आइपिएल इतिहासकै सर्वाधिक रन बनाएको खेलमा सनराइजर्स हैदरावाद २५ रनले विजयी भएको छ।
सोमबार राति रोयल च्यालेन्जर्स बैंगलुरूविरूद्ध २८७ रन जोडेको हैदरावाद २५ रनले विजयी भएको हो।
२८८ रनको फराकिलो लक्ष्य पाएको बैंगलुरूले विस्फोटक सुरूवात गरेपनि ६.२ ओभरमा विराट कोहली र कप्तान फाफ डु प्लेसिसबीचको साझेदारी तोडिँदा निरन्तरता पाउन सकेन।
६.२ ओभरमा मयंक मार्कण्ड्यबाट बोल्ड हुनुअघि कोहलीले २० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यसपछि लगत्तै ७.६ ओभरमा विल ज्याक्स, ८.६ ओभरमा रजत पाटीदार हुँदै ९.३ ओभरमा ओपनर तथा कप्तान डुप्लेसिस नै आउट भए।
हैदरावादका कप्तान प्याट कमिन्सको बलिङमा हेनरिच क्लासेनबाट क्याच आउट हुनुअघि डुप्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का प्रहार गरी ६२ रन बनाए।
त्यसपछि ९.६ ओभरमा सौरभ चौहान शून्य रनमै आउट भए।
१२ ओभरपछि दिनेश कार्थिकले विस्फोटक ब्याटिङ गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए।
१८.५ ओभरमा नटराजनको बलमा हेनरिच क्लासेनबाट क्याच आउट हुनुअघि ३५ बलमात्रै खेलेका कार्थिकले ५ चौका र ७ छक्का प्रहार गरी ८३ रन जोडेका थिए।
अन्तिम ओभरमा बैंगलुरूले ४ चौका प्रहार गरी १८ रन जोड्दा कुल २६२ रन बनाएको थियो।
बलिङतर्फ प्याट कमिन्सले २, मयंक मार्कण्ड्यले २ र नटराजनले १ विकेट लिए।
आइपिएल इतिहासकै सर्वाधिक योगफल
आजको खेलमा सनराइजर्स हैदरावादले प्रतियोगिताकै सर्वाधिक रनको रेकर्ड बनाएको छ।
दुई साताअघि आफैले बनाएको २७७ रनको रेकर्ड तोड्दै हैदरावादले बैंगलुरुमाथि ३ विकेटको क्षतिमा २८७ रन जोडेको हो।
आइपिएल इतिहासकै सर्वाधिक स्कोर बनाएको हैदरावादका लागि अस्ट्रेलियन ब्याटर ट्राभिस हेडले शतक प्रहार गरे। उनले ४१ बलमा १०२ रन बनाउने क्रममा ९ चौका र ८ छक्का प्रहार गरे।
अभिषेक शर्माले २२ बलमा ३४ रन जोड्दा हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६७ रन जोडे।
एडिन मक्रमले १७ बलमा नटआउट ३२ रन र अब्दुल समादले १० बलमा नटआउट ३७ रन जोड्दा ४ चौका र ३ छक्का प्रहार गरे।
बलिङतर्फ लोकी फर्गुशनले २ तथा रिस टोप्लीले एक विकेट लिए।
आजको खेलमा दुवै इनिङ गरी ३८ छक्का र ४३ चौका प्रहार भए।
हैदरावादले कीर्तिमानी २२ छक्का र १९ चौका प्रहार गर्यो। जवाफी ब्याटिङ गरेको बैंगलुरूले १६ छक्का र २४ चौका प्रहार गर्यो।
हैदरावादले सर्वाधिक योगफल बनाउने क्रममा आफ्नै कीर्तिमान तोडेको हो।
हैदरावादले जारी सिजनमै मुम्बई इन्डियन्सविरूद्ध २७७ रन जोडेको थियो।
त्यतिबेला त्रविस हेडले २४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन, अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रन, एडिन मक्रमले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट ४२ रन र हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ८० रन जोडेका थिए।
उक्त खेलमा मुम्बई ३१ रनले पराजित भएको थियो।
यही सिजनमा कलकत्ता नाइट राइडर्सले पनि उच्च स्कोर बनाएको थियो। उसले दिल्ली क्यापिटल्सविरूद्ध २७२ रन बनाएको थियो।
त्यतिबेला दिल्ली १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
अंकतालिकामा हैदरावाद ६ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा छ भने ७ खेल खेलेर ६ खेल हारेको बैंगलुरू पुछारमा छ।