तेस्रो एकदिवसीय खेलमा आयरल्यान्ड वुल्भ्सले दिएको २८५ रन पछ्याएर ब्याटिङ गरिरहेको नेपाल ‘ए’ क्रिकेट टिमका ओपनर अर्जुन कुमालले शतक प्रहार गरेका छन्।
उनले ११४ बल खेलेर शतक पूरा गर्ने क्रममा १४ चौका प्रहार गरे। अर्जुनले ‘ए’ क्रिकेट टिमका लागि पहिलो शतक प्रहार गरेका हुन्।
कुमालका ओपनिङ पार्टन अर्जुन साउदले ३६ रन बनाउँदा देव खनालले ११ रन मात्र जोड्न सके। नरेन भट्ट १५ रनमा आउट भए।कप्तान विनोद भण्डारी ४ रनमा आउट भए लगत्तैको अर्को बलमा भीम सार्की डकआउट भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ९ विकेटको क्षतिमा २८४ रन बनायो।
आयरल्यान्डका लागि ओपनर स्टेफिन डोहेनीले शतक प्रहार गरे। उनले १०७ रन जोड्ने क्रममा १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै पिटर मूरले ४४ रन बनाए।
बलिङमा नेपालका रिजन ढकालले ३ विकेट लिए। उनले १० ओभरमा ७५ रन दिए। रञ्जित कुमारले पनि ३ विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ५१ रन खर्चिए।
यसअघिका दुवै एकदिवसीय खेलमा पराजित भइसकेको नेपालले सिरिज गुमाइसकेको छ।