१६ वर्षीय मान साउद आउने वैशाखमा हुने क्रिकेट म्याच कुरिरहेका छन्।
यही म्याचले तय गर्ने छ, त्यसपछि उनी क्रिकेट खेल्न राष्ट्रिय टिममा जाने कि भारतको बैंगलुरूमा भाँडा माझ्न!
डडेल्धुराको परशुराम नगरपालिका–६, कटालका मानको सपना भने पनि, विपना भने पनि, खुसी भने पनि, रूचि भने पनि क्रिकेट नै हो। आफ्नो सबथोक भएको क्रिकेट खेल्न पाउने अवस्था भने उनको थिएन। अझै पनि छैन।
गएको वर्ष एसइई दिएपछि उनलाई भारतको बैंगलुरू जानुपर्ने बाध्यता भयो। घर चलाउन आमालाई सघाउनु नै उनको पहिलो जिम्मेवारी हो।
तीन जना छोराछोरीको पालनपोषणको जिम्मेवारी आमाको एक्लो काँधमा छ। खेतीले खानै पुग्दैन। आमाले गाउँघरमा मजदुरी गरेर मान र उनका भाइबहिनी हुर्काउँदै छिन्। मानले एसइई दिएपछि आमालाई सघाउनु पर्यो।
मान र उनकी बहिनीले गत वर्ष एसइई उत्तीर्ण गरे। थप पढाइका लागि पैसा थिएन। परीक्षा सकिएलगत्तै छिमेकी काकाको साथ लागेर मान भारत पसे। काकाले बैंगलुरूको एक होटलमा काम खोजिदिए।
त्यहाँ उनले भाँडा धुने र सरसफाइ गर्ने काम पाए। मासिक १० हजार भारतीय रूपैयाँ पारिश्रमिक पाउने भए। खाना र बास होटलमै हुने भयो।
गाउँमा स्कुल पढ्दा उनी क्रिकेट खेल्थे। बैंगलुरूको होटलमा पनि उनले क्रिकेट खेल्ने साथी भेटे। फुर्सद हुनासाथ क्रिकेट खेल्न जान थाले। त्यही क्रममा एक जना प्रशिक्षकसँग भेट भयो।
क्रिकेट प्रशिक्षक भेट्दा उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। होटलमा एक जना मेनेजर नेपाली नागरिक थिए। मानले आँट गरेर तिनै नेपालीसँग दुई घण्टा क्रिकेट सिक्न जान्छु भनेर अनुमति मागे।
मेनेजरले अनुमति दिए। क्रिकेट प्रशिक्षण केन्द्रमा भर्ना हुने प्रक्रियामा सहयोग गरे। उनको मद्दतले मानको भारतीय आधार कार्ड पनि बन्यो। त्यसपछि मामा र काकासँग आग्रह गरेर २६ हजार रूपैयाँ जम्मा गरे अनि प्रशिक्षण केन्द्रमा भर्ना भए।
क्रिकेटको नियमित अभ्यास सुरू भयो।
मानले होटलमा एकै दिन दुई चरणमा १० घण्टा काम गर्नुपर्थ्यो। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म काम गर्थे। त्यसपछि दुई घण्टा प्रशिक्षण केन्द्रमा क्रिकेट अभ्यास गर्थे। साँझ ७ बजेदेखि राती १२ बजेसम्म फेरि काम गर्थे।
उनी काम गर्ने होटलमा खाजा खान कहिलेकाहीँ आइपिएल खेल्ने भारतका सिनियर क्रिकेटरहरू पनि आउँथे। मान उनीहरूलाई देखेर मख्ख पर्थे र म पनि यस्तै क्रिकेटर बन्छु भन्ने कल्पना गर्थे।
उनले भने, 'आइपिएल खेलेका दाइहरूलाई होटलमा देख्दा मलाई क्रिकेट खेल्न गइहालूँ, उनीहरूजस्तै क्रिकेटर बनूँ जस्तो लाग्थ्यो।'
उनले नेपालको 'नम्बर वान' क्रिकेटर बन्ने सपना देखेका छन्।
होटलमा काम गर्दै क्रिकेट सिक्दै गर्दा बैंगलुरूमा 'जेपी कप' क्रिकेट भयो। उनले त्यो प्रतियोगितामा खेल्ने अवसर पाए। उनी ओपनर बलरका रूपमा टिममा समावेश भए।
खेल्न त खेले तर राम्रो प्रदर्शन गर्न सकेनन्।
'पहिलो पटक हुनाले मेरो प्रदर्शन राम्रो भएन। भाषा नबुझेर पनि समस्या भयो,' उनले भने, 'त्यहाँ हिन्दी बोल्दैन थिए। अंग्रेजी र कन्नड बुझ्न नसक्दा मेरो खेल राम्रो भएन।'
मानले प्रशिक्षण केन्द्रमा एक वर्ष क्रिकेट अभ्यास गरे। खेलका नियम सिके। उनी प्रतियोगिता खेल्ने मौकाको पर्खाइमा थिए।
