वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपको उपाधिका लागि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।
अंक तालिको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुने प्रावधानअनुसार लुम्बिनी ६ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। कर्णालीले पनि ८ अंक जोड्दै रनरेटमा पछि पर्दै दोस्रो भयो।
यता तेस्रो स्थानको बागमती र चौथो स्थानको मधेसले पनि ८-८ अंक जोडेका थिए। तर रनरेटमा भने दुवै टिम पछि पारे।
शुक्रबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित हुँदा बागमती फाइनल पुग्न असफल भयो। अन्तिम खेलमा बागमती ७० रनमै अलआउट भएको थियो। जुन लक्ष्य सुदुरले १०.२ ओभरमै पूरा गर्दा कर्णालीलाई फाइदा पुग्यो।
यसअघि बिहीबार कर्णालीले कोशीलाई ९३ रनमा अलआउट गर्दै ६.३ ओभरमै लक्ष्य पूरा गर्दै फाइनल सम्भावना जीविति बनाएको थियो।
अन्तिम खेलमा बागमती ठूलो अन्तरले पराजित हुनु पर्ने समिकरण पूरा हुँदा कर्णाली फाइनल पुग्यो। फाइनल आइतबार मुलपानी मैदानमा हुनेछ।