एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि युएईले जितेको छ।
आइतबार भएको उपाधि भिडन्तमा घरेलु टिम ओमानलाई ५५ रनले पराजित गर्दै युएई च्याम्पियन बनेको हो। उपाधिसँगै युएई एसिया कप २०२५ का लागि छनोट हुन सफल भएको छ।
आइतबार युएइले दिएको २०५ रनको लक्ष्य पछाएको ओमानले ९ विकेटको क्षतिमा १४९ रनमात्र जोड्न सक्यो। ओमानका लागि प्रतिक अथाभसरेले सबैभन्दा बढी ४९ रन जोडे।
बलिङमा युएईका जुनेद सिद्दिकीले तीन विकेट लिन सफल भए।
त्यसअघि युएईका कप्तान तथा ओपनर मोहमद वासीमले शतक प्रहार गरे।
ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईका लागि कप्तान वासीमले आक्रामक सुरूवात दिलाएका थिए। उनले ५५ बलमा शतक पूरा गर्ने क्रममा ६ चौका र ७ छक्का प्रहार गरे। उनको शतकप्रेरित युएईले ४ विकेटको क्षतिमा २०४ रन जोड्यो।
अर्का ओपनर अलिशान शराफुले २८ बलमा ३४ रन र विष्णु सुकुमरनले १८ रन जोडे भने आसिफ खानले नटआउट ३८ रन जोडे।
बलिङमा ओमानका बिलाल खानले २ विकेट लिए।
अघिल्लो संस्करणको विजेता नेपाल भने सेमिफाइनलमा रोकिएको थियो। सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल एसिया कपमा छनोट अफल भएको थियो।
यस्तै तेस्रो स्थानका लागि भएको खेलमा पनि हङकङसँग पनि हारेपछि नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कप पनि गुमाएको थियो।