ओमानमा जारी एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर नेपाली टिमका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
कतारविरूद्धको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ।
आजको खेलमा करण केसीलाई बेञ्चमा राखिएको छ भने उनको स्थानमा विवेक यादवलाई ल्याइएको छ।
नेपालको प्लेइङ इलाभेनमा कप्तान रोहित पौडेल, आशिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, अभिनाश बोहरा, गुल्सन झा, सन्दीप जोरा, सोमपाल कामी, कुशल मल्ल, ललित राजवंशी र विवेक यादव छन्।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह 'ए' मा छ।
नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।
कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
नेपालले तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।
प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।