आगामी वैशाख ४ गतेदेखि वैशाख १६ गतेसम्म वीर गणेशमान सिंह टी-२० राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ।
वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका टिमले भाग लिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
प्रतियोगिता सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलिने छ। प्रतियोगिताका खेलहरू काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलिनेछ।
प्रतियोगिताको लागि प्रदेशलाई जानकारी गराइसकेको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताए।
उनले प्रदेशलाई प्रधानमन्त्री कपको बेला ३० जना खेलाडी तयारी अवस्थामा राख्न भनेको र त्यहिँ अनुसार खेलाडी छनोट हुने बताए। साथै अहिले प्रदेशले खेलाडी छनोट गर्न चाहेमा सक्नेछन्।
प्रदेशका टिम मात्र हुने प्रतियोगितामा विभागीय टिमका खेलाडीलाई खेल्न छुट दिने उनले बताए।
प्रतियोगितामा नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकास समितिको समेत सहयोग रहेको छ।