सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा हैदरावादले राजस्थानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो।
हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा सात विकेट गुमाएर २०० रनमात्रै बनाएको हो।
राजस्थानलाई जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक थियो। ब्याटिङमा रविचन्द्रन अश्विन र रोभवन पावेल थिए।
हैदरावादले अन्तिम ओभर बलिङ गर्न भूवनेश्वर कुमारलाई पठाएको थियो।
पहिलो बलमा एक रन, दोस्रो बलमा २ रन बन्दा तेस्रो बलमा पवेलले चौका प्रहार गरे। चौथो र पाँचौं बलमा २/२ रन जोड्दा अन्तिम बलमा जितका लागि राजस्थानलाई २ रन आवश्यक थियो।
तर भूवनेश्वरले एलबिडब्लु धरापमा पारी पवेललाई आउट गरेपछि राजस्थान १ रनले पराजित हुन पुगेको हो।
खेलमा पवेलले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए। रविचन्द्रन अश्विन २ रन बनाएर नटआउट रहे।
त्यसअघि ओपनर यशश्वी जैसवालले ६७ रन जोडेका थिए। उनले ४० बलमा ७ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै रियान परागले सर्वाधिक ७७ रन बनाए। ४९ बल खेलेका उनले ८ चौका र ४ छक्का हाने।
शिम्रन हेटमायरले १३ रन जोड्दा जोश बट्लर र कप्तान सन्जु शामसन शून्य रनमा आउट हुन पुगे।
बलिङतर्फ हैदरावादका भूवनेश्वर कुमारले ३ तथा कप्तान प्याट कमिन्स र नटराजनले २/२ विकेट लिए।
पहिले ब्याटिङ गरेको हैदरावादले ३ विकेट मात्रै गुमाएर २०१ रन जोडेको थियो।
त्यसक्रममा नितिश कुमार रेड्डी ७६ रन र हेनरिच क्लासेन ४२ रन बनाएर नट आउट रहे। रेड्डीले ४२ बलमा ३ चौका र ८ छक्का प्रहार गरे भने क्लासेनले १९ बलमा ३ चौका र ३ छक्का हाने।
त्यसअघि ओपनर ट्राविस हेडले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५८ रन जोडेका थिए।
अभिषेक शर्मा १२ रन र अनमोलप्रित सिंह ५ रनमा आउट हुन पुगे।
बलिङमा राजस्थानका अवेश खानले २ तथा सन्दीप शर्माले १ विकेट लिए।
जितसँगै हैदरावाद चौथो स्थानमा उक्लिएको छ भने पराजितका बाबजुद राजस्थान शीर्ष स्थानमा कायम छ।