नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वुल्भ्सविरूद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तिम खेलअघि नै गुमाएको छ।
लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले शुक्रबार ११४ रनको हार बेहोर्यो।
आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ६० रनमै अलआउट भयो।
लगातार विकेट गुमाएको नेपालका लागि भीम सार्कीले १७ रन र कप्तान विनोद भण्डारीले १६ रन जोड्दा बाँकी ९ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। ओनपर देव खनालसहित पाँच ब्याटरले खाता नै खोल्न सकेनन्।
बलिङमा आयरल्यान्डका म्याथ्यु हाफ्रीले ६ विकेट लिए। उनले ४.५ ओभरमा १ मेडन राख्दा ८ रन मात्र खर्चिए। नेपाली ब्याटरमाथि हाबी भएका उनले अर्जुन साउद, भीम सार्की, आरिफ शेख, रिजन ढकाल, शाहब अलाम र मौसम ढकाललाई आउट गरे।
त्यसअघि त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनायो।
आयरल्याण्डलाई १७४ रनमा अलआउट गर्न रिजन ढकाल र शाहव आलमले तीन/तीन विकेट लिए। मौसम ढकालले दुई र कमल सिंह ऐरीले एक विकेट लिए।
आयरल्याण्डका वुल्भ्सका लागि ग्याभिन हनीले अर्धशतक प्रहार गरे। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
पहिलो खेलमा पनि १५७ रनको लक्ष्य पाएको नेपाल २१ रनले पराजित हुन पुगेको थियो।