कैलाली प्रिमियर लिगकाे उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ।
डडेल्धुराकै छिमेकी स्थानीय तह रहेको परशुराम नगरपालिकालाई एक विकेटले उपाधि आफ्नो पाेल्टामा पार्न सफल भएको हाे।
परशुराम नगरपालिकाले दिएको १०८ रनकाे लक्ष्य आलिताल गाउँपालिकाले १९ ओभरमा नाै विकेट गुमाउँदै लक्ष्य भेटायाे।
कैलाली जिल्ला किक्रेट संघकाे आयाेजनालगायत विभिन्न संघसंस्थाकाे सहयाेगमा भएको अन्तरपालिका टि-ट्वान्टी किक्रेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका ११ टिमको सहभागिता रहेकाे थियाे।
यी टिममा राष्ट्रियस्तर खेलाडी पनि सहभागी थिए।
उपाधिसँगै आलिताल गाउँपालिकाले दुई लाख रुपैयाँसहित ट्रफी तथा मेडल प्रमाणपत्र प्राप्त गरेकाे छ।
प्रदर्शन गरेकाले आफ्नो टिमले जित हात पारेकाे र प्रतिस्पर्धी टिम परशुरामले पनि राम्रो प्रदर्शन गर्दा खेल थप रमाञ्चक बनेकाे आलितालका खेलाडी सागर साउदले बताए।
आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले आगामी दिनमा खेलाडी उत्पादनमा गाउँपालिकाले थप सहयाेग गर्ने बताए।
यस्तै पालिका स्तरिय प्रतियोगितामा उपविजेता बनेकाे परशुराम नगरपालिकाले १ लाख नगद ट्रफी र मेडल प्रमाणपत्र प्राप्त गरेकाे छ।
फाइनल खेलकाे पिलियर अफ द म्याच आलिताल गाउँपालिकाका हिक्मत महरा बने। उनले १ हजार पाँच सय हात पारे।
परशुरामले आफ्नो आधिकारिक टिमनै बनाएर पहिलो पटक धनगढीमा सहभागी बनेर प्रदेशका विभिन्न पालिकासँग प्रतिस्पर्धा गरेकाे हाे। किक्रेट खेलाडी उत्पादन गरेर राष्ट्रियस्तर सम्म पुर्याउन र प्रदेश, जिल्ला, पालिकास्तरका प्रतियोगितामा खेलाडीलाई आफ्नो प्रदर्शन देखाउनका लागि सहयाेग गर्न परशुराम नगरपालिकाले आफ्नो टिम बनाएको छ।
प्रदेशका ८८ स्थानीय तहमध्ये पहिलो पटक आफ्नो किक्रेट टिम आधिकारिक रूपमा बनाएर विभिन्न प्रतियोगितामा सहभागी जनाउने परशुराम पहिलो बनेकाे छ। प्रशिक्षणनै राखेर क्याम्पमा अभ्यास गराउने लगायत काम परशुराम नगरले आफ्नाे टिमलाई गरिरहेकाे छ।
कैलाली प्रिमियर लिगकाे प्रतियोगितामा उत्कृष्ट बलर परशुराम नगरपालिकाका कृष्ण विष्ट घाेषित भए।उनले नगद १० हजार प्राप्त गरे। यस्तै उत्कृष्ट ब्याटर परशुरामकै राज बिश्वकर्मा बने। उनले पनि नगद १० हजार हात पारे। यस्तै प्रतियोगिताकाे महत्त्वपूर्ण विधा पिलेयर अफ दि टुर्नामेन्ट आलिताल गाउँपालिकाका टिम कप्तान समेत रहेका दिलबहादुर बाेहरा घाेषित भए। उनले नगद २० हजार प्राप्त गरे।
प्रतियाेगिताका उदीयमान खेलाडीकाे पुरस्कार परशुरामका अर्जुन विकले प्राप्त गरे।
प्रतियोगिताकाे समापन समाराेहमा सम्बोधन गर्दै नेपाल किक्रेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा याे किसिमको प्रतियोगिता अझै उत्कृष्ट गर्न आयाेजकलाई सल्लाह दिए। किक्रेट महंगाे खेल भए पनि हर तप्काबाट प्रतियाेगिता आयाेजना गर्ने सबै सहयाेगी संस्थालाई उनले धन्यवाद दिए।
उनले सुदूपश्चिमबाट राष्ट्रिय टिममा उल्लेख मात्रामा खेलाडीको सहभागिता रहेको बताए।