रोयल च्यालेञ्जर्स बैंगलुरूले गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातले दिएको १४७ रनको लक्ष्य बैंगलुरूले १३.४ ओभरमै पार गरेको हो।
बैंगलुरूको जितमा कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ५४ रन बनाए। उनले २३ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
ओपनर विराट कोहलीले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरी ४२ रन जोडे।
दिनेश कार्थिक २१ र स्वप्निल सिंह १५ रन बनाएर नट आउट रहे।
बलिङतर्फ गुजरातका जोश लिटलले ४ र नुर अहमदले २ विकेट लिए।
एम चिन्नास्वामी स्टेडियम बैंगलुरूमा पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा अल आउट हुँदै १४७ रनमा समेटिएको थियो।
गुजरातका लागि शाहरूख खानले ३५ रन बनाए। उनले २१ बलमा ५ चौका र १ छक्का हाने।
त्यस्तै डेविड मिलरले २० बलमा ३ चौका र १ छक्का प्रहार गरी ३० रन जोडे।
राहुल टेवाटियाले २१ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाए।
रसिद खानले १८ र विजय शंकरले १० रनको योगदान गरे।
बलिङतर्फ मोहम्मद सिराज, विजयकुमार विशक र यश दयालले २/२ विकेट लिँदा क्यामरून ग्रीन र कर्ण शर्माले १/१ विकेट लिए।
जितसँगै बैंगलुरू तालिकाको सातौं स्थानमा उक्लिएको छ। गुजरात नवौं स्थानमा पुगेको छ।