चार महिनाअघि आमाले फोन गरेर घर बोलाइन्। आमाको कुरा मानेर उनी घर आए। घर फर्केपछि पनि मानले क्रिकेट अभ्यास गर्न छोडेनन्। आमा र मामाको सहयोगमा उनी धनगढीस्थित क्रिकेट एकेडेमीमा भर्ना भए।
एकेडेमीमा अभ्यास गरेको एक महिनापछि उनले धनगढीमा आयोजना भएको राष्ट्रियस्तरको 'लिटिल फ्लावर प्रिमियर लिग' खेल्ने अवसर पाए। उनी धनगढी क्रिकेट एकेडेमीको टिममा परे।
उनले उक्त प्रतियोगिताका तीन वटा खेल खेले। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा उनको प्रदर्शन सन्तोषजनक रह्यो। खेल सकिएपछि गाउँ गए। उनी परशुराम नगरपालिकाले आयोजना गरेको मेयर/उपमेयर कप प्रतियोगिता खेल्न गएका थिए।
खेलमा उनको टिम विजयी भयो। सबैभन्दा बढी रन बनाउने र बढी विकेट लिने खेलाडी भएर उत्कृष्ट घोषित भए।
धनगढीमा राष्ट्रियस्तरको खेलमा र परशुराममा नगरस्तरीय खेलमा राम्रो प्रदर्शन गरेपछि उनले आफन्तहरूबाट हौसला पाएका छन्।
उनले भने, 'आमासँग त पैसा छैन तर मामाले सहयोग गर्नुहुन्छ। मामाले खेल्न नछाड्नू भन्नुभएको छ।'
मेयर/उपमेयर कप खेलेपछि मान परशुराम नगरपालिकाको आधिकारिक क्रिकेट टिममा परेका छन्। उनले नगरपालिकाले व्यवस्था गरेको प्रशिक्षण स्थलमा अभ्यास गर्न पनि पाएका छन्।
गत फागुनमा उनले सुदूरपश्चिमको स्थानीय तहस्तरको क्रिकेट प्रतियोगिता 'कैलाली प्रिमियर लिग' मा परशुराम नगरपालिकाको टिमबाट खेल्न पाए। धनगढीको फाप्लामा भएको खेलमा उनको टिम उपविजेता बन्यो। टिममा उनको व्यक्तिगत प्रदर्शन राम्रो भयो।
मान फेरि भारत जाने विचारमा छन्। गरिबीकै कारण उनले फेरि भारत जाने सोचेका हुन्। उनले क्रिकेट खेल्न चाहिने पैसा कमाउनु छ। उनका भाइ यसपालि एसइईमा सहभागी भएका छन्। भाइलाई पढाउनु छ।
'हामीसँग पैसा छैन। मामाले दिएर मात्र पुग्दैन। फेरि एक पटक इन्डिया (भारत) जान्छु,' मान भन्छन्, 'आमा त क्रिकेट नखेल् पनि भन्छिन्। उनलाई गरिबले खेल्न सक्दैन भन्ने लागेको छ तर मैले त क्रिकेटलाई नै जिन्दगी सोचेको छु।'
मान अहिले गाउँमै छन्। बिहान नगरपालिकाको टिमबाट क्रिकेट खेल्छन्। दिउँसो घरको काम गर्छन्। उनले बैंगलुरूबाट आउँदा केही पैसा ल्याएका थिए। अहिलेसम्म त्यही पैसा चलाउँदै छन्।
उनी बैंगलुरूको जेपीनगर जाने तयारी गर्दै छन्। त्यहीँ काम गर्दै क्रिकेट सिक्ने र खेल्ने अवसर खोज्ने उनको विचार छ।
'मेरा लागि थप पढाइभन्दा क्रिकेट महत्वपूर्ण हो। राष्ट्रिय टिमबाट खेल्ने सपना छ,' उनी भन्छन्, 'बैंगलुरूमा अभ्यास गर्ने ठाउँ राम्रो छ। त्यहाँको प्रशिक्षण पनि कडा हुन्छ। म चाँडै राम्रो खेल्न सक्ने हुन्छु।'
उनी केही दिनअघि राष्ट्रिय टिमको छनौट खेलमा पनि सहभागी भएका थिए तर छानिएनन्।
आउने वैशाखमा यू–१६ र यू–१९ टिमका लागि खेलाडी छनोट गर्न खेल हुने भएको छ। छनोट खेलमा पहिला जिल्लास्तरीय प्रतियोगिता हुन्छ। जिल्लाबाट छनोट भएको खेलाडी प्रदेशको टिम पुग्छ। प्रदेशबाट राष्ट्रिय टिमका लागि छनोट हुन्छ।
उनी बैंगलुरू जानुअघि उक्त छनोट खेलमा सहभागी हुनेछन्। राष्ट्रिय टिममा पुग्न सके भने उता जाने छैनन्।
राष्ट्रिय टिममा परेनन् भने काम गर्न बैंगलुरू नगइ हुने छैन। उनको काँधमा बहिनी र भाइलाई पढाउने जिम्मेवारी जो छ।