आइसिसी टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ।
वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा अभ्यास खेल खेलेर जेठ ७ गते अमेरिका गएको नेपाली टोलीले त्यहाँ ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेलेको थियो।
दुवै खेलमा नेपाल विजयी भएको थियो।
आजदेखि भने नेपालले टी-२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो।
टेक्ससको ग्रान्ड प्रेइरी स्टेडियममा नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे खेल सुरू हुनेछ।
क्यानडासँग खेलेपछि नेपालले बिहीबार अमेरिकासँग खेल्नेछ।
नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि लेग स्पिनर सन्दीप लामिछानेलाई पनि विश्वकप खेल्न पठाउने तयारी क्यानले गरेको छ।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको छ। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।