जारी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो ठूलो स्कोर बनेको छ।
गएराति दिल्ली क्यापिटल्सविरूद्ध कोलकाता नाइट राइडर्सले २७२ रन बनाएको हो। उक्त स्कोर आइपिएल इतिहासकै दोस्रो ठूलो योगफल हो।
२७२ रनको योगफल तयार पार्न सुनिल नारायणले ८५ रन बनाए। उनले ३९ बलमा ७ चौका र ७ छक्का प्रहार गरे।
त्यस्तै अंक्रिश रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ५४ रन बनाए।
खेलमा आन्द्रे रसेलले ४१, रिंकु सिंहले २६, कप्तान श्रीयास ऐयरले १८ र फिल साल्टले १८ रनको योगदान गरे।
सर्वाधिक योगफल पनि जारी सिजनमै बनेको थियो।
चैत १४ मा सनराइजर्स हैदरावादले मुम्बइ इन्डियन्सविरूद्ध ३ विकेटको क्षतिमा २७७ रन जोडेको थियो।
त्यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पुने वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा जोडेको २६३ रन आइपिएलको सर्वाधिक स्कोर थियो।
गएरातिको खेलमा दिल्ली १०६ रनले पराजित भएको थियो।
२७३ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.२ओभरमा अल आउट हुनुअघि १६६ रनमात्रै बनायो।
दिल्लीका कप्तान रिशभ पन्त र त्रिस्टन स्टुब्सले अर्धशतक बनाए। पन्तले १५ बलमा ४ चौका र ५ छक्का प्रहार गरी ५५ रन बनाए भने स्टुब्सले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रन जोडे।
डेविड वार्नर १८, पृथ्वी श १० रन बनाएर आउट हुँदा मिचेल मार्श र अभिशेक पोरेल शून्य रनमै आउट भए।
दिल्लीलाई १८ औं ओभरमा अलआउट गर्न कोलकाताका वैभव अरोरा र वरून चक्रवर्थीले ३/३ विकेट लिए। मिचेल स्टार्कले दुइ विकेट तथा आन्द्रे रसेल र सुनिल नारायणले एक/एक विकेट लिए।