिक संस्थामा बसेपछि जवाफदेही हुनुपर्छ। पूर्वकप्तान र क्यानको सचिव भएको नाताले नेपाल क्रिकेटसँग जति पनि जोडिएका कुरामा म जवाफदेही हुनुपर्छ। हामीले धेरै कुरा समन्वय गरेर अघि बढेका छौं। तर पुरानो संस्कारले के देखाइरहको छ भने कतिपय कुराहरू आन्तरिक रूपमा गर्दा पनि मिडिया सार्वजनिक गर्ने देखिएको छ। सूचना फैलाएर भ्रम सिर्जना र बदनाम गर्ने प्रवृत्ति पनि छ।
संस्थागत रूपमा राम्रो गर्न लागिरहेको छु। मेरो कुरा गर्नुहुन्छ भने क्रिकेटले मलाई दिएको परिचयलाई बेचेर र धोका दिएर वा बदनाम गरेर अघि बढ्नेवाला पनि छैन। मेरो एउटा मात्र उद्देश्य व्यवस्थापन राम्रो बनाउन हो।
क्यान कार्यसमितिमा कतिपय सदस्यले तपाईंको काम गर्ने शैलीको प्रश्न उठाएका छन्। तपाईंको काम गर्ने शैली नमिलेको कि उहाँहरूले तपाईंको शैली नबुझेको?
यसअघि पनि विभिन्न व्यक्तिले सचिव पदमा काम गरेका थिए। त्यतिबेला काम गर्दा कतिपय कुरा चित्त नबुझेको होला। तर व्यक्तिगत रूपमा अध्यक्ष, कोषाध्यक्ष र म गरी तीन पदाधिकारी बसेर नेपाली क्रिकेटलाई अघि बढाउन विधानअनुसार काम गर्ने वातावरण बनाएका छौं।
यसअघिको कार्यसमितिले गरेका निर्णयहरू, जस्तै भेन्डरसँगको सम्झौता, खेलाडीलाई दिने सुविधा या अरू क्रिकेटसँग जोडिएका मानिससँग समन्वय गर्दा पहिलाको भन्दा कम पैसा दिने गरी सम्झौता गरेका छौं। क्याटरिङ, टेन्ट लगायतका कुरामा खर्च पहिलाभन्दा घटाएका छौं।
हामीले मार्केटबाट उठाएको पैसा सिधै क्रिकेट संघमा आइरहेको छ। त्यो पैसा क्रिकेट संघमा आउँदा कुनै व्यक्ति वा संगठनमा जोडिएका मान्छेलाई चित्त बुझ्दैन भने त्यसमा मलाई केही भन्नु छैन। त्यो पैसा मैले आफू कमिसन खानतर्फ लागेको भए प्रश्न गर्न स्वाभाविक हो। म लगायतको टिमले क्रिकेट संघलाई आर्थिक हिसाबले बलियो बनाउनु पर्छ भनेर क्रिकेटको राम्रोको लागि निर्णयहरू गरेका छौं। हामीले नियम र कानुनविपरीत कुनै काम गरेका छैनौं।
म नेपाल क्रिकेट संघमा नाम कमाउन आएको होइन। क्रिकेट संघभन्दा बाहिर बस्छु भने मलाई धेरै सजिलो छ। मैले यो सबै संघर्षलाई आफैंले स्वीकार गरेर नेपाल क्रिकेट संघ व्यवस्थित गर्नुपर्छ भनेर सबैलाई समेटेर अघि बढ्न लागेको छु।
चुनौती एक ठाउँमा छ। पारदर्शिता पनि हुनुपर्छ। क्रिकेट संघको हरेक गतिविधि सार्वजनिक मञ्चमा राखिदिऔं भन्ने कुरामा सहमत छु। किनभने यो सार्वजनिक संस्था हो। सबै कुरा पारदर्शी हिसाबले भएको सबैलाई अनुभूति गराउने जिम्मा मेरो हो। हामी पारदर्शिताको पनि बाटो खोल्दैछौं।
यो संस्थामा सबै खालका मानिस छन्। कतिपयलाई काम गरेको शैली मन नपरेको हुन सक्छ। तर मेरो वा उसको शैलीभन्दा पनि क्रिकेटको राम्रोको लागि लागिरहेका छौं।
अदालतबाट बलात्कारी ठहर भएपछि सन्दीप लामिछानेको विषयलाई लिएर क्यानको बोर्ड एकमत हुन सकेन। बोर्ड सदस्यले फरक धारणा समेत सार्वजनिक गरे। यौन हिंसा जस्तो गम्भीर मुद्दामा क्यान जस्तो प्रशासनिक निकाय किन गम्भीर हुन नसकेको?
