इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ।
गएराति विशाखापटनमा दिल्लीले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो।
दिल्लीले लगातार दुई हारपछि पहिलो जित निकालेको हो भने चेन्नई लगातार दुई जितपछि पहिलो पटक पराजित भएको हो।
१९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले ६ विकेट गुमाएर १७१ रनमात्रै बनाउन सक्यो।
चेन्नईका महेन्द्रसिंह धोनी पनि ब्याटिङमा देखिए। अघिल्लो दुई खेलमा ब्याटिङमा धोनीको पालो नै नआई चेन्नई विजयी भएको थियो।
गएराति भने धोनीको ब्याटिङका बाबजुद चेन्नई पराजित भएको छ। १७ औं ओभरमा धोनी ब्याटिङमा आउँदा चेन्नईले १२० रन मात्रै बनाएको थियो।
त्यसपछि धोनीले १६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ३७ रन बनाएर नट आउट रहे। रवीन्द्र जडेजा १७ बलमा २१ रन बनाएर नट आउट रहे।
कप्तान तथा ओपनर रुतुराज गायकवाड १ र अर्का ओपनर रचिन रवीन्द्र २ रन बनाएरु आउट भएपछि चेन्नई दबाबमा परेको थियो।
त्यसपछि अजिंक्य रहाणे र ड्यारिल मिचेलले टिमलाई लयमा ल्याए। रहाणलेले ४५ रन बनाउँदा मिचेलले ३४ रनको योगदान गरे। समीर रिज्वी शून्य रनमै आउट हुन पुगे।शिबम दुबेले १८ रन बनाए।
बलिङतर्फ मुकेश कुमारले ३, खलिल अहमदले २ र अक्षर पटेलले १ विकेट लिए।
डेविड वार्नर र कप्तान रिशभ पन्तले अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको दिल्लीले १९१ रनको योगफल तयार पारेको थियो।
खेलमा पृथ्वी शले ४३ र मिचेल मार्शले १८ रन बनाए।
बलिङमा चेन्नईका मथिशा पाथिरनाले ३ तथा रवीन्द्र जडेजा र मुस्तफिजुर रहमानले एक/एक विकेट लिए।