नेपालविरूद्धको तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ का ओपनिङ ब्याटर जोनसन चार्ल्सले शतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि चार्ल्सले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै शतक प्रहार गरे। उनले १७ ओभरमा शतक पूरा गर्दा वेस्ट इन्डिजले २ विकेटको क्षतिमा १८२ रन जोडेको अवस्था थियो।
चार्ल्ससँग १४५ रनको साझेदारी गरेका आन्द्रे फ्लेचर ५३ रन जोडेर आउट भए। ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका फ्लेचरलाई १६औं ओभरमा सागर ढकालले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। त्यसअघि वेस्ट इन्डिजले १० ओभरमै १ विकेटको क्षतिमा १०९ रन जोडेको थियो।
वेस्ट इन्डिजका ओपनर एलिक एथानाज भने चौथो ओभरको पहिलो बलमा रनआउट भए। उनी १७ रन बनाएर खेलिरहदा अनिल साहको थ्रोमा बलर कमलसिंह ऐरीले रनआउट गरे। ननस्ट्राइकमा रहेका उनी चार्ल्सले रनका लागि कुनै संकेत नदिँदा रनआउट भएका थिए।
पाँच खेलको सिरिज १-१ को बराबरीमा छ। पहिलो खेलमा नेपाल र दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएका थिए। नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजसँग सिरिज खेलेको हो। शनिबार सिरिज सकिएपछि नेपाल तयारीका लागि वेस्ट इन्डिज जानेछ।