आइपिएल २०२४ अन्तर्गत शनिबार लखनउ सुपर जायन्ट र पञ्जाव किंग्सबीचको खेलमा मयंक यादवले सिजनकै तीव्र गतिमा बलिङ गर्दै सबैको ध्याँन खिँचेका छन्।
आइपिएलको डेब्यू खेलमै ध्याँन खिँचेका उनले महत्वपूर्ण तीन विकेट लिएपछि लखनउले २१ रनको जित समेत निकाल्यो।
लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पञ्जावको ओपनिङ जोडी शिखर धवन र जोनी बेयरस्टोले १०२ रनको साझेदारी गरेका थिए।
त्यसपछि बलिङमा आएका २१ वर्षीय युवा बलर मंयकले पञ्जाबको रनको गति आफ्नो तीव्र गतिको बलिङले रोकेका थिए।
यस अवधिमा मयंकले १५५.८ किलोमिटर प्रतिघन्टाको रफ्तारमा बलिङ गर्दै पञ्जावका ब्याटरलाई दबाबमा राखेका थिए। यससँगै उनी यो सिजनको सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने बलर बने। यसअघि आन्द्रे बर्गरले १५३ किलोमिटर प्रतिघन्टाको रफ्तारमा बलिङ गरेका थिए।
मयंकले खेलमा लगातार १५० किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए।
उनले खेलमा जोनी बेयरस्टोलाई ४२ रनमा , प्रभसिमरन सिंहलाई १९ रन र जितेश शर्मालाई ६ रनमा आउट गर्दै आफ्नो आइपिएल डेब्यू यादगार मात्र बनाएनन्, पञ्जावको पकडबाट खेल पनि आफ्नो टिमतर्फ मोडेका थिए। उनले चार ओभरमा २७ रन मात्र दिए। जसमा उनले १२ बल डट फ्याँकेका थिए।
दिल्लीमा जन्मिएका मयंकले १४ वर्षको उमेरमा सोनेट क्लबमा भर्ना भएर क्रिकेट सिक्न थालेका थिए। १९ वर्षको उमेरमा उनी २०२२ मा लखउनमा आबद्ध भएका थिए। त्यतिबेला उनले २ वटा मात्र लिस्ट एका खेल खेले पनि लखउनले उनलाई टिममा २० लाख भारूमा भित्र्याएको थियो। पहिलो सिजन उनले खेल्न पाएनन्। दोस्रो सिजन उनले चोटका कारण गुमाए।
२०२४ को सिजनमा आइपिएलमा डेब्यू गर्नुअघि उनले देवधर ट्रफीमा राहुल त्रिपाठीविरुद्ध बलिङ गर्दा मिडल स्टप ढालेर चर्चा कमाएका थिए।
उनले आइपिएल डेब्यू खेलमै प्लेयर अफ द म्याचको अवार्ड समेत जिते।
खेलपछि पञ्जावका ब्याटर शिखर धवनले मयंकले आफ्नो बलिङ गतिले चकित बनाएको स्वीकार गरेका थिए।