वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत आइतवार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले रोमाञ्चक जित हात पारेको छ।
प्रतियोगिताको दोस्रो जित पार्ने क्रममा सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३ रनको झिनो अन्तरले पराजित गरेको हो। कोशी प्रदेशको भने यो तेस्रो खेलमा लगातार तेस्रो हार हो।
टस हारेर सुरुवातमा ब्याटिंग गर्ने निम्तो पाएको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन जोडेको थियो। सुदुरपश्चिम प्रदेशको ब्याटिंगमा ओपनर अविशेक पालले ४१ बलमा ६० रन जोडे। अविशेकको यो तेस्रो खेलमा दोस्रो अर्धशतक समेत हो।
यस्तै दिपक बोहराले ३२ तथा गजेन्द्र बोहराले २९ रन जोड्दा सुदुरपश्चिम प्रदेशले खेलमा राम्रो योग्फाल तयार गरेको थियो।
कोशीको बलिङ्गमा ज्ञानेन्द्र श्रेष्ठ र कप्तान अंकित सुवेदीले समान २/२ विकेट लिएका थिए। यस्तै सर्वन किस्कु र सौजन घिमिरेले समान १/१ विकेट हात पारेका थिए।
जवाफमा १५५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाउदा ३ रनको झिनो हार बेहोर्नु पर्यो।
कोशीका लागी शर्वन यादवले २७ बलमा अविजित ४६ रन र दिपेश कंडेलले १० बलमा अविजित २१ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन। यस्तै मिनस थापाले ३८ बलमा ३४ तथा समीर कार्कीले १४ बलमा २२ रन बनाएका थिए।
सुदुरपश्चिमको बलिङ्गमा नारायण जोशीले २ विकेट लिए। यस्तै नरेन साउद र बसन्त खत्रीले समान १/१ विकेट लिए। सुदुरपश्चिमका ओपनर ब्याट्समेन अविशेक पल खेलको प्लेयर अफ दि म्याच घोषित भए।
मधेसमाथि कर्णालीको जित
दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशका बिरुद्ध सहज जित हात पारेको छ। प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा कर्णालीले मधेस प्रदेशलाई ६ विकेटले पराजित गर्यो।
टस जितेर सुरुवातमा ब्याटिंग गर्न उत्रिएको मधेस प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। लगातार अन्तरालमा विकेट गुमाएको मधेस कुनैसमय ७९-८ को अवस्थामा पुगेको थियो। तल्लो क्रममा ब्याटिंग गर्न आएका विशाल पटेलले मयन यादवसंग साझेदारी मधेसको इनिंगलाई अगाडी बढाउने प्रयास गरेका थिए। मधेसका लागी सर्वाधिक रन बनाएका मयनले ३२ बलमा ३६ रन जोडे। यस्तै विशाल पटेलले आक्रामक ब्याटिंग गर्दै १९ बलमा अविजित ३२ रन बनाए।
मधेसलाई सामान्य योगफलमा रोक्न कर्णालीका युनिष ठकुरीले केवल १३ रन खर्चिएर २ विकेट चट्काए। यस्तै दिवन पुन र दिपेन्द्र रावतको नाममा समान १/१ विकेट रह्यो।
जवाफमा १२१ रनको लक्ष्य कर्णाली प्रदेशले १५.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। कर्णालीलाई सहज जित दिलाउने क्रममा ब्याटिंग तर्फ विपिन रावलले सर्वाधिक ४१ रनको योगदान गरे। यस्तै हिमांशु शाहीले समेत अविजित ३२ रन बनाए।