रोयल च्यालेनञ्जर्स बैंगलुरूले लगातार सात हारपछि पहिलो पटक जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति सनराइजर्स हैदरावादलाई पराजित गर्दै बैंगलुरूले लगातारको हारको शृंखला तोडेको हो।
घरेलु मैदानमा बैंगलुरूले गएराति सनराइजर्स हैदरावादमाथि ३५ रनको जित निकाल्यो।
२०७ रनको लक्ष्य पाएको खेलमा हैदरावादले ८ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो।
त्यस क्रममा शहबाज अहमदले नट आउट ४० रन बनाए। ३७ बलमा उनले १ चौका र १ छक्का मात्रै प्रहार गरे।
त्यस्तै कप्तान प्याट कमिन्सले र ओपनर अभिशेक शर्माले ३१/३१ रन बनाए।
अन्य ब्याटर सस्तोमै आउट भए।
ट्राभिस हेड १ रनमा, ऐडन मक्रम ७ रनमा, हेनरिच क्लासेन ७ रनमा, नितिश कुमार रेड्डी १३ रनमा, अब्दुल शामद १३ रनमा, भूवनेश्वर कुमार १३ रनमा आउट हुँदा जयदेव उनाडकटले नट आउट ८ रन जोडे।
बलिङतर्फ बैंगलुरूका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरून ग्रीनले २/२ विकेट लिए भने विल ज्याक्स र यश दयालले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको बैंगलुरूले ७ विकेट गुमाएर २०६ रनको योगफल तयार पारेको थियो।
त्यस क्रममा ओपनर विराट कोहली र रजत पाटीदारले अर्धशतक प्रहार गरे।
कोहलीले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरी ५१ रन बनाउँदा पाटीदारले २० बलमा २ चौका र ५ छक्काको विस्फोटक ब्याटिङ गर्दै ५० रन पूरा गरेका थिए।
त्यस्तै कप्तान फाफ डु प्लेसिसले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २५ रन जोडे।
महिपाल लोम्रोर ७ रन, दिनेश कार्थिक ११ रन र स्वप्निल सिंह १२ रन बनाएर आउट हुँदा क्यामरून ग्रीन ३७ रन बनाए रनट आउट रहे। ग्रीनले २० बलमा ५ चौका प्रहार गरे।
बलिङतर्फ हैदरावादका जयदेव उनाडकटले ३ विकेट, नटराजनले २ तथा प्याट कमिन्स र मयंक मार्कण्ड्यले एक/एक विकेट लिए।
बैंगलुरू आइपिएलको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको थियो। दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग ८ रनले पराजित भएयताका सबै खेलमा बैंगलुरू पराजित भएको थियो।
गएरातिको खेलमा जित हासिल गरेको बैंगलुरू अंक तालिकाको पुछारमा छ।
पराजित भएको हैदरावाद तेस्रो स्थानमा छ।