कुनै काम हुन्छ भने मैले नै गरे भन्ने जुन मानसिकता छ, त्यो अन्त्य गर्नुपर्छ। मेरो कार्यकालमा यस्तो भएको छ भन्ने कुरा कामले देखाउन पर्यो। पदमा बसेपछि जवाफदेही हुनुपर्छ। जस अपजस त तपाईंले पाउनुहुन्छ। तर मैले गरेँ, मेरो पालामा यस्तो भएको छ भन्नु मूर्खता हो। अहिले आएर मैले नेपाली टिमलाई विश्वकप २०२४ को टी-२० मा पुर्याए भन्नु पनि मूर्खता हो।
कुनै पनि संस्थाको विश्वसनीयता हुनुपर्छ। बोर्ड सदस्यको बोली, बचन र काम गर्ने शैलीबाट विश्वसनीयता प्रष्ट देखिन्छ। यहाँ सस्तो लोकप्रियताका लागि मानिसहरू जे पनि भन्ने भए। बोर्ड सदस्यको नाताले कुनै सदस्यले सार्वजनिक मञ्चमा फरक विचार राखेमा संस्थाले जवाफ माग्न सक्छ। तर संस्थाले कुनै निर्णय गर्छ भने राम्रो-नराम्रो पक्षलाई भन्नु पर्छ।
सन्दीपको केसमा नेपाल क्रिकेट संघको यसअघिको कार्यसमितिले शून्य सहनशीलताभन्दा पनि माथि उठेर खेल्ने वातावरण नै खडा गरेको थियो। तर आज नेपालको कानुनअनुसार अदातलले ठहर गरेपछि त्यो हामीभन्दा माथिल्लो तहको कुरा भयो। क्यान नेपालको कानुनअनुसार नै चल्ने हो।
मलाई पनि सन्दीपको केस लिएर कति नराम्रो कुरामा जोडेका छन्। सन्दीप र मेरो सन्बन्धको विषयमा संसारलाई भन्न जरूरी पनि छैन। सानो उमेरदेखि उसले क्रिकेट सुरू गरेको यात्राको हामीबीचको आत्मीयता के छ भन्ने कुरा संसारलाई देखाउनु जरूरी पनि छैन।
मान्छे कतिबेला गलत हुन्छ भने जतिबेला आफूलाई प्रमाणित गर्दै हिँड्न थाल्छ। संस्थागत रूपमा हामीले गरेका कुरा कामबाट देखिन्छ। यदि त्यो काम मैले नै गरेको भन्छ भने त्यो समयले नै मूल्यांकन गर्छ।
क्यानको महाप्रबन्धक नियुक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। कतिपयले आफ्नो मान्छेलाई पारसले नियुक्त दिनुभयो भनेर गम्भीर आरोप समेत लगाएका छन्? यो विषयमा प्रष्ट पारिदिनुस्।
अहिले मानिसहरूलाई विवाद चाहिएको छ। चार महिनामा पारस खड्का आए सँगसँगै राम्रो काम भएको होइन। नयाँ कार्यसमिति आएर त्यसको समर्थनमा कामहरू भइरहेको हो। जस मैले आफैंले लिनु पनि उचित छैन। जस नेपाल क्रिकेट संघले पाउँदै गर्दा मानिसहरू कुरा मोडेर गल्ती खोज्न लाग्नु भएको छ।
योभन्दा अघि नियुक्त भएका दुई महाप्रबन्धक कसरी नियुक्ति कसरी भए भन्ने कसैलाई थाहा पनि थिएन, कसैलाई चासो पनि थिएन।
आइसिसीसँग समन्वय गरेर नयाँ कार्यसमिति आएको र नयाँ नीतिअनुसार नयाँ सूचना निकालेर नियुक्ति गरेका हौं। ६८ जनाको सिभी लिएर त्यहाँबाट १४ जना छनोट गर्यौं। १४ जनाको लिखित परीक्षा लिएर ७ जनालाई अन्तर्वार्ता लिएका हौं। अध्यक्षको संयोजनमा समिति गठन गरेर महाप्रबन्धक नियुक्त गरेका हौं। हामीले सबै प्रक्रिया पूरा गरेका छौं।
तर यहाँ पारसले महाप्रबन्धक ल्यायो भनियो। कुनै पनि व्यक्ति क्रिकेटमा लागेपछि संघसस्थामा सँगसँगै काम गरेको हुन्छ। ७-८ महिना अघि उहाँले जागिर छाड्नु भएको थियो बलियो नेपालमा। त्यहाँ बलियो नेपालका प्रतिस्पर्धी पनि थिए। बलियो नेपाल पनि क्रिकेटमा काम गरेको संस्था हो।
हामीले सबै मापदण्ड पूरा गरेको व्यक्तिलाई छनोट गरेका हौं। छनोट समितिमा अध्यक्ष, कोषाध्यक्ष र मसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलले प्रक्रियाअनुसार छनोट गरेका हौं।
जो छनोट हुन सक्नु भएन उहाँले आफ्नो कमजोर लुकाउन वा दुई चार जनाले क्रिकेट संघलाई असफल बनाउनु पर्छ भनेर उचालेर यो मुद्दा बराम्बार उठाइरहेको भन्ने लाग्छ।
नेपाल क्रिकेट संघमा अबका चुनौती कस्ता छन्?
ऋण चुक्ता गर्ने विषय पहिलो प्राथमिकतामा छ। अध्यक्ष, कोषाध्यक्ष र मेरो चेकमा साइन चल्ने भएकाले हामी ऋण चुक्ता गर्ने विषयमा छलफल गरिरहेका छौं। क्रिकेट संघ इतिहासमा पहिलो पटक ऋणमुक्त हुँदैछ। आर्थिक रूपमा हामी बलियो भएपछि हामीले काम गर्ने भनेको जिल्ला र प्रदेशमा हो। जिल्ला र क्रिकेट जहिलेसम्म बलियो हुँदैन नेपाल क्रिकेट अघि बढ्यो भनेर कसैले क्रेडिट नलिए हुन्छ।
म चुनौती लिनका लागि नेपाल क्रिकेट संघमा आएको हुँ। नत्र भने प्रशिक्षक वा मास्टर्स सकेको कारणले महाप्रबन्धक पनि सक्थेँ।
व्यक्तिगत रूपमा नेपाल क्रिकेटले मलाई एउटा परिचय दिएको छ। जहिले पनि नेपाली क्रिकेटलाई केही गर्नुपर्छ माथि लैजानु पर्छ भन्ने सोच विचारका साथ अघि बढिरहेको छु। अबको पाँच छ महिनामा जिल्ला र प्रदेशका पदाधिकारी जोड्ने काम सकिन्छ होला।
अहिले एकदमै राम्रो प्रतिक्रिया आइरहेका छन्। यसमै खुसी भएर बस्ने अवस्था पनि छैन। यसअघि नै राम्रो अवस्था भए अहिले म क्रिकेट खेलिरहेको पनि हुन्थेँ होला। त्यसैले क्रिकेट छाडेर क्रिकेट व्यवस्थापनमै केही गरूँ भनेर आएको हुँ।
अब समन्वय गर्दै जिल्ला प्रदेशलाई अघि बढ्दै अघि बढ्ने अवस्था छ।
काम गर्ने मान्छेको नै आलोचना हुन्छ। काम गरेअनुसारकै आलोचना हुन्छ भने त्यसको जवाफ दिन जतिबेला जहाँ पनि तयार छु।
तर जवाफ मैले मात्र दिएर हुँदैन। नेपाल क्रिकेट संघसँग सबैसँग जोडिएको व्यक्तिले दिनुपर्छ। ममाथि प्रश्न उठ्छ। जिल्लादेखि प्रदेशका साथीहरू पनि जवाफदेही हुनुपर्छ। यसमा जिम्मेवारी बराबरी हुनुपर्छ। क्रिकेट एउटा व्यक्तिले मात्र अघि बढाउन सक्दैन। पारस खड्का नेपाली क्रिकेटको एउटा सानो अंग हो। पारस सँगसँगै सबैजना मिलेर नेपाली क्रिकेट अघि बढाउनु पर्ने अवस्था छ। हामी ठाउँमा भएको बेला काम गर्ने हो। त्यो कामको मूल्यांकन हुनुपर्यो न कि व्यक्तिको। अबको एक डेढ वर्षमा क्रिकेट संघको काम गरेको बापतको वाहवाही होस् भन्ने सोचका साथ अघि बढिरहेका छौं।
नेपाल कहिलेसम्म टेस्ट राष्ट्र बन्न सक्छ? यसका लागि क्यानको कार्ययोजना के छ?
कहिले बन्छ भन्ने ठ्याक्कै समयरेखा छैन। एसियाली क्रिकेट काउन्सिलका सिइओले टेस्न नेशन बन्नका लागि टेस्ट नै खेल्नुपर्छ भन्ने हुँदैन भन्दै हुनुहुन्थ्यो। देशभित्रको क्रिकेटिङ वातावरण र संरचनालाई राम्रो बनाउन सक्नुपर्छ। अफगानिस्तान र आयरल्यान्डले एसोसिएट स्तरमा पहिलो, दोस्रो हुँदै एसोसिएट क्रिकेट डोमिनेट गरेका हुन्। हामीले एसोसिएट क्रिकेटमा निरन्तर प्रभुत्व जमाउन सक्यौं भने अनि व्यवस्थापन राम्रो गर्न सक्यौं भने टेस्ट मान्यता चाँडै पनि पाउन सक्छौं।
आइसिसीको नीतिमा कहिले टेस्ट मान्यता दिने भन्ने स्पष्ट स्वरूप आइसकेको छैन। अहिलेका लागि हाम्रो प्राथमिकता भने क्रिकेटलाई व्यवस्थित बनाउन सबैजना लाग्नुपर्छ भन्ने हो। यसमा सबैको उतिकै जोश जाँगर चाहिन्छ। हामी जित-हारभन्दा माथि उठेर जिल्ला र प्रदेश तथा पूर्वाधार राम्रो बनाउन पर्छ भन्नेतर्फ लाग्नुपर्छ। राम्रो टिमलाई नेपालमा बोलाएर र राष्ट्रिय टिमलाई बनाउन सक्यौं भने टेस्ट मान्यता टाढा छैन।