ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा युएईसँग खेलिरहेको नेपालले खराब ब्याटिङ गरेको छ।
खेलमा नेपालले ७ विकेट गुमाइसकेको छ। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर सस्तैमा आउट भएका छन्।
सन्दीपले ५० रन जोड्ने क्रममा ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनी १५औं ओभरमा आउट हुँदा नेपालले ६ विकेटको क्षतिमा ८० रन जोडेको थियो।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा युएईले टस जितेर फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल रोयल डक भए।
कुशल भुर्तेल इनिङ्ग्सकै पहिलो बलमा शून्यमा आउट भए। भुर्तेललाई युएईका जुनइद सिद्धिकीले विकेटकिपर सइद हैदरबाट क्याच गराए।
यस्तै अर्का ओपनर आसिफ शेख ८ रन जोडेर चौथो ओभरमा आउट भए। कप्तान रोहित पौडेल सातौं ओभरको अन्तिम बलमा १८ बल खेलेर ५ रनमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमायो।
यस्तै दशौं ओभरमा कुशल मल्ल ३ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी १४औं ओभरमा ५ रन र सोमपाल कामी १६औं ओभरमा २ रनमा आउट भए।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो।
नेपाल प्रिमियर कपको साविक विजेता हो। नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ। जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।
प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख।