आइसिसी टी-२० विश्वकप २०२४ को तयारी स्वरूप नेपालले शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजको ‘ए’ टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ।
सिरिजअघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरूद्ध खेल्नु नेपालका लागि अवसर भएको बताए।
उनले ओमानमा सम्पन्न एसिसी प्रिमियर कपमा सोचे जस्तो नजिता नआएको बताउँदै वेस्ट इन्डिजविरूद्धको सिरिजबारे भने,’हामीले टी-२० विश्वकपअघि उत्कृष्ट मध्येको एक टिमसँग खेल्दैछौं।’
नेपालका प्रशिक्षक मोन्टी देसाइले वेस्ट इन्डिज नेपालमा आउनु खुसीको कुरा भएको बताए। उनले आफूले यसअघि तीन वर्ष वेस्ट इन्डिजमा काम गरेको बताउँदै वेस्ट इन्डिज टिम नेपाल आएकोमा धन्यवाद दिए। यस्तै उनले वेस्ट इन्डिजविरुद्धको खेलमा सबै खेलाडीलाई अवसर भएको पनि बताए।
यस्तै वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले नेपालको पहिलो बसाइको अनुभव राम्रो भएको सुनाए। साथै नेपालसँगको सिरिजलाई ए टिमका खेलाडीलाई विश्वकपअघि अवसर भएको बताए।
पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यसअघि घोषणा गरिएको १६ सदस्यीय टिममा चार खेलाडी थप जानकारी दिए। उनका अनुसार लोकेश बम, सागर ढकाल, विनोद भण्डारी र कमलसिंह ऐरी टिममा थपिएका छन्।
सिरिजका खेलहरु वैशाख १५, वैशाख १६, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।
कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी-२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिक एथानाजले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी-२० टिममा भने डेब्यू गरेका छैनन्।
कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी-२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिकले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी-२० टिममा भने डेब्यू गरेका छैनन्।
ओपनर आन्द्रे फ्लेचर पनि नेपाल आएका छन्। उनले वेस्ट इन्डिजको सिनियर टिमबाट २५ एकदिवसीय र ५४ टी-२० खेलेका छन्।
अनुभवी ब्याटर जोनसन चार्ल्स पनि वेस्ट इन्डिजको ए टिममा छन्। उनले सिनियर टिमबाट ५८ एकदिवसीय र ४८ टी-२० खेलेका छन्। चार्ल्स वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टिममा थिए।
अर्का अलराउन्डर किमो पल पनि टिममा छन्। उनले वेस्ट इन्डिजको सिनियर टिमका लागि ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलिसकेका छन्।
गुडाकेश मोती, फेबियन एलेन, केसी कार्टी, मार्क देयल, ओबेद म्याककोए, ओशान थोमस र हेडेन वाल्शले पनि वेस्ट इन्डिजको सिनियर टिमबाट डेब्यू गरिसकेका छन्। नेपाल आउन लागेका कादिम एलीन, जोशुआ बिशप र मार्क देयलले मात्र सिनियर टिममा डेब्यू गर्न बाँकी छ।
वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गर्न लागेको हो। भ्रमणलाई वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपअघिको तयारीको रुपमा लिएको छ। किनभने सिरिजबाट राष्ट्रिय टिम पार्न सक्ने खेलाडीको पहिचान गर्न सकिने वेस्ट इन्डिजको भनाइ छ।
नेपालले पनि वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी-२० विश्वकप तयारीको रुपमा लिएको छ। नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ। विश्वकपमा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द र आरिफ शेख। थप गरिएका खेलाडी - कमल सिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल।
वेस्ट इन्डिज टिम
रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श।