आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ।
बुधबार टस जितेको गुजरातले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८१ रन जोडेको हो।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। दुईबीच १२५ रनको साझेदारी भयो। कुशलले ६७ रन र आसिफले ८५ रन जोडे।
तर त्यसपछिका ब्याटर भने लगाातार आउट हुँदा नेपालले अन्तिममा सोचे जस्तो रन प्रहार गर्न सकेन।
यसअघि नेपालले सुरुवाती दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले मंगलबार बरोडालाई २७ रनले पराजित गरेको थियो।
गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ।
एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ।
टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।