मधेश प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बुधबार जित हात पारेका छन्।
गणेशमान सिंह फाउन्डेनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा मधेशले लुम्बिनीलाई २७ रनले पराजित गर्यो।
मधेशका अर्निको यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले २२ बलमा ५१ रन जोडे ।
नेपाल क्रिकेट संघ (क्यान) र नागर्जुन नगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगिताको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६७ रनले हरायो । ५६ बलमा ७ चौका र ६ छक्कासहित १ सय १ रन बनाएका बागमतीका आशुतोष घिरैया ‘प्लेयर अफ द म्याच’ चुनिए।
मूलपानी माथिल्लो क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार कर्णाली प्रदेश र लुम्बिनी तथा गण्डकी र मधेशबीच खेल हुनेछ।