आइसिसी टी-२० विश्वकप २०२४ को आज राति औपचारिक उद्घाटन हुँदैछ। सह-आयोजक अमेरिका र छिमेकी क्यानडाबीच टेक्सासको ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा उद्घाटन खेल हुँदैछ।
अमेरिकामा क्रिकेटको माहोल बढाउने आइसिसीको योजनाअनुरूप पहिलो पटक अमेरिकामा विश्वकप आयोजना हुँदा सोचेजस्तो प्रतिक्रिया भने आइरहेको छैन।
तर पनि क्रिकेटका लागि मरिहत्ते गर्ने नेपाल लगायतका देशका लागि भने यो प्रतियोगिताले ठूलो अर्थ राखेको छ।
समूह ‘डी’ मा रहेको नेपालका लागि १० वर्षपछि विश्वकपमा फर्किदा धेरै अवसर छन्।
हाल टोलीमा रहेका अधिकांस खेलाडीहरू नेपालले सन् २०१४ को पहिलो पटक खेलेको विश्वकप हेरेर हुर्किएका खेलाडी छन्। दश वर्षअघिको विश्वकपले नेपालमा क्रिकेटको क्रेज बढाएको थियो।
अब भने नेपालका लागि विश्व मञ्चमा आफ्नो स्तर देखाउने बेला आएको छ।
त्यहिँअनुसार नेपालका कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाइले कम्तिमा पनि एउटा टेस्ट राष्ट्रलाई हराउने लक्ष्य रहेको बराम्बार बताइएका छन्।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका र श्रीलंका दुई शीर्ष वरीयतामा रहेका टोली हुन्। टी-२० विश्वकपको पूर्वच्याम्पियन श्रीलंका र दक्षिण अफ्रिकासहित नेपालले बंगलादेश, नेदरल्यान्ड्ससँग पनि प्रतिस्पर्धा गर्नेछ।
समूहलाई कतिपयले ‘ग्रुप अफ डेथ’ भने पनि वास्तविक अर्थमा नेपालका लागि भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड जस्ता टोली भन्दा बंगालदेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्न सजिलो हुनेछ।
नेपालले प्रत्येक टोलीलाई हराउन सक्ने क्षमता राख्ने आइसिसीले समेत विश्लेषण गरेको छ।
नेपालको युवा टोलीको कप्तानी २१ वर्षीय रोहितकुमार पौडेलले गर्दैछन्। विगत एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको नेपालले अब मैदानमा नजिता निकाल्ने पौडेलको भनाइ छ।
‘२५ दिनअघि यहाँ आएका छौं। विश्वकप नजिकिँदै गर्दा उत्साहित छौं। उत्कृष्ट क्रिकेट खेलेर हामी नेपाललाई खुसी दिनेछौं। नेपाललाई अमेरिकामा धेरै समर्थन छ। राम्रो खेलेर हामी सबैको नजर तान्नेछौं। टेस्ट मान्यताप्राप्त टोलीलाई हराएर हामी पनि सक्षम छौं भन्ने सन्देश दिनुपर्छ,’ रोहितले भने।
त्यसो त रोहितमाथि नेपाली टोलीको भरोसा पनि छ। घरेलु मैदानमा रोहितले वेस्ट इन्डिज ‘ए’ विरूद्धको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले सिरिजमा लगातार तीन खेलमा ५० रनमाथिको स्कोर गर्ने क्रममा ११२, ७१* र ८२ रन प्रहार गरेका थिए।
१९ वर्षीय प्रतिश जिसीसहित गुल्सन झाका लागि विश्व मञ्चमा आफ्नो कौशल देखाउने अवसर छ। कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल र सन्दीप जोराले नेपाली ब्याटिङलाई बलियो बनाउन कोशिस गर्नेछन्।
अमेरिका आएपछि अभ्यासको क्रममा घाइते भएका दीपेन्द्रसिंह ऐरी फिट हुनु नेपालका लागि सुखद खबर हो। पछिल्लो एक वर्षको अवधिमा दीपेन्द्रले एकै ओभरमा ६ छक्का र छिटो टी-२० अर्धशतक प्रहार गर्दै आफ्नो अद्भुत क्षमता प्रमाणित गरिसकेका छन्।
