चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले सहज जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई घरेलु मैदानमा पञ्जाबसँग ७ विकेटले पराजित भएको हो।
चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टाएको थियो।
पञ्जाबका लागि शशांक सिंह २५ रन र कप्तान साम करण २६ रन बनाएर नट आउट रहे।
शशांकले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे भने कप्तान साम करणले २० बलमा ३ चौका प्रहार गरे।
त्यसअघि रिली रोसोले २३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे।
ओपनर जोनी बइर्स्टोले ३० बलमा ७ चौका र १ छक्का प्रहार गरी ४६ रनको योगदान गरे।
अर्का ओपनर प्रबसिमरन सिंह १० बल खेलेर १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाएर आउट भएका थिए।
बलिङमा चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लेशन र शिबम दुबेले १/१ विकेट लिए।
घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो।
त्यसक्रममा कप्तान रूतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए। उनले ४८ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै ओपनर अजिन्क्य रहानेले २४ बलमा ५ चौका प्रहार गरी २९ रन जोडेका थिए।
समीर रिज्वीले २१, मोइन अलीले १५, रवीन्द्र जडेजा २ र शिबम् दुबे शून्य रनमा आउट भएका थिए।
आइपिएलको जारी सिजनमा महेन्द्रसिंह धोनी पहिलो पटक आउट भए। उनी खेलको अन्तिम बलमा रन आउट हुन पुगेका थिए।
बलिङमा पञ्जाबका हरप्रित ब्रार र राहुल चाहरले २/२ विकेट लिँदा कगिशो रबाडा र अर्शदीप सिंहले १/१ विकेट लिए।
चेन्नई १० खेलबाट १० अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। पञ्जाब ८ अंक जोडेर छैटौं स्थानमा छ।