नेपालले १० वर्षपछि पुनः आइसिसी टी-२०विश्वकप क्रिकेट खेल्दैछ। नेपालले जुन १ देखि वेस्ट इण्डिज र अमेरिकामा हुने आइसिसी टी-२० विश्वकपमा सहभागिता जनाउन लगेको हो।
नेपालले जुन ४ मा नेदरल्यान्ड्स खेल्दै विश्वकपको सुरूआत गर्नेछ। विश्वकपको माहोल र समग्र नेपाली क्रिकेटको अवस्था र रणनीति तथा आगामी कार्यक्रममा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले नेपाल क्रिकेट काउन्सिल (क्यान) का सचिव पारस खड्कासँग कुराकानी गरेको छ।
कुराकानीका क्रममा सचिव खड्काले टी-२० विश्वकपको तयारीका लागि क्यानले जति गर्न सक्थ्यो त्यो गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गरे। सचिव खड्कासँग लिइएको अन्तर्वार्ताको सम्पादित अंश :-
१० वर्षपछि नेपालले आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्दैछ, एउटा खेलाडी, पूर्वकप्तान वा नेपाली क्रिकेटको प्रशासकीय निकाय नेपाल क्रिकेट संघ (क्यान) को महत्वपूर्ण जिम्मेवारी व्यक्ति (सचिव) का रूपमा यो सहभागितालाई कसरी लिनुभएको छ?
नेपाली क्रिकेटसँग जोडिनुभएको सबै जना खुसी छौं। विश्वकप खेल्नु भनेको हाम्रा लागि ठूलो प्लेटफर्म हो। फेरि यो सफलता पाउन १० वर्ष कुर्नुपर्यो। हामी लामो समयपछि यस केही दिनमा नै विश्वकप खेल्ने भएका छन्। पूर्वक्रिकेटर र क्यानमा जिम्मेवारी व्यक्तिका रूपमा यो विश्वकप खेल्न पाउनु भनेको ठूलै उपलब्धि हो। आशा छ, टिमले पनि राम्रो प्रदर्शन गर्नेछ।
पूर्वखेलाडी, पूर्वकप्तान र अहिले क्रिकेट हाँक्ने संस्थाको महत्वपूर्ण व्यक्तिका भएर काम गर्न भयो, यी तीन ठाउँमा बसेर हेर्दा एउटै देखिन्छ कि फरक?
निश्चय पनि फरक त भइहाल्छ। खेलाडीको पहिलो प्राथमिकता भनेको खेलेर कसरी जिताउने भन्ने हुन्छ। अन द फिल्ड प्रदर्शन गर्नैपर्यो चाहे खेलाडी होस् वा कप्तान। २० वर्ष क्रिकेट खेलेर अहिले सात आठ महिना भयो क्रिकेट संघको सचिव भएर आएको छु। तीन वटैको रोल चाहिँ नेपाली क्रिकेटलाई कसरी राम्रो बनाउने भन्ने हो। अन फिल्ड जति चुनौतीहरू थियो, अफ फिल्ड पनि त्यति नै छ। अवसर पनि छ। हामी डिभिजन ५ मा थियौं, त्यसपछि फोरमा जाने, थ्रीमा जाने, वानमा जाने भन्ने थियो। पछि विश्वकपमा पनि पुग्यौं। ओडिआई स्टाटस पनि भयो। सक्दो राम्रो गर्ने प्रयासमा छौं।
फेरि हामी विश्वकप खेल्दैछौं? यस क्रममा क्यान र नेपाली टोली नै विश्वकपका लागि कस्तो किसिमको तयारी गर्यो?
क्यानले विश्वकपमा छनोट भएदेखि नै जे जति गर्न सकिन्थ्यो त्यो गरेको छ। टिमलाई जतिसक्दो व्यस्त राख्नुपर्छ भन्ने थियो। हेड कोच (मोन्टी देसाई) सँगको छलफलका क्रममा विश्वकप अगाडि ४० देखि ५० वटा टी-२० म्याच खेल्नुपर्छ भन्ने थियो। मलाई लाग्छ लगभग त्यो पूरा भयो। खेलाडीले निरन्तर फरकफरक कन्डिसनमा खेलेका छन्। यो योङ र पोटेन्सियल बोकेको टिम हो।
एक वर्ष अगाडिको नेपाली क्रिकेटलाई अन द फिल्ड हेर्ने हो भने ओडिआई स्ट्याटस बचाउनुपर्ने अवस्था थियो। १२ वडा ओडिआईमध्ये ११ वटा जित्यौं, त्यसपछि एसिया कपमा छनोट भयौं, विश्वकप खेल्दैछौं। सबै हेर्दा हामीले खेलाडीलाई जतिसक्दो राम्रो प्लेट फर्म दिन कोसिस गरेका हौं। कहिलेकाहीँ कस्तो हुन्छ भने ‘यो टिम भैदिएको भए, ऊ टिम भैदिएको भए’ भन्ने हुन्छ। ‘यहाँ पठाउनु भन्दा अर्को ठाउँ पठाएको भए हुन्थ्यो’ कि भन्ने गुनासोहरू हुन्छन्। तर क्रिकेट संघले चाहिँ आफूसँग जे साधन स्रोतहरू छ त्यहीअनुरूप काम गरेको छ।
हिजो तपाईं खेलाडी हुनुहुन्थ्यो आज क्यानको सचिव हुनुहुन्छ, खेलाडीलाई लाग्नसक्छ नि यस्तो भइदिएको भए भन्ने कुरा?
