सन् २०१३ को नोभेम्बरमा युएईमा भएको आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले ऐतिहासिक प्रदर्शन गर्यो। सन् २०१३ को २७ नोभेम्बरमा भएको क्वार्टरफाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान पक्का गरेको थियो।
देशलाई पहिलोपटक विश्वकपमा पुर्याएर खेलाडीलाई स्वागत गर्न समर्थकको भीड त्रिभुवन विमानस्थलामा ओर्लिएको थियो। हजारौं क्रिकेट क्रेजी फ्यानको भीडमा एक थिए- गुल्मीका विनोद कुँवर।
खेलाडीलाई मिनिट्रकमा राखेर नगरपरिक्रमा गराउँदा अघिअघि हिँडेको क्षण कुँवरको स्मृतिमा अझै ताजा छ।
क्रेजी फ्यानको रूपमा दिनभर नेपाली क्रिकेटर चढेको मिनिट्रकलाई ‘स्कर्टिङ’ गर्दै काठमाडौंमा पैदल यात्रा गर्ने उनै कुँवरले ११ वर्षमा आफ्नै लगानीमा क्रिकेट रंगशाला निर्माण गर्न सफल भएका छन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिका-१७ मा निर्णाण सुरू गरेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पहिलो चरणको कामको रूपमा मैदान निर्माण सम्पन्न भएको छ।
२५ हजार दर्शक अटाउने रंगशालाको पहिलो चरणको कामको रूपमा नौ महिनाअघि मैदान निर्माण थालिएको थियो। नौ महिनामा ६ करोड ५० लाख रूपैयाँ बढी खर्चमा मैदान निर्माण सकिएपछि सोमबार उद्घाटन गरिएको थियो।
उद्घाटनमा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको टिम १९९६ लिजेण्ड्स, सन् २०१४ मा विश्वकप खेलेको टिम २०१४ विश्वकप लिजेण्ड्स, नेपाली क्रिकेटका लागि योगदान दिएका क्रिकेटरको टिम रेस्ट अफ नेपाल र रूपन्देहीका क्रिकेटको टिम रूपन्देही लेजेण्ड्सबीच टी-१० फर्म्याटमा खेल सञ्चालन गर्दै मैदानको उद्घाटन गरिएको थियो।
चार टिमका खेलाडी उपस्थित हुँदा सोमबार मैदानमा पुराना क्रिकेटरको भेला जस्तै भएको थियो। अझ स्थानीय बासिन्दाको बाक्लो उपस्थितले मैदानमा क्रिकेटको मेला नै लाग्यो।
निजी लगानीमा क्रिकेट मैदान निर्माण सकेका कुँवरले आफू क्रिकेट फ्यान भएदेखि नै नेपालमा पूर्वाधरको कमी भएको महसुस गर्ने गरेको बताए।
‘सन् २०१३ मा नेपाल विश्वकप छनोट भएको बेला हामी खेलाडीलाई स्कर्टिङ गर्दै गाडी अघि पछि हिँड्थ्यौं,’ उनले भने, ‘त्यतिबेला नै नेपालमा पूर्वाधारको कमी छ भन्ने लाग्थ्यो। बिस्तारै बन्दै जाला भन्ने पनि लागेको थियो। तर एक दशकसम्म पनि बन्न नसकेपछि एउटा फ्यानको रूपमा मैले पनि बनाउनु पर्छ अठोट बोकेर काम गरेको हुँ।’
विनोद सन् २०१४ मा पढाइको सिलसिलामा अस्ट्रेलिया गएका थिए। सुरूमा क्लिनिङ र हाउस किपिङको काम गरेका उनले त्यसपछि भने आफ्नै व्यवसाय सुरू गरे।
एक्स्ट्राटेक नामक आइटी कम्पनी खोलेसँगै उनले व्यावसायिक फड्को मान्न सफल भए। उनको कम्पनीले आइटी इन्जिनियरलाई तालिम दिने लगायतका काम गर्छ।
व्यवसायमा सफल भएपछि क्रिकेट मैदान निर्माण गर्ने योजना बनाउन थालेको उनी बताउँछन्।
‘परिवारलाई सपोर्ट गर्दै केही हजार डलर बच्न थालेपछि मैदान बनाउन सोच्न थालेको हुँ,’ कुँवरले भने।
