ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि नेपाल र कतारबीचको खेल सुरू हुनेछ।
नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरिसकेको छ।
शुक्रबार नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
१० टिम सहभागी प्रतियोगिताको नेपाल साविक विजेता हो।
नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।
कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
नेपालले तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।
प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।