खेलाडीले त कसरी राम्रो गर्ने भनेर नै सोचिरहेको हुन्छ र प्रयास पनि भइरहेकै छ। हामीले खेल्दा पनि गुनासाहरू हुन्थे। मेरै नेतृत्वमा नेपाली क्रिकेट टिममा खेलाडीहरूका तर्फबाट यसो भएन उसो भएन भनेर बोलेका थियौं र प्रश्नहरू सोधेका थियौं।’
अहिले त्यही प्रश्नको जवाफ दिने ठाउँमा म आफै पनि छु। जतिसक्दो टिमलाई व्यवस्थित गर्ने र साधन स्रोत जुटाइदिने हो। तर प्रश्नहरू त सधैं भइहाल्छन्। प्रश्न आए परिस्थिति अनुसार उत्तर दिने हो।
तयारीको सन्दर्भमा टिमको प्रदर्शनबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट छु। किन सन्तुष्ट छु भने नेपाली क्रिकेटको इतिहास, खेलाडीको प्रयास र नेपाली क्रिकेटको संरचना हेर्ने हो भने त्यति ठूलो संरचना छैन। तर त्यो सानो संरचनाबाट छोटो समयमै आउट स्ट्याण्डिङ रिजल्ट ल्याएका छौं। त्यसमा कति भाग्यमा सीमित थिए, कहिले पानी पथ्र्यो कहिले अपोनेन्टले कसैले कसैलाई हराउनुपर्ने ठाउँमा हराइदिन्थ्यो। कहिले लास्ट विकेट पाटर्नरसिप ४०–५० रनको हुन्थ्यो। यी सबै संयोग, विभिन्न जेनेरेसनले गरेको मेहनत र नेपाली क्रिकेटलाई अघि बढाउनु पर्छ भन्ने संकल्पका कारण नेपाली क्रिकेट यहाँसम्म आएको छ।
तर नेपाली क्रिकेट योभन्दा माथि पुर्याउने विचार छ। यसमा हामीले दिने रिसोर्स र रिजल्ट बेस डिसिजन हुन्छन्। जित्यो भने अघि बढ्यो तर हार्यो भने खस्कियो भन्ने सोचबाट माथि उठ्नुपर्छ। हाम्रो आजसम्मको मापदण्ड नै यही भएको छ। त्यसैले क्रिकेटलाई क्रिकेटकै रूपमा बुझौं। स्ट्रक्चर कस्तो छ भनेर पनि बुझौं। जहाँ खेलाडीहरू उत्पादन गर्ने संयन्त्र होस्। उमेर समूहदेखि माथि आउने बाटोहरू होस् यस्तो नहुँदा पनि हामी यहाँसम्म आइपुगेका छौं। यो खुशीको कुरा हो।
विश्वकपमा टिमको कस्तो प्रदर्शन होला भन्ने अपेक्षा र अनुमान पनि हुन्छ नि?
खेलाडीले ज्यान लगाएर आफूलाई प्रस्तुत गर्छन् भन्ने अपेक्षा छ। विश्वकपमा हामीले समूहचरण चार मध्ये तीन वटा टेस्ट राष्ट्रसँग खेल्दैछौं। एउटा टेस्ट राष्ट्रलाई हराएर २ वटा म्याच जित्यौं भने दोस्रोचरण जाने सम्भावना छ। नेदरल्याण्ड्सँग एसोसिएटमा खेलिरहेका छौं र हराएको इतिहास पनि छ। तर, टी-२० फरम्याटको एउटा प्लस प्वाइन्ट के हो भने कुनैपनि टिमलाई कुनै पनि टिमले हराउन सक्छ। श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दा हामीलाई भन्दा उनीहरूलाई दबाब छ। किनभने हामीले त आफूलाई देखाउने प्लेट फर्म पाएका छौं। त्यसैले आफूले जुन ढंगको क्रिकेट खेल्दै आएको हो निर्धक्क र निडर भएर खेल्ने हो। त्यसैले ‘यू नेभर नो’ के हुन्छ। टिमले राम्रो गरोस् भनेर अपेक्षाहरू छन्। राम्रो प्रदर्शन गर्छ भनेर आशा र भरोसा पनि छ।
प्रेडिक्सनका कुरा आउँछन् र चर्चा हुन्छ?
म एउटा पूर्वखेलाडी भएको भएर पनि यो प्रश्न सोधिन्छ होला। तर म आफू खेल्दा पनि नतिजाबारे सोचेर भन्दा पनि त्यो नतिजा ल्याउन चाहिने प्रोसेसबारे बढी ध्यान दिन्थें। राष्ट्रिय टिमको खेलाडी भइसकेपछि मेहनत सबैले गर्छन्। जित्दा के सही र हार्दा के गलत गरियो भन्ने कुरा हेरिन्छ। त्यसैले म चाहीँ परिणामभन्दा प्रोसेसमा ध्यान दिनुपर्छ भन्छु। अहिले पनि मलाई के लाग्छ भने टिमलाई हामीले जेजति प्लेट फर्म र साधन स्रोत दिएका छौं। त्यसअनुसार राम्रो खेले भने खुशी हुनु स्वाभाविक हो। तर प्रदर्शन राम्रो भएन भने पनि हामी निराश हुनुहुन्न। किनभने अपेक्षा धेरै माथि भइसक्यो। तर त्यसलाई पूरा गर्न लगानी पनि त गर्नुपर्यो नि। हामी आजको दिनसम्म विभिन्न जेनेरेसनको खेलाडीहरु र प्रशिक्षकहरूले जसोतसो टारेर आइरहेका छौं।
यसको मतलव अहिले नै नतिजाको कुरा गरेर धेरै अपेक्षासहित टिमलाई दबाब नदिउँ भन्ने हो?
एकदमै यही कुरा हो। अहिले हामीले उहाँहरूलाई के नै दिएका छौं र प्रेसर दिने? अहिलेसम्म त खेलाडी र अरु स्टेक होल्डरले त योगदान नै गर्नुभएको छ। लिनेभन्दा दिने धेरै छन्। यो योङ टिम छ योङ्गेस्ट क्याप्टेनको नेतृत्वमा विश्वकप खेल्दैछौं। अपेक्षाका कारण प्रेसर हुन्छ। आज सामाजिक सञ्जाल नै खोलेर हेर्यौं भने नेपालले त विश्वकप नै जित्नुपर्छ जस्तो धारणा छ। त्यो अपेक्षालाई खेलाडीले कति मिट गर्छन् भन्ने कुरा हो। कम्तीमा पनि हामी जिम्मेवार पदाधिकारीका रूपमा हामीले बुझ्ने कुरा के हो भने नतिजा तलमाथि हुनसक्छ सम्भावना पनि छ।
किनभने खेलकुद क्षेत्र नै त्यस्तो हो। तर नतिजासँगै हाम्रो निर्णय गर्ने तरिका र प्रक्रियामा तलमाथि हुनु भएन। अहिलेको लागि टिम राम्रो छ र टिमबाट सिंगो देशको अपेक्षा पनि छ। त्यसैले अहिले हामीले पनि दिने भनेको शुभकामना नै हो।
प्रश्नः हुन त यहाँले अघि नै भन्नुभयो, टी–२० क्रिकेट हो जे पनि हुनसक्छ तर चार टिममध्ये बलियो कुन हुनसक्छ?
चार वटै म्याच महत्वपूर्ण छन् र प्रतिष्पर्धात्मक पनि हुन्छन्। हामीले २ वटा अमेरिका र २ वटा वेस्ट इण्डिजमा खेल्दैछौं। अमेरिकाको कन्डिसन अलि फरक छ। नेपालका लागि मात्रै होइन अरु धेरै जसो राष्ट्रका लागि त्यसले गर्दा त्यहाँ एडभान्टेज हुनसक्छ कि भन्ने लाग्छ। तर प्रोफेसनल प्लेयर भइसकेपछि एडप्टेसन भइहाल्छ।
धेरै जसो टिमले त बेस पनि बनाइसकेका छन्। त्यसले गर्दा चार वटै म्याच महत्वपूर्ण छ। अहिलेको लागि उनीहरूलाई भारी नबोकाउँ। टिमले विश्वकप खेल्दैछ इन्जोए गरौं र समर्थन गरौं। अलिकति क्रिटिकल एनालिसिस कम गरौं यो मेरो आग्रह पनि हो।
यो प्रेसरको कुरा होइन, कन्डिसनको कुरा, नेदरल्याण्ड्स र श्रीलंकासँग हामी अमेरिकामा खेल्दैछौं, दक्षिण अफ्रिका र बंगलादेशसँग हामी वेस्ट इण्डिजमा खेल्दैछौं फरक के हुनसक्छ?
अमेरिकामा मैले पनि २ पटक खेलेको थिएँ, त्यतिबेला सरफेस ठिकठाक नै थियो। ब्याटिङ फेभर पनि होइन, बलिङ फेभर पनि होइन। एभरेज पिच थियो। टिमले लास्ट टाइम पनि खेलिसकेको छ। तर अहिले पूर्णरूपमा नयाँ भेन्युमा हामी खेल्दैछौं। अहिले सबै ढिक्का ल्याएर बनाउने ड्रपिङ पिचहरु बनेका छन् जस्तो लाग्छ। फ्लोरिडामा त पहिले पनि एउटा सेट पिच नै छ। म आफैँ पनि २-३ हप्ता अगाडि फ्लोरिडामा जाँदा नयाँ पिचहरु पनि बनाइरहेको देखें। वेस्टइण्डिज चाहीँ हाम्रा लागि नयाँ ठाउँ नै भयो। तर पनि हामीले ३ वटा अभ्यास म्याच विश्वकपकै खेल हुने स्थान वरपर गएर खेल्यौं। एक हप्ताको क्याम्पमा त्यहाँ युज टु हुने कोसिस गर्यौँ।
हाम्रो प्राथमिकता पनि के थियो भने जाँदै नगएको ठाउँमा एकैचोटी त्यहाँ गएर अन्योल हुनुभन्दा अलिकति कन्डिसन बुझ्ने थियो। त्यसै अनुसार गर्यौ। नेपालले विश्वकप हुने ग्राउण्डमै डालासमा २ वटा वार्म अप म्याच खेल्दैछ। त्यसको फाइदा त हुन्छ नै। तयारी चाहीँ राम्रो भएको छ। कण्डिसनको कुरा त प्रोफेसन प्लेयरले जहाँ गएपनि खेलेरै देखाउने हो। सबै टिमले आफूलाई प्रमाणित गर्ने विश्वकपमा। त्यसैले कम्प्यारेटिभ क्रिकेट हुने सम्भावना छ। तर कसले कति एडप्ट गर्नसक्छ त्यसले म्याच डेमा प्रभाव पार्न सक्छ।
सन् २०१४ मा तपाईंले नेतृत्व गर्नुभयो, अहिले रोहितले गर्नुभएको छ, एउटा कप्तानका रूपमा मनोविज्ञान कस्तो हुन्छ? अहिले रोहितलाई भइरहेको होला, जुन कुरा सन् २०१४ तपाईंलाई भएको थियो?
एउटा कप्तानका रूपमा एउटा उदाहरण सेट गरौं भन्ने हुन्छ र गर्नुपर्ने पनि त्यही हो। सन् २०१४ मा हामीले विश्वकप खेल्दा नेपालका धेरैजसो मान्छेले क्रिकेट हेर्न थाले। पछिल्लो १० वर्षमा नेपालमा क्रिकेट हेर्ने मान्छेको संख्या बढेको छ। त्यो सँगसँगै क्रिकेट बुझ्नेको संख्या पनि बढ्दैछ। तर जति हेर्ने संख्या बढेको छ त्यति बुझ्ने संख्या भइसकेको छैन । नेशनल लेभलमा क्रिकेटको दर्शक धेरै राम्रो छ। त्यो एरा र अहिले हेर्दाखेरि सायद अहिले धेरै अपेक्षा छ। त्यतिबेला २० लाखले हेर्थे भने अहिले १ करोडले हेर्छन् कि भन्ने एउटा अनुमान छ। पछिल्लो १० वर्षमा सोसल मिडियाको ग्रोथ धेरै बढेको छ। एउटा प्लेयरले एउटा खेल हार्दा पर्सनल फ्यान पेज चलाएर खोज्यो भने पनि त्यहाँ गाली धेरै छ।
हामी क्रिकेटमा प्यासोनेट छौं। संसार सामु नै कीर्तिपुरको त्यो एटमोसफेयर छ त्यो हेर्न पनि कति खेलाडी आएर खेल्छन्। र डिजिटल्ली पनि हामीले देखाएको छौ संसार सामु। मैले अघि भनें नि क्रिकेट बुझ्ने ग्यापलाई कन्ट्रोल गर्नुपर्छ। किनभने क्रिकेट बुझने र हेर्ने बीचको ग्याप हटाउनुपर्छ। एउटा क्रिकेट फ्यानका रुपमा टिमले राम्रो प्रदर्शन नगर्दा दुःख सबैलाई हुन्छ। त्यो दुःख सबैभन्दा बढी ती खेलाडीलाई हुन्छ। त्यसैले हामीलाई अलिकति धैर्यता चाहिएको छ। त्यो टाईम सन् २०१४ र अहिलेको तुलना गर्ने हो भने चाहिँ अहिले अपेक्षा र दबाब धेरै छ।
प्रेसरलाई कसरी सामना गर्ने?
देशको लागि खेलिसकेपछि यसका लागि तयार हुनुपर्छ। विश्वकप खेल्दा धेरै र अरु गेम खेल्दा प्रेसर कम लिन्छु भन्ने हुँदैन। चाहे विश्वकप होस् वा अरु कुनै सामान्य खेल, तपाईंले देशको झण्डाको प्रतिनिधित्व गर्नुहुन्छ र देशको प्रतिनिधित्व गरेपछि सानो या ठूलो भन्ने हुँदैन। विश्वकप एउटा ठूलो प्लेट फर्म हो। अघि हामीले चुनौति र अवसरको कुरा गरे जस्तो यो एउटा अवसर हो। विश्व क्रिकेटमा नेपाल पनि आइरहेको छ भनेर देखाउने मौका हो यो। फरक भनेको अहिले व्यवस्थापनको दबाब नै हो। प्रेसर हेन्डल गर्नुपर्यो, त्यो चाहीँ गर्छन्। टिम राम्रो संरक्षित वातावरणमा ग्रुमिङ भइरहेको छ।
त्यतिबेला पनि प्रेसर थियो तर अहिले बढी नै छ। त्यतिबेला नेपालको तीन वटा म्याच भनेको विश्व क्रिकेटलाई नेपालको परिचय गराउनु जस्तै थियो। त्यसले गर्दा प्रेसर त्यति बेला पनि थियो। तर कुनै पनि क्रिकेटरलाई फस्ट बल फाल्दा र फेस गर्दा प्रेस एउटै हुन्छ। हामी क्राउडमा खेल्ने बानी परेकोले वर्ल्ड स्टेजमा धेरै क्यामेरा छ मान्छे छ भनेर त्यति असर गर्दैन। व्यक्तिगत ध्यान एउटा कुरा हो तर प्रेसर चाहिँ खेलाडीले बिस्तार झेल्दै जान्छ। एउटा राम्रो क्रिकेटरलाई तपाईंले सोध्नुभयो भने उसले बाहिरको कुराले केही फरक पर्दैन भन्छ।
कन्डिसनसँग युज टु हुनु स्वाभाविक हो। तर म्याच वरिपरिको बिल्ड अपलाई ध्यान दिनुपर्छ। कहिले काहीँ चाहेर नचाहेर कतिपय कुरा कानमा छिर्छन् आँखाले हेरिन्छ पढिन्छ त्यो कुरालाई म्यानेज गर्न सिक्नुपर्छ। अहिले क्रिटिकल एनालिसिस बढी हुनछ किनकी सबैका हातमा फोन छ जे भने पनि हुन्छ त्यसको जवाफदेही कोही पनि छैन। त्यसैले कोचले जुन खालको रोल दिएको छ हरेक प्लेयरले त्यो भुमिका निभाउनुपर्छ। त्यो कम्बाईन इफोर्ट छ भने अरु कुराले केही असर गर्दैन।
हुन त क्रिकेट टिम गेम हो, तर कहिले काहीँ कुनै दिन कसको हुनसक्छ भनिन्छ, तपाईंलाई त्यस्तो कुनै दिन म्याच टर्न गर्ने खेलाडी को को जस्तो लाग्छ?
यो टिममा धेरै म्याच विनर छन्। ओडिआई मान्यता बचाउन जुन १२ वटा म्याच थियो ११ वटा जित्दा हरेक खेलाडीले राम्रो गरे। केही खेलाडीको नाम लिनु औचित्यपूर्ण हुँदैनन्। हामी नेदरल्याण्ड्सबाहेक आफूभन्दा माथिको टिमसँग खेल्दैछौं। पेपरमा त नेपालविरुद्ध बंगलादेश, नेपालविरुद्ध श्रीलंका र नेपालबिरुद्ध दक्षिण अफ्रिका छ। तर प्रेसर उनीहरूलाई छ। हाम्रो लागि त मौका हो। विपक्षीलाई अपसेट गर्ने हाम्रो टिममा क्षमता छ। टी-२० एउटा खेलमा ३–४ जनाले राम्रो गर्यो भने पुग्छ पनि। तर अपेक्षा र यथार्थको कुरा हो। अपेक्षा आकाश छुने खालको तर यथार्थ चाहीँ हामी अन्तर्राष्ट्रिय क्रिकेटमा बामे सर्दैछौं।
केही पार्टनरसिपमा समस्या देखिएको छ र चर्चा पनि हुन्छ यसबारे पनि केही सरसल्लाह भएको छ?
टिम इज प्लेइङ गुड क्रिकेट। एउटा एशिया कपमा क्वालिफाइमा राम्रो भएन। तर एकै चोटी सबै कुरा सम्भव पनि छैन। अपेक्षा चाहीँ जितोस् भन्ने हो। पार्टनरसिप अन द फिल्ड, अफ द फिल्ड, ब्याटिङ बलिङ फिल्डिङ सबैमा चाहिन्छ। किनकी यो टिम स्पोटर्स हो। ब्याटिङ गर्दा २५० रन बनाए पनि बलिङ राम्रो नभए त्यो पनि चेज हुन्छ। बलरले राम्रो गर्यो भने १५० मा पनि जित्न सकिन्छ। कम्बाइन इफोर्ट हो।
तपाईं केही समय अगाडि अमेरिका जानुभएको थियो के छ यो विश्वकपलाई लिएर नेपाली डायस्पोरा कति उत्साही छ?
मैले धेरै नै उत्साह देखेँ। ४–५ वटा राज्यमा पनि गएको थिएँ। डालास र फ्लोरिडामा खेल हुने भएकोले टिकटको निकै धेरै माग छ। त्यसलाई पनि हामीले आइसिसीसँग म्यानेज गरेर टिकट दिने व्यवस्था मिलाएका छौं। र मैदानमा बज हुन्छ। सबै जना नेपालीहरु आएर म्याच हेर्नुपर्छ जर्सी कहाँ पाईन्छ भन्नेछ। विदाको प्याकेजहरु लिएर खेल हेर्न जाँदै हुनुहुन्छ।
कति नेपाली होलान्, अनुमान के छ?
टिकट सोल्डआउट नै भयो भन्ने छ र नेपालीले नै किनेको हुनुपर्ने जस्तो लाग्छ। मैले हेर्दा होम ग्राउण्डमै खेलेको जस्तो हुने वातावरण छ। हुन त श्रीलंका पनि ठूलो क्रिकेटिङ नेशन भएकोले फ्लोरिडामा श्रीलंकनहरु पनि होलान्। तर पनि नेपाली समर्थक धेरै हुनेछन् भन्ने अनुमान छ।
नेपाली टिमलाई तपाईंको सन्देश के छ?
मेरो शुभकामना छ। हामी सबै उत्साहित छौ, धेरै अपेक्षा छ तर यो अपेक्षा पूरा गर्न त्यति सजिलो छैन। त्यसलाई ह्याण्डल गर्नुहोला नेपालले हरेक म्याच जितोस भन्ने नै हुन्छ। टिम सेट छ। यो टिमलाई हामी सबै नेपालीको शुभकामना छ। खेलको अन्त्यमा विनिङ क्ल्याप हेर्न पाउँ, हाम्रो आशा यही छ।
तपाईं नेपाल क्रिकेट संघ क्यानको सचिव हुनुहुन्छ, तर पुरुष र महिला क्रिकेटलाई फरक ढंगले हेरेको भनेर पनि कुराहरु आए, हामी सन् २०२७ मा यु–१९ महिला विश्वकप आयोजना गर्दैछौं, पूर्वाधार र लगानीका हिसावले त्यसको तयारी के छ?
नेपाली महिला क्रिकेटलाई प्राथमकिता दिनुपर्ने र उजागर गर्नुपर्ने खाँचो छ। तर अहिले हामीलाई यो विश्वकप निकै महत्वपूर्ण थियो। त्यसकै तयारीमा थियौं। सिनियर महिला टिमको एसिया कप जुलाईमा हुँदैछ। ४०÷५० दिनमा टिमलाई एशिया कपका लागि तयार गर्दैछौं। भर्खरै मेयर्स कप र पीएम कप सक्यौं। क्याम्प हप्ता १० दिनमा सुरू हुँदैछ। एशिया कप अघि पनि हामी टिमलाई २–४ वटा देशमा पठाउँदैछौ।
एशिया कप सकिसकेपछि राष्ट्रिय प्रतियोगिता गर्छौं र १६–१७ वर्षको बहिनीहरुबाट छानेर २०२७ सम्म राम्रो टिम बनाउने प्रयास पनि हाम्रो रहनेछ। यो सबै अहिले पेपरमा छ यसलाई संस्थागत रुपले कार्यान्वयनमा लैजान्छौं। सन् २०२७ मा हुने १९ वर्ष मुनिको महिला विश्वकपको सहआयोजक हौं हामी। मन्त्रीज्युहरुसँग, सचिवज्युसँग कुरा गर्दा पूर्वाधारमा चाहीँ विशेष बजेट छुट्याएर लगानी गर्नुपर्छ भन्नेछ।
कुरा फेरि पूर्वाधारमै जोडिन्छ, प्रधानमन्त्रीले ३/३ पटक भन्दा पनि ‘फ्लड लाइट’ को कुरा अघि बढेन, त्यसैले राज्यको चासो नै छैन भन्ने पनि कुराहरु भइरहेका छन्, अब त तपाईं जवाफ दिने ठाउँमा आउनुभएको छ, के भइरहेको छ?
यो राष्ट्रिय खेलकुद परिषद्ले हेरिरहेको छ। मैले सुनेअनुसार टेण्डरको प्रक्रिया पूरा भएको छ। आशा छ फ्लड लाइट चाँडोभन्दा चाँडो लाग्नेछ। कीर्तिपुरमा संरचनाहरू पनि फेर्नुपर्नेछ। मुलपानी राष्ट्रिय गौरवकै योजनामा राखिएको छ। त्यसैले बजेट छुट्टिएला। बजेटसँगै फास्ट काम पनि हुनुपर्यो। सम्झौता भयो भन्ने सुनेको छु, आधिकारिक जानकारी छैन। सन् २०२७ विश्वकप आयोजना गर्दा भाग मात्रै लिने भन्दा पनि प्रदर्शन पनि गर्ने हो। त्यसका लागि टिम पनि चाहियो र पूर्वाधार पनि चाहियो।
गत वर्ष जिम्बावेको ‘ए’ टिम आयो, यो वर्ष आयरल्यण्न्ड ‘ए’, वेस्ट इण्डिज ‘ए’ आ, टेस्ट खेल्ने मुलुकलाई नेपालमा देख्न पाइएला?
हामीले समन्वय गरिरहेका छौं। टेस्ट राष्ट्र आउनु त्यति सजिलो छैन। वेस्टइण्डिज ए र आयरल्याण्ड ए आएपछि राम्रो पनि भयो राम्रो क्रिकेटपनि खेल्यौ। वेस्टइण्डिजको टिम पनि राम्रो थियो। टेस्ट टिम ल्याउने हो भने पूर्वाधार राम्रो बनाउनुपर्छ। र पूर्वाधार बन्छन् पनि होला भन्ने विश्वास छ। किनकी सबै सकारात्मक पनि हुनुहुन्छ। हाम्रो होमवर्क जारी छ परिणाम आएपछि घोषणा गर्नेछौं।
पहिलेदेखि नै एउटा गुनासो छ कि क्रिकेट काठमाडौंमा मात्रै केन्द्रित भयो भनेर यतातिर के सोच्नुभएको छ?
पीएम कप यो पालि हामीले बाहिर (भैरहवा) लिएर गयौं। राउण्ड रोबिन फरम्याट पनि भयो। देशभर विभिन्न खालका राष्ट्रिय प्रतियोगिताहरु पनि आयोजना भए। कति जिल्लाले गरे कति प्रदेशले गरे। मेयर कप प्रतियोगिताहरु भइरहेका छन्। विकेन्द्रिकरणका लागि सातै प्रदेशमा राम्रो ग्राउण्डहरु हुनुपर्यो।
यो बर्खामा हामीले देशभर जति पिचहरु छन्, तिनलाई मेन्टेन गनुपर्नेछ। कम्तिमा राम्रो ग्राउण्ड र संरचना भयो भने क्रिकेटको स्तर बढ्ने हो। काठमाडौंमा अलि बढी स्रोत साधन भएकोले पनि केन्द्रित भए जस्तो भएको हो। विराटनगरमा ग्राउन्ड छ, रुपन्देहीमा २ वटा अन्तर्राष्ट्रियस्तरकै ग्राउण्ड तयार भइसकेको छ। दाङको लमहीमा छ, फाप्लाको पनि कुरा भइरहेको छ, पोखरामा छ। ग्राउण्डहरु छन् त्यसलाई बेटर बनाउनुपर्नेछ।
तपाईंसँग माग आउँदो हो, गुनासो आउँदो हो, के कुरा आउँछ?
प्रतियोगितारू गर्नका लागि साधन स्रोत नै चाहियो भन्ने कुरा आउँछ। अहिले नै हामी सबै दिनसक्ने अवस्थामा छैनौं। तर, हेरेर केही कुरा दिने अवस्थामा भने पुगेका छौं। कोष अझ बलियो बनाउनु पर्नेछ। बलियो हुँदै पनि गएको छ। जोडिन चाहनेरु धेरै छन्, अलिकति खुकुलो बनाउँदै जाने हो भने धेरै प्रतियोगिता गर्नसक्ने अवस्थामा छौं। र हाम्रो उद्देश्य पनि कोष बलियो बनाएर शक्ति र स्रोत विकेन्द्रिकरण नै गर्ने हो।
खुकुलो बनाउने भन्नुभयो त्यो भनेको के?
ठूला स्पोन्सर जोड्न सकौं, धेरै प्रतियोगिताहरु गर्नसकौं र पैसा बनाएर तलसम्म लैजानसकौं भनेको। विभिन्न प्रतियोगिताहरू गर्दा हामीले पैसा कमाउन पनि सकिन्छ भन्ने भएको छ। हुन त खर्च पनि छ, स्थायी संरचना नहुँदा खर्च पनि छ। तर खर्चसँगसँगै आम्दानी पनि छ।
पहिले खेलाडी हुनुहुन्थ्यो अहिले नेतृत्वमा आउनुभएको छ, अहिले आएर हेर्दा बजेट कस्तो रहेछ जस्तो लाग्छ?
बजेट त जति धेरै दियो त्यति धेरै फाइदाको कुरा हो। तर सरकारले के का लागि दिने भन्ने हो? खेलकुद परिषद्बाट हामीलाई पीएम कप र उमेर समूहका लागि बनेर केही रकम तोकिएको छ। त्यो बाहेक जितिसकेपछि सरकारले सम्मान गर्ने हो। त्यो बाहेक लगानी पूर्वाधारमै गर्ने हो। पूर्वाधारको कुरा क्रिकेट संघ अन्तर्गत होईन, राखेपले बनाइदिने हो। पूर्वाधार बनाई दिने हो भने आफँै इन्डिपेन्डेण्ट भएर हामी क्रिकेट सञ्चालन गर्नसकौं कुरा यही हो।
पूर्वाधार लगानीमा ध्यान नदिएको जस्तो देखिन्छ, अनि ‘लगानी भएन हामीसँग खेलेका कहाँबाट कहाँ गए’ भन्ने कुरा आउँछ नि?
यो तुलना नै गलत हो भन्छु। हामी नयाँ हो, योङ हो। हाम्रो त १५–२० जना बाट ४०–५० जना बनाउँदै आएको हो। बंगलादेश, अफगानिस्तान क्रिकेटको वातावरणमा हुर्किएका थिए, ईतिहास नै फरक छ। तर त्यो कुराबाट माथि उठ्नका लागि फेरि पनि पूर्वाधार नै हो। हाम्रो स्कुल, कलेजका प्रतियोगिताहरु कस्ता हुन्छन्, जिल्ला र प्रदेशमा क्लव लेबल कस्तो हुन्छ भन्ने हो। राष्ट्रिय प्रतियोगिता कति हुन्छन् भनेर एउटा स्ट्रक्चर बनेपछि हामी रिजल्ट कस्तो आउँछ भन्ने सोचेर अघि बढ्न सक्छौं।
वार्षिक क्यालेण्डर बनाउनुभएको छ, कार्यान्वयन गर्दै जाँदा कस्तो लागिरहेको छ, ५० करोड भन्दा बढीको महत्वाकांक्षी खर्चको
योजना पनि आयो भन्ने थियो?
अहिलेसम्म त ठिकै छ। विश्वकपको तयारी पनि थियो, निश्चित बजेट राखेका थियौं, धेरैको कुरा सकिन्छ र भन्ने थियो। तर आँट्नु पनि पर्यो नि त। लक्ष्य निर्धारण गरेपनि पाउनका लागि मेहनत पनि गर्नुपर्यो। हामी ट्रयाकमै छौं, पूरा हुनुपर्ने हो।
आगामी प्रतियोगिताको तयारी के छ?
विश्वकपपछि सेप्टेम्बरमा सीडब्ल्युसी साईकल छ। नोभेम्बरमा नेपाल प्रिमियर लिग आयोजना गर्नेछौं। डिसेम्बरमा अर्को अन्तर्राष्ट्रिय सिरिज होला। जुन जुलाईमा वर्षाको समय हुने भएकोले जिल्ला प्रदेशमा विकास सम्बन्धी काम,अम्पयारिंग, क्युरेटर कोचिङ कोर्षको योजना बनाउँदै छौं। विभिन्न क्याम्प आयोजना गर्छाैं।
अन्तिममा तपाईंलाई भन्न मन लागेको केही छ?
विश्वकप हेर्दै हुनुहुन्छ, नेपाली टिमलाई हौसला दिनुस्। यो ठूलो मौका हो। विश्वलाई नेपाली क्रिकेटको ब्राण्ड, समर्थक र हाम्रो सभ्यता कस्तो छ भनेर देखाउने अवसर पनि हो। नेपाल क्रिकेटलाई माया गर्ने देश हो भनेर सन्देश दिनुपर्नेछ। हामी टक्सिक फ्यान भएर चिनिनु भएन। हाम्रो आफ्नै सभ्यता छ। हामी पाहुनालाई न्यानो सत्कार गर्ने देशका रूपमा चिनिन्छौं। जिते पनि, हारे पनि हाम्रो टिमलाई विश्वकपमा छ हौसला बढाउँ। नेपाल क्रिकेट संघ र नेपालीको तर्फबाट टिमलाई शुभकामना, हामीलाई तपाईंहरूमाथि विश्वास छ।