सोमपाल कामीले नेपालका लागि दोस्रो टी-२० विश्वकप खेल्दै इतिहास कोर्नेछन्। अनुभवी करण केसीसँगै स्पिनरद्वय ललित राजवंशी र सागर ढकालको प्रभावले नेपालले खेलमा नजिता उल्टाउन सक्छ। यस्तै अर्का तीव्र गतिका बलर अभिनास बोहरामाथि डेथ ओभरमा उत्कृष्ट बलिङ गर्ने चुनौती छ।
नेपालले टी-२० विश्वकपमा सामना गर्ने पहिलो प्रतिद्वन्द्वी नेदरल्यान्ड्स हो। पछिल्ला आइसिसी प्रतियोगिताहरूमा आश्चर्यजनक नतिजा हासिल गरेको नेदरल्यान्ड्सलाई पराजित गर्न नेपाललाई सहज भने पक्का हुनेछैन।
टेस्ट टोलीलाई पछि पारेर सन् २०२३ को एकदिवसीय विश्वकप खेलेको नेदरल्यान्ड्सले २०२२ को टी-२० विश्वकपमा पनि उत्कृष्ट खेलेको थियो।
२० वर्षीय माइकल लेभिटले यस वर्षको सुरुमा नेपालमा भएको सरिजमा नामिबियाविरुद्ध शतक प्रहार गरेपछि कोलिन एकरम्यानको अनुपस्थितिमा स्थान पाएका छन्।
कप्तान स्कट एडवर्ड्स, बास डे लीड, लोगान भ्यान बेक, म्याक्स ओ'डाउड, साइब्रान्ड एन्जेलब्रेच, विक्रम सिंह र वेस्ली ब्यारेसी जस्ता अनुभवी खेलाडीले नेदरल्यान्ड्सलाई बलियो बनाएको छ।
अलराउन्डर बास डे लीडले टोलीमा महत्वपूर्ण भूमिका खेल्नेछन्। गत वर्ष उनको प्रभावशाली प्रदर्शनका लागि आइसिसीले एसोसिएट क्रिकेटर अफ द इयरबाट सम्मान गरेको थियो।
नेपालका लागि श्रीलंकाको खेल पनि महत्वपूर्ण हुनेछ। फ्लोरिडामा नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्नेछ। वानिन्दु हसरंगाले श्रीलंकाको पहिलो पटक कप्तानको रुपमा विश्वकप खेल्नेछन्। कुसल मेन्डिस, पथुम निसान्का, चरित असालान्का, सदीरा समराविक्रमा र धनंजया डी सिल्भाले श्रीलंकाको ब्याटिङ युनिटलाई बलियो बनाएको छ।
एन्जेलो म्याथ्युज र डसुन शानाकाले तीव्र गतिको बलिङ अलराउन्ड तथा कप्तान हसरंगा र डुनिथ वेललागे स्पिन-बलिङ अलराउन्डर रुपमा टोलीलाई अघि बढाउनेछन्।
महेश तिक्षानाले हसरंगासँग समान रूपमा स्पिनको जिम्मेवारी बाँड्ने अपेक्षा गरिएको छ। मथीशा पाथिराना विपक्षी ब्याटरको लागि टाउको दुखाइ हुनेछन्। विशेष गरी उनले डेथ ओभरमा विपक्षीमाथि हाबी हुने योजना बनाउनेछन्।
समूहको अर्को टोली बंगलादेश विश्वकपअघि चिन्तित छ। अनुभवी ओपनर लिट्टन दास फर्ममा छैनन्। उनले पछिल्ला ६ खेलमा १३.१६ को औसतमा मात्र रन बनाएका छन्। अर्को चिन्ता उपकप्तान टस्किन अहमदको चोट हो। यद्यपी बंगलादेशको टोली अनुभवी छ। दाससँगै पूर्वकप्तानद्वय महमुदुल्लाह र शकिब अल हसन टोलीमा छन्। आफ्नो पहिलो आइसिसी प्रतियोगितामा कप्तानी गर्न लागेका नजमुल हुसेन शान्तोलाई पूर्व दुई कप्तानले आवश्यक सहयोग गर्नेछन्।
यो समूहमा दक्षिण अफ्रिका सबैभन्दा बलियो टोली हो। ब्याटिङ लाइनअपमा अनुभवी क्विन्टन डी कक, एडेन मक्रम, हेनरिक क्लासेन, डेभिड मिलर र रीजा हेन्ड्रिक्स छन्। तीव्र गतिका बलरहरू कागिसो रबाडा, एनरिच नोर्कियो, जेराल्ड कोएत्जी, मार्को जेन्सेन र ओटनियल बार्टम्यानले टोलीमा थप प्रभाव पार्नेछन्। क्लासेन यो वर्षको सुरुदेखि नै उच्च फर्ममा रहेका छन्।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।
नेपालको खेल
४ जुन: नेदरल्यान्ड्सविरुद्ध नेपाल, डालास
११ जुन: श्रीलंकाविरुद्ध नेपाल, फ्लोरिडा
१४ जुन: दक्षिण अफ्रिका वरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट
१६ जुन: बंगलादेश विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट