कोलकाता नाइट राइडर्सले फराकिलो लक्ष्य दिएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थानले कोलकातालाई २ विकेटले पराजित गरेको हो।
कोलकाताले दिएको २२४ रनको लक्ष्य राजस्थानले ८ विकेटको क्षतिमा पार गर्यो।
राजस्थानका लागि ओपनर जोश बटलर शतकीय पारी खेल्दै नट आउट रहे।
उनले ६० बलमा ९ चौका र ६ छक्का प्रहार गरी १०७ रन बनाए।
त्यस्तै रियान परागले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३४ रनको योगदान गरे।
१३ बल खेलेका रोभमन पोवेलले १ चौका र ३ छक्का प्रहार गरी २६ रन जोडे भने कप्तान सन्जु सामसन १२ रन बनाएर आउट भएका थिए।
अर्का ओपनर यशश्वी जैसवालले १९ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ हर्षित राना, सुनिल नारायण र वरूण चक्रवर्थीले २/२ तथा वैभव अरोराले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २२३ रन बनाएको थियो।
त्यस क्रममा सुनिल नारायणले शतक हाने। उनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गरी १०९ रन बनाएका थिए।
त्यस्तै अंक्रिश रघुवंशीले ३०, आन्द्रे रसेलले १३, कप्तान श्रीयास ऐरले ११ र ओपनर फिल साल्टले १० रन जोडेका थिए। रिंकु सिंह ९ बलमा २० रन प्रहार गरी अविजित रहे।
बलिङतर्फ राजस्थानका अवेश खान र कुलदीप सेनले २/२ तथा ट्रेन्ट बोल्ट र युजवेन्द्र चाहलले १/१ विकेट लिए।
७ खेलमध्ये ६ खेल जितेको राजस्थान १२ अंक जोड्दै शीर्ष स्थानमा छ। एक खेल कम खेलेको कोलकाता ८ अंकसहित दोस्रो स्थानमा छ।