चेन्नई सुपर किंग्स लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई लखनउसँग ८ विकेटले पराजित भएको हो।
चेन्नईले दिएको १७७ रनको लक्ष्य लखनउले ६ बल बाँकी छँदै २ विकेट मात्रै गुमाएर पूरा गर्यो।
त्यसक्रममा दुई ओपनरले उत्कृष्ट पारी खेले।
कप्तान तथा ओपनर केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरी ८२ रन बनाउँदा क्विन्टन डिककले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरी ५४ रनको योगदान गरे।
निकोलस पुरनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रन तथा मार्कस स्टोइनिसले ८ रन बनाएर नट आउट रहे।
बलिङतर्फ मुस्ताफिजुर रहमान र मथिशा पाथिरनाले एक/एक विकेट लिए।
लखनउको घरमा पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो।
त्यस क्रममा रविन्द्र जडेजा अर्धशत प्रहार गरी नट आउट रहे।
उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरी ५७ रन जोडेका थिए।
त्यस्तै ९ बलमात्रै खेलेका महेन्द्रसिंह धोनीले २ छक्का र ३ चौका प्रहार गरी २८ रन जोडेर नट आउट रहे।
त्यसअघि ओपनर अजिंक्य रहाणेले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाएका थिए।
रचिन रविन्द्र शून्य रनमै आउट हुँदा कप्तान रूतुराज गायकवाडले १७ रन मात्रै बनाउ सके।
शिवम दुबे, समीर रिज्वी सस्तोमै आउट हुँदा मोइन अलीले २० बल खेल्दै ३० रनको योगदान गरे। उनले लगातार तीन छक्का प्रहार गरेका थिए।
बलिङतर्फ क्रुनाल पाण्ड्याले २ तथा मोहशिन खान, यश ठाकुर, रवि बिस्नोई र मार्कस स्टोइनिसले एक/एक विकेट लिए।
७ खेलमध्ये ४ खेल जितेको चेन्नई अंक तालिकाको तेस्रो स्थानमा छ भने लखनउ पाँचौं स्थानमा छ।