तेस्रो एकदिवसीय खेलमा नेपाल 'ए' क्रिकेट टिमलाई ६९ रनले पराजित गर्दै आयरल्यान्ड वुल्भ्सले तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डले दिएको २८५ रन पछ्याएर ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा २१५ रनमा अलआउट भयो।
नेापलका लागि अर्जुन कुमालले शतक प्रहार गरे। उनले १०२ रन जोड्ने क्रममा ११८ बल खेलेर १४ चौका प्रहार गरे। अर्जुनले ‘ए’ क्रिकेट टिमका लागि पहिलो शतक प्रहार गरेका हुन्।
उनी आउट हुँदा नेपालले ६ विकेटको क्षतिमा २०४ रन जोडेको थियो। अर्जुनको विकेटसहित नेपालले ९ बल खेल्दा कुनै रन जोड्न सकेन भने तीन विकेट गुमायो। पछिल्ला चार विकेट गुमाउँदा नेपालले १० रन मात्र जोड्न सक्यो।
अर्जुन आउट भएपछि रुपेश सिंह १५ रन, रिजन ढकाल ०, शाहब अलाम ६ रन र विकास अग्री ३ रनमा आउट भए।
त्यसअघि कुमालका ओपनिङ पार्टन अर्जुन साउदले ३६ रन बनाउँदा देव खनालले ११ रन मात्र जोड्न सके। नरेन भट्ट १५ रनमा आउट भए।कप्तान विनोद भण्डारी ४ रनमा आउट भए लगत्तैको अर्को बलमा भीम सार्की डकआउट भए।
बलिङमा आयरल्यान्डका वेन ह्वाइटले ५ विकेट र गभिन होइले ४ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ९ विकेटको क्षतिमा २८४ रन बनायो।
आयरल्यान्डका लागि ओपनर स्टेफिन डोहेनीले शतक प्रहार गरे। उनले १०७ रन जोड्ने क्रममा १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै पिटर मूरले ४४ रन बनाए।
बलिङमा नेपालका रिजन ढकालले ३ विकेट लिए। उनले १० ओभरमा ७५ रन दिए। रञ्जित कुमारले पनि ३ विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ५१ रन खर्चिए।
सुरुवाती दुई एकदिवसीय खेलमा पराजित भइसकेको नेपालले सिरिज गुमाइसकेको थियो। यसअघि टी-२० सिरिज नेपालले २-१ ले गुमाएको थियो।