सन् २०१९ मा उनी न्युजिल्यान्ड गएका थिए। त्यहाँको एउटा मैदानमा न्युजिल्यान्ड र श्रीलंकाको टेस्ट खेल भइरहेको थियो। मैदान एकदमै राम्रो थियो। वरिपरिको चउरमा बस्न मिल्ने ठाउँ थियो। राम्रो चेन्जिङ रूम र फ्लड लाइट थियो। यो दृष्यले कुँवरलाई नेपालमा पनि त्यस्तै खालको क्रिकेट मैदान बनाउन थप ऊर्जा दियो।
उनी जग्गाको बन्दोबस्त गर्दै नेपालमै क्रिकेट मैदान निर्माण गर्ने योजना बनाउन थाले।
‘सुरूमा मैदान र खेलाडीलाई चाहिने चेन्जिङ रूम राम्रो बनाउनु पर्छ भन्ने लाग्यो,’ कुँवरले भने, ‘नेपालमा मैदान बनाउन प्रेरणा दिने न्युजिल्यान्डका मैदान हुन्। त्यही मोडलमा नेपालमा पहिला मैदान र पछि रंगशाला बनाउन थालिएको छ।’
नौ महिनामै निर्माण सम्पन्न गर्नका लागि अस्ट्रेलियामा सिकेको कुराले सहयोग गरेको उनी बताउँछन्।
नेपालमा एक सिफ्टमा मात्र काम गर्ने प्रचलनले ढिलाइ भएको उनको अनुभव छ।
‘हामीले तीन सिफ्टसम्म काम गरेका कारणले छिट्टै मैदान बनाउन सफल भएका हौं,’ उनले भने।
सुरूमा मैदान सम्याएपछि पिच निर्माण गरिएको थियो। आर्थिक पाटो हेरेका विनोदले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई ब्रान्ड एम्बास्डर बनाएर मैदानको निर्माणको सम्पूर्ण जिम्मेवारी सुम्पिएका थिए।
रंगशाला निर्माणलाई उनले खेलकुद व्यवसायसँग पनि जोडेका छन्।
‘नेपालमा अहिलेसम्म क्रिकेटिङ बिजनेस सुरू भएको छैन। मैले नेपालमा क्रिकेटिङ बिजनेस भित्र्याउन खोजेको हो। अस्ट्रेलिया र भारतमा एउटा मैदान र एकेडेमीले धेरै व्यापार गर्छ,’ उनले भने, ‘क्रिकेटिङ बिजनेसको बरेमा मैले धेरै अनुसन्धान समेत गरेँ। मैदान निर्माण च्यारिटीभन्दा पनि बिजनेस हो।’
यद्यपि नेपालमा पूर्वाधारको कमी भइरहेको बेला उनले व्यापारलाई अहिले दोस्रो प्राथमिकतामा राखेका छन्।
‘यो मैदान पहिलो देशका लागि निर्माण गरेको हुँ,’ उनले भने, ‘त्यसपछि मात्र लगानीको रूपमा लिएको छु। अर्कोतर्फ क्रिकेटबाहेक अरू खेलमा लगानी गर्न चाहनेका लागि प्रोत्साहन मिलोस् भन्ने मेरो सोच छ।’
निर्माणाधीन रंगशालाको अहिले कुल क्षेत्रफल साढे ५ बिगाहा छ। अहिले भिआइपी भवन र खेलाडीको लागि चेन्जिङ रूम निर्माण लागि काम थालिएको छ। मैदानमा छिट्टै डिजिटल स्क्रिन पनि राखिनेछ।
भवनसँगै आगामी माघसम्ममा २ हजार दर्शक अट्ने प्यारापिट निर्माण हुने कुँवरले बताए।
‘फ्लड लाइट हालेर र २५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने मुख्य योजना हो,’ उनले भने, ‘अहिलेलाई भने १० हजार दर्शक अट्ने प्यारापिट र फ्लड लाइड निर्माण साढे एक वर्षमा पूरा गर्ने लक्ष्य लिएका छौं। त्यसपछि दर्शकको माग बढ्यो भने २५ हजारसम्मको प्यारापिट बनाउँछौं।’
मैदानमा निर्माणका लागि ६ करोड ५० लाख रूपैयाँ बढी खर्च भएको छ। जग्गाबाहेक रंगशालाको कुल लगानी ४० देखि ४५ करोड रूपैयाँ छ।
उनले १० वर्षसम्ममा रंगशालाबाट लगानी उठाउने लक्ष्य लिएका छन्। लगानी उठाउनका लागि रंगशालामा खेल गराउनेदेखि एकेडेमी सञ्चालन गर्ने विभिन्न योजना बनाउँदैछन्।
फोटो/भिडिओ: नवीनबाबु गुरूङ/सेतोपाटी