वीर गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बागमती प्रदेशले जित हात पारेको छ।
प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
टस जितेर सुरुवातमा बलिङ गर्ने निर्णय लिएको बागमतीले गौतम केशीको ५ विकेटको सहयोगमा कर्णालीलाई १९.४ ओभरमा १२० रनमा समेटेको थियो। कर्णालीका लागी विपिन शाहीले ५१ रन बनाएपनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टोलि झिनो योगफलमा नै रोकिएको थियो।
बागमतीका लागी गौतम केशीले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए। यस्तै सोनु देवकोटा र रिजन ढकालको नाममा समान २/२ विकेट रह्यो।
जवाफमा १२१ रनको सहज लक्ष्य बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पार्यो। बागमतीको चेजमा कप्तान रित गौतमले सर्वाधिक ३३ रन तथा शुभ कंसाकार र इशान पाण्डेले समान २८/२८ रन बनाए।
शीर्ष स्थानमा बागमतीले ५ खेलबाट ८ अंक जोडेको छ। कर्णाली ६ अंकसहित चौथो स्थानमा छ।
यता आजको दोस्रो खेलमा मधेसले कोशी प्रदेशलाई २ विकेट पराजित गरेको छ। जितसँगै ६ अंक जोडेको मधेस तेस्रो स्थानमा उक्लिएको छ। कोशी भने लगातार चौथो खